☰ open Loading... 7 September 2024|  

महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन
  | २७ असार २०७३, सोमबार ०८:३२

चार विषयका पुस्तक अभाव
त्रैमासिक परिक्षा प्रभावित

शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दा पनि जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीले पाठयपुस्तक पाउन सकेका छैनन् । आदर्श उच्च माध्यामिक विद्यायालय, लुहादह, मजकोटमा ९ कक्षामा अध्ययनरत कालिका शाहीले अहिलेसम्म किताब पाउन सकेकी छैनन् । उनले शिक्षा, अर्थशास्त्र, नेपाली, अंग्रेजीलगायतका किताब अहिलेसम्म नपाएको बताएकी छन ।

सो विद्यालयका अधिकांश विद्यार्थीले पुरै सेट किताब पाउन नसकेको शिक्षक सुरेन्द्र सिंहले बताए । पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका दशेराको थलहस्थित पुस्तक पसलमा किताब लिन जाँदा किताब नपाएपछि विद्यार्थीहरू रित्तै फर्किने गरेको शिक्षक सिंहले बताए । समयमा किताब नपाउँदा पठनपाठन बाधा पुगेको बालबागेश्वरी उच्च मावि पजारु ९ कक्षाका छात्र नरेश बुढाले बताए ।

छात्र बुढाका अनुसार उनको कक्षाका ५६ विद्यार्थीमध्ये आधा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् भने पुस्तकको अभावमा पढाइ पनि नियमित हुन सकेको छैन ।

त्यसैगरी शिवपुरी मावि, गर्खाकोटमा ९ कक्षामा अध्ययनरत छात्रा देविका शाहीले भनिन्, ‘सो विद्यालयका विद्यार्थीले पनि अहिलेसम्म पुस्तक पाएका छैनन् ।’ यसै शैक्षिक सत्रदेखि कक्षा ९ को पाठ्पुस्तक परिमार्जन भएकाले सो कक्षामा बढी समस्या देखिएको छ । पुराना किताब मिल्दैन, नयाँ किताब पाइँदैन, देविकाले भनिन् ।

विद्यार्थीले समयमा किताब नपाउँदा असारमा गर्नुपर्ने पहिलो त्रैमासिक परीक्षासमेत हुन नसकेको शिक्षक सिंहले बताए । जिल्लाका पश्चिमी भेगका पजारु, गर्खाकोट, सुवानाउली, मजकोट, कोताङ, दहलगायतका गाउँ विकास समितिहरूका विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको छ ।

विद्यालयको पुस्तक आपूर्ति गर्ने जिम्मेवारी पाएका व्यापारीहरूका अनुसार जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक नछाप्दा पुस्तक अभाव भएको हो ।

दोभान स्टेसनरी थलहका सञ्चालनक दीपक गिरीले जनक शिक्षा सामग्री केन्द्रको नेपालगन्जस्थित कार्यालयमा किताब लिन जाँदा नपाएको बताए । सुरुमै जानेले किताब पाए पनि ढिला गरी किताब लिन जाने पुस्तक पसलहरूले किताब नपाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार जिल्लाको पूर्वी भेगका स्टेसनरी पसलहरूले पहिलो चरणमै किताब खरिद गरेका कारण त्यस भेगमा समस्या नभएको र पश्चिमी भेगका पसललेले ढिला गरेको र छापिएका किताब सकिएपछि समस्या देखिएको हो । अहिले किताब छापिएको भए पनि ल्यायाउन ढिलाइ भएकाले विद्यार्थीले किताब पाउन नसकेका हुन ।

कक्षा ९ का अधिकांश विद्यार्थीले सबै विषयका पुस्तक पाउन सकेका छैनन् भने कक्षा ६ र ७ को कम्प्युटर, ८ कक्षाको नेपाली, १० कक्षाका ऐच्छिक गणित, अर्थशास्त्र र शिक्षा विषयको पुस्तक अभाव भएको जिल्ला शिक्षा कार्यालय, जाजरकोटले जनाएको छ ।

जिल्लाका करिब ६० हजार विद्यार्थीमध्ये अझै ५ प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए ।

जिल्लाका झण्डै ६० हजार विद्यार्थी मध्ये अझै पाँच प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको जिल्ला शिक्षा अधिकारी सिंहको भनाई छ । उनले किताब पु¥याउन सम्बन्धित निकायमा ताकेता गरिएकोले केही दिनमै पुग्ने दाबी गरे ।