☰ open Loading... 15 October 2024|  

लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा
  | २८ श्रावण २०७३, शुक्रबार १०:४२

काठमाडौं, २८ साउन ।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए । समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित गरेको हो ।

Janardan-sharma-Prabhakar-2

राजीनामा दिनुको कारणबारे अनलाइनखबरको जिज्ञासामा प्रभाकरले भने, ‘अब एमालेलाई छाड्दिनु पर्‍यो नि ।’

व्यवस्थापिका संसद अन्तर्गतको लेखा समिति सभापति प्रमुख प्रतिपक्ष दलले लिने प्रचलन छ । हाल एमाले प्रतिपक्षमा छ । तर, यसअघिको एमाले(माओवादी गठबन्धन सरकारमा माओवादी नेता प्रभाकरले लेखा समितिको सभापति पद छाडेका थिएनन् । अहिले प्रभाकर मन्त्री बन्ने चर्चा छ र यही बीचमा उनले राजीनामा दिएका छन् ।

प्रभाकरले अनलाइनखबरसँग भने, ‘मन्त्री बने पनि नबने पनि म लेखा समितिको सदस्य रहीरहन्छु ।’

संसदका १५ वटा विषयगत समितिमध्ये तेस्रो दल माओवादी केन्द्रले दुई समितिको सभापति पाएको थियो । दलहरुको भागबन्डाको आधारमा समिति बाँडफाट गरिने भएकाले लेखा समिति एमालेले पाए पनि माओवादीले अर्को समितिमा दाबी गर्ने पक्का छ । तर, माओवादीले लेखा समिति नछाड्ने र प्रभाकरको सट्टा अर्को सांसदलाई पठाउन पनि सक्नेछ ।