☰ open Loading... 16 April 2024|  

‘भगवानप्रति विश्वास गर्ने भएकाले तीज विशेष रुपमा मनाउँछु’
  | २९ श्रावण २०७३, शनिबार ०९:२९

साउनको महिनामा प्रायः नेपाली महिलाहरु हरियो बन्न रुचाउँछन् । हरियो चुरा, हरियै कपडा अनि हातभरी मेहेन्दी । नेपाली कलाकारहरुले साउन महिना कसरी मनाउँछन् भन्ने विषयमा नेपालपाटीले विभिन्न कलाकारहरुसँग ‘साउन सम्वाद’ गरेको छ । यसै क्रममा मोडल तथा गायिका रमिता भण्डारीसँग गरिएको सम्वाद ।

साउन कसरी मनाउँदै हुनुहुन्छ ?
गणेश भगवान र महादेव भगवानलाई एकदमै मान्छु । प्रत्येक दिन पूजा गर्छु । यसपालीको साउनमा हरियो चुरा, मेहेन्दी लगाउने काम गरिनँ । सोमबारको ब्रत पनि बसिनँ । मंगलबार चाहिँ सधैँ ब्रत बस्ने गरेको छु ।

प्रायः महिलाहरु हरियो चुरा र कपडा तथा मेहेन्दीमा सजिएका हुन्छन्, तपाईलाई रहर लागेन ?
कहिलेकाही लाग्छ । अघिल्लो वर्ष त पुरै हरियो भएको थिएँ । फोटोहरु पनि हालेकी थिएँ । यसपाली बिरामी भएका कारण पनि त्यो सम्भव भएन ।

तीज चाहिँ मनाउनुहुन्छ कि हुँदैन् ?
तीज त एकदम मनाउँछु । तीजमा रातो पहिरणमा मन्दिर जान्छु, दर्शन गर्छु, ब्रत पनि बस्छु । अहिलेसम्म हरेक वर्ष तीज मनाउँदै आएको छु । तीजका विभिन्न कार्यक्रमहरुमा निम्तो पनि आइरहेका छन् ।

महिलाहरु तीजको ब्रत किन बस्छन् ?
सुनेअनुसार बिहे नगरेकाहरुले राम्रो पतिको कामना गरेर र बिहे गरेकाहरुले पतिको दीर्घायूको कामना गरेर ब्रत बस्छन् । मनोकामना पुरा हुन्छ भनेर पनि ब्रत बस्छन् । तर म चाहिँ पहिलेदेखि नै ब्रस्त बस्दै आएकाले यसपटक पनि बस्छु । भगवानप्रति विश्वास गर्ने भएकाले तीज विशेष रुपमा मनाउँछु ।

बीचमा कलाकारिता क्षेत्रबाट हराउनुभयो, फेरि आउनुभएको छ । आगामी दिनमा तपाईको कलाकारिता कसरी अगाडि बढ्छ ?
रस लाइट मिडियाको तर्फबाट पनि कलाकारिता क्षेत्रलाई अगाडि बढाउने छु । देश तथा विदेशबाट गीत गाउन र कार्यक्रमहरुका लागि पनि अफर आइरहेका छन् । गीतसंगितको क्षेत्र नछाड्ने भनेर अझ राम्रो गर्ने प्रयासमा छु ।

गायन र अभिनय गर्न मध्ये कुन सजिलो र कुन गाह्रो ?
दुवै सजिलो पनि छ र गाह्रो पनि । तर मलाई भने गायन भन्दा अभिनय सजिलो भयो । किनकि सुरुदेखि नै अफर आयो । प्रतियोगिताहरुमा जित्दै आएँ । राम्रो हुँदै गयो । संघर्ष त धेरै गरेको हुँ । तर आफ्नो प्रयास अनुसार अगाडि बढ्न सजिलो भयो । गायनमा सानैदेखिको इच्छा भएकाले अहिले दुवै क्षेत्रलाई अगाडि बढाउँदै आएको छु ।

गायन र अभिनयका साथै समाजसेवालाई कसरी अगाडि बढाउनुहुन्छ ?
इच्छा अनुसार समय–समयमा गीत गाएकै हुन्छु । कोरियोग्राफर, इभेन्ट र अभिनयको कामलाई पनि निरन्तरता दिनेछु । अनाथ बालबालिकाहरुको सेवामा पनि म लागेको छु । सानो सहयोगले कसैको जीन्दगीमा राम्रो हुन्छ भने किन नगर्ने भन्ने हिसावले लागेको हुँ ।

अन्त्यमा ?
अहिले फेरि नयाँ गीत ‘जुनेली रात’ निकालेको छु । राम्रो गर्ने कोसिस गरेको छु । अझ राम्रो गर्ने प्रयास गर्नेछु । तपाईहरुको माया आगामी दिनमा पनि निरन्तर पाउने विश्वास छ ।

साभार नेपालपाटी