☰ open Loading... 19 April 2024|  

अछाम अस्पताल हेल्थ अवार्डबाट सम्मानित
  | ३१ भाद्र २०७३, शुक्रबार १८:५४

अछाम जिल्ला अस्पताल देशभरमै उत्कृष्ट अस्पतालको रुपमा छनौट भएको छ । स्वास्थ्य खवर पत्रिकाको वार्षिकोत्सवमा अछाम अस्पतालले हेल्थ अवार्ड २०७३ बाट सम्मानित भएको हो ।

पछिल्लो दुई वर्षमा आफ्नो सेवामा उल्लेख्य सुधार गरेकाले उत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरिएको पत्रिकाले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सरदचन्द्र बराललाई अवार्ड प्रदान गरिएको थियो ।

अछाम जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा क्षेत्रको लाइफटाइम एचिभमेन्ट अवार्ड ३० हजार जनाको भ्यासेक्टोमी गरेका डाक्टर टीकामान बैद्यलाई दिइएको छ । उनले आफ्नो बन्ध्याकरण आफैंले गरेका थिए ।

परिवार नियोजन (भ्यासेक्टोमी) गरी जनसंख्या नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सो अवार्ड दिइएको हो । देशभरबाट उत्कृष्ट चिकित्सको रुपमा जनकपुर आँखा अस्पतालका डाक्टर रामचन्द्र झालाई प्रदान गरीएको छ ।

उनले लामो समयसम्म सुदूरपश्चिममा रहेर काम गरेका थिए । उत्कृष्ट नर्समा तेह्रथुम हमरजुङ इलाका स्वास्थ्य चौकीमा कार्यरत सिर्जना श्रेष्ठले पाएकी छन् । पत्रिकाले देशकै उत्कृष्ट स्वास्थ्यकर्मीमा १९ वर्षदेखि हुम्लामा कार्यरत खडानन्द न्यौपानेलाई घोषणा गरेको छ ।
उत्कृष्ट अस्पतालको सम्मान ग्रहणपछि डाक्टर बरालले यस सम्मानले आफूलाई अछामको स्वास्थ्य क्षेत्रको विकासमा थप काम गर्ने उर्जा मिलेको बताएका छन् ।

पाठेघर मुखको क्यान्सर लागेका महिलाको उपचार समेत केहि दिन मै अछाममै गर्ने तयारीमा आफूहरु जुटेको उनले जानकारी दिए । यस्तै जिल्ला अस्पतालमा एम्बुलेन्सको व्वस्थाका लागि पहल शुरु भएको पनि बरारलको भनाई छ ।

गेटा आँखा अस्पतालसँग सहकार्य गरेर अछाममा हप्तामा वा महिनामा पटक अनिवार्य आँखा शिविर संचालनको तयारी पनि भएको उनले बताए ।