☰ open Loading... 29 March 2024|  

दैलेख आलुमा आत्मनिर्भर
  | १ श्रावण २०७४, आईतवार १६:५८

दैलेख । केही वर्षअघिसम्म जिल्ला बाहिरबाट आलु निर्यात गर्ने दैलेख जिल्ला अहिले आलुमा आत्मनिर्भर भई बाहिरी जिल्ला निर्यात गर्ने गरेको छ । आलु खेतीका लागि उर्वर भुमी मानिने दैलेखमा पछिल्लो वर्षहरुमा ब्यवसायीक रुपमा किसानहरु आलुमा आर्कषण हुन थालेपछि आलु उत्पादनमा वृद्धि भएको हो ।

जिल्ला कृषि विकास कार्यालयले किसानहरुको सहजताका केही पकेट क्षेत्र घोषणा गरेर आलु उत्पादनमा जोड दिएको छ । सहज बजार र आम्दानी राम्रो हुन थालेपछि आलु खेतीलाई मुख्य पेशा बनाएर ब्यवसायकै रुपमा किसानहरु लागिरहेका छन् । एउटा किसानले कम्तिमा वर्षमा ५० हजारदेखी ९ लाखसम्म आलुबाटै आम्दानी लिने गरेको जिल्ला कृषि विकास कार्यालयका योजा अधिकृत राजु भुजले बताए । मुल्य राम्रो पाएका कारण किसानहरु आलुमा आर्कषण भएको भुजले बताए ।

विशेष गरि जिल्लामा चार क्षेत्रलाई आलु उत्पादनका लागि पकेट क्षेत्रको रुपमा विकास गरि कार्यक्रमहरु सन्चालन गरिएको छ । सञ्चालनमा आएका पकेट क्षेत्रहरुमा मुख्यत जिल्लाका लहरा, सल्लेरी, छान्ना, चामुण्डा, विशल्ला आलु पकेट क्षेत्र रहेका छन् । विउ देखी खाने आलुमा दैलेख आत्मनिर्भर भएर निर्यात गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले बताए ।

त्यहाँबाट उत्पादन भएको आलुले जिल्लामा पयाप्त खपत भएर जिल्ला बाहिर समेत जाने गरेको छ । सुर्खेत, नेपालगंज हुँदै बुटवलसम्म यहाँको आलु निर्यात हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले किसानहरुको सहजताका लागि आलु भण्डार गर्न १० वटा रस्टिक स्टोरदेखी आवश्यक अन्य सेवाहरु किसानहरुमाँझ पुराउँदै आएको छ ।

रस्टिक स्टोरमा किसानहरुले विउ आलु भण्डार गर्ने गरेका छन् । रस्टिक स्टोर बनेपछि विउ भण्डारणमा सहज भएको लहराका आलु किसान रविन्द्र चन्द्रले बताए ।  पकेट क्षेत्रबाट जिल्लाभित्र ४ सय ३० मेटिक्टन र जिल्लाबाहिर ९ सय ३४ मेटिक्टन आलु उत्पादन भएर विक्रि हुने गरिएको छ ।

हिउँदे याममा आलु ७ सय ३१ हेक्टरमा ९ हजार १७ मेटिक्टन उत्पादन हुन्छ भने वर्षेयाममा ९ सय ३९ हेक्टरमा १० हजार २५ मेटिक्टन आलु उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखको तथ्याकले देखाएको छ ।