☰ open Loading... 9 September 2024|  

टनेलमै बाह्रमासे तरकारी
  | २९ श्रावण २०७३, शनिबार १०:००

परम्परागत तरकारी खेती अव आधुनिकीकरणतर्फ उन्मुख भएको छ । हिउँदे खडेरी र वर्षातले आजित बनेका कृषक पछिल्लो समय प्रविधिमैत्री तरकारी खेतीमा होमिन थालेका हुन् । आफ्नै शैलीमा तरकारी खेती गर्न बाँध्य सुर्खेतका कृषक हाल प्राविधिकहरुको सल्लाहमा मात्रै व्यवसायीक तरकारी खेती गर्न अग्रसर भएका छन् ।

tanel
इटौरा गाउँमा रहेको फर्मको स्थायी टनेलमा गरिएको तरकारी खेती ।

वीरेन्द्रनगर नगरपालिका–१८ इटौरा गाउँमा आधुनिक तरकारी खेती व्यवसाय तथा फर्म विकास सञ्चालन गरेर दुई युवाले नमुना कामको गरिरहेका छन् । न्यू स्वरोजगार कृषि फर्म उप–आयोजनाबाट व्यवसायिक तरकारी खेतीमा उनीहरु जुटेका हुन् । करिव ५० कठ्ठा जग्गा भाडामा लिएर कृषक महेन्द्रकुमार बम र धनबहादुर थापाले आधुनिक तरकारी खेतीको शुरुवात गरेका हुन् ।

टमाटर, काँक्रा, धनिया, काउली र बन्दा गोपी उत्पादन गर्ने ध्येयले गत माग ३ गतेबाट व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका छन् । इटौरामा हाल १० वटा स्थायी टनेलमा टमाटर र काँक्रा लगाइएको छ । तर १० वटा टनेल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ‘प्रति कठ्ठा वार्षिक ५ हजार भाडा तिर्नेगरी व्यवसायीक तरकारी खेतीको शुरुवात गरेको हौं ।’

कृषक तथा फर्मका सञ्चालक धनबहादुर थापाले भने,–‘पुरै जग्गामा टनेल निर्माण भएपछि बार्षिक तीन लट तरकारी उत्पादन गर्ने छौं ।’ ८ वर्षदेखी कृषि क्षेत्रमा अनुभव बटुलेका थापाले तरकारी खेतीमा पुरै आधुनिकरण सीप प्रयोग गरेका छन् ।

टनेल निर्माण सकिएपछि वार्षिक २५ लाख तरकारी खेतीबाट आम्दानी हुने अपेक्षा थापाको छ । स्थायी टनलमा ग्रीन हाउस निर्माण गरेर व्यवसायी तरकारी खेती गर्ने उदेश्य फर्मको छ ।

जिल्लाका अधिकाँश कृषकहरु बाँसको टनेलमा तरकारी उत्पादन गर्दै आएका छन् । तर इटौरामा भने स्थायी टनेल निर्माण गरिएको छ । बाँसको टनेल प्रभावकारी नहुने र लागत बढी हुने भएकाले फलामको टनेलमा तरकारी खेतीको शुरुवात गरेको सञ्चालक थापाको कथन छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहयोगमा न्यू स्वरोजगार कृषि फर्म उप–आयोजनाले तरकारी उत्पादन शुरु गरेको हो । पहिलो चरणमा टमाटर र काँक्रा उत्पादन थालिएको छ । न्यू स्वरोजगारको २४ लाख ९४ हजार ४३४ र कृषि व्यवसाय अनुदानको ३२ लाख ७२ हजार ८५० गरी कुल ५७ लाख ६७ हजार २८५ रुपैयाँ लागत छ ।

बजारको काम अनुसार तरकारी उत्पादकत्वमा वृद्धि गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य फर्मले लिएको छ । पूर्ण रुपमा स्थायी प्रकृतिका टनेल निर्माणपछि यहाँका ४० जना स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

टनेलमा स्थायी थोपा सिँचाईबाट तरकारी उत्पादन थालिएको थापाले जानकारी दिए । तर न्यू स्वरोजगार कृषि फर्मले अर्गानिक तरकारी उत्पादनमा जोड दिनेछ । ‘एकैपटक अर्गानिक तरकारी उत्पादन गर्न सम्भव छैन् ।’

थापाले थपे,–‘विस्तारै रासायनिक मल विस्थापन गरेर अर्गानिक तरकारी उत्पादन हव बनाउने हाम्रो योजना हो ।’ तरकारी खेतीका लागि परियोजनाले प्राविधिक सहयोग समेत गरेको छ ।

तरकारी उत्पादनमा नयाँ प्रविधि अपनाएको फर्मले आगामी दिनमा लाभान्वीत वर्ग बढाउने तयारीमा छ । प्रविधिको अधिकतम प्रयोगबाट उत्पादकत्व बढाउदै जाने तर्क थापाको छ । परियोजनाको समन्वयमा सामुदायिक विकास संस्था वीरेन्द्रनगरेले प्राविधिक र सामाजिक सहजकिरण गर्दै आएको छ ।