☰ open Loading... 12 April 2024|  

प्रेरणादायी ‘आमोई’
  | ३० श्रावण २०७३, आईतवार ०८:४०

‘आमोई’ अर्थात् रोमकुमारी । ९ वर्षकी हुँदा उनको विवाह भयो । १२ वर्ष पुग्दा श्रीमान्ले आत्महत्या गरे, उनी एकल भइन् । उनको जीवनले बेहोर्नुपरेको पहिलो चट्याङ थियो त्यो ।

चट्याङ यति भयंकर थियो र पनि उनले त्यतिबेला त्यसको चोट महसुसै गरिनन् । आफ्नो जीवनलाई उजाड मरुभूमि बनाइदिने चट्याङ नै त्यही रहेछ भन्ने उनले पछिमात्र चाल पाइन् । शनैःशनैः उनको जीवनमा बाढी पस्यो, भुइँचालो आयो, पहिरो खस्यो । यस्ता अनेक विपत्तिले उनलाई पछ्याइरहे ।

जे–जे प¥यो, ‘आमोई’ले सहिन् । भनिन्छ– कि पढेर सिकिन्छ, कि परेर । आमोईले परेरै सिकिन्, भोगेरै बुझिन् । आफ्नै जीवन भोगाइले उनलाई सिकायो– आत्मविश्वास, धैर्य र आत्मनिर्णय नै मानिसका खास सहारा रहेछन् ।

त्यसपछि उनले आफूलाई सम्हालिन् । एकपछि अर्को बज्रपात पर्दा पनि आत्मविश्वास गुमाइनन् । प्रत्येक चोटको सामना गरिरहिन्, धैर्य टुट्न दिइनन्, आत्मनिर्णयमा अडिग रहिन् । आफ्ना रहर र खुसीलाई तिलाञ्जली दिएरै पनि परिवारको खुसीका लागि हाजिर भइन् । भत्किनै लागेको घरलाई जग बनेर बचाइन् ।

‘आमोई’को यो जीवन भोगाइ प्रेरणात्मक छ ।

Review
आफ्ना पतिलाई पतिको रूपमा महसुस नै नगरी, पतिको अनुहारसमेत राम्ररी नदेखी, आफू कसैकी पत्नी हुनुको अनुभव नै नगरी उनी विधवा भइन् ।

अहिलेको आधुनिक र शिक्षित भनिने २१ औं शताब्दीकै समाजले पनि विधवाप्रति पूर्ण रूपमा सकारात्मक दृष्टिकोण निर्माण गर्न सकेको छैन भने आजभन्दा झन्डै ८ दशकअघिको अवस्था कस्तो थियो होला रु हो, त्यही समाजसँग पौँठेजोरी खेल्दै बाँचिन् आमोई ।

आमोईले बाँचेको जीवन निकै कारुणिक पनि छ । ठ्याक्कै आमोईकै जस्तो त नहोला तर धेरथोर यस्तै पीडा थुप्रै महिलाले भोगे । आमोईले मात्र होइन, उनकै बहिनी सान्नानी र न्याउरीको जीवन पनि कहाँ पीडामुक्त छ र रु न्याउरी पनि उत्तिकै आदर्श महिला हुन् ।

हुन त उनी एक कम्लरी हुन् । आफ्नै जीवन भोगाइले उनलाई दार्शनिक बनाएको छ । त्यसैको उपयोग यो कृतिमा लेखकले पनि गरेका छन् ।

‘आमोई’ले आफ्नो कहालीलाग्दो जीवनमा थुप्रै आँधीहुरी खपिन् । तर, यो पुस्तक आँसु र पीडाको पहाडमात्रै पनि होइन । लेखकले पक्कै आमोईको पीडामात्रै देखाउन खोजेका पनि होइनन् । सबैभन्दा महत्वपूर्ण त आमोईको साहस हो । समयका निर्मम प्रहारहरूलाई सहँदै जस्तोसुकै दुष्चक्रमा पिल्सिएर पनि जिउन सक्ने प्रेरणाकी स्रोत हुन् आमोई ।

उनको साहसको चर्चा गरिरहँदा उनले आफूलाई समाजले स्थापित गरिदिएको पुरातन घेरा र घरभित्रै कैद गरेर आफूले आफैंलाई बन्दी बनाएको कुरा पनि भुल्नु हुँदैन । कतिपय अवस्थामा विद्रोहको उभार ल्याउने संकेत दिएर पनि उनी शान्त भइदिन्छिन् । तर, यो वास्तविक कथा भएकाले यसमा लेखकमाथि प्रश्न उठाउने ठाउँ भने रहँदैन ।

पुस्तकले ७६ वर्ष लामो कालखण्डलाई समेटेको छ । एक बालविधवाको ७६ वर्ष लामो जीवन भोगाइको इतिवृत्त ‘आमोई’ पुस्तकमा समेटिएको छ । यो आत्मकथा हो, आमोईको, जसलाई भुवनहरि सिग्देलले आफ्नो भाषा र शैलीमा उतारेका छन् ।

लेखकका अनुसार यसभित्रका कुनै पनि घटना, परिघटना, पात्र र ठाउँ काल्पनिक होइनन् । यद्यपि, यो कृतिलाई उपन्यास विधामा राख्दा पनि अन्यथा हुँदैन । यसको संरचना उपन्यासको जस्तो छ । आख्यानात्मक शिल्प छ यसमा ।

लेखककै स्वीकारोक्ति के पनि छ भने ‘यो साहित्य सिर्जनाको हेतुले भन्दा पनि आमोईको पितृऋण तिर्ने प्रयास हो ।’ त्यसकारण पनि कृतिमा विस्तृतमा पारिवारिक विवरण उल्लेख गरिएको छ । यो पूर्ण उपन्यासकै कृति हुन्थ्यो भने पक्कै यति धेरै पात्रहरू उल्लेख गरिँदैनथे ।

भूमिका भएका र नभएका सबै पात्रलाई समेट्दा लेखाइ छरितो हुन सकेको छैन भने पाठकका लागि बोझिलो हुन पुगेको छ । पढ्दै गर्दा अस्वाभाविक लाग्ने अर्को कुरा के छ भने नेपाली समाजमा अहिले पनि जेठाजु–बुहारी नछोइने संस्कार कायमै छ, अपवादबाहेक ।

तर, यो पुस्तकमा आजभन्दा दशकौंअघि आमोई र उनका माइला जेठाजुबीचको व्यवहार अत्यन्तै सहज देखाइएको छ । बुहारी ‘आमोई’ले माइला जेठाजुलाई घल्ची हातमै दिन्छिन् । दोलाईं झिकेर ओढाइदिन्छिन् ।

कृतिमा कतिपय यस्ता प्रसंग र घटना पनि समेटिएका छन्, जो नितान्त पारिवारिक र व्यक्तिगत छन् । तिनले आमपाठकलाई लेखककै शब्दमा भन्दा झ्याउलो लाग्न सक्छन् । हुन त आत्मकथामा जीवनका सबै प्रसंग र घटना समेट्नैपर्छ भन्ने हुँदैन । लेखकले यही कुरालाई ख्याल गरेको भए पितृऋण तिर्ने ध्येयले लेखिएको भए पनि प्रकाशन गरेर बजारमा पठाइसकेको कृति पाठकका लागि पनि थप रुचिकर बन्ने थियो ।

पुस्तक पढ्दा यसको सम्पादन र पुनर्लेखनमा समय नखर्चिएको प्रष्ट हुन्छ ९पहिलो संस्करणमा० । आकर्षक भाषा र शैलीमा रमाउन थालिसकेका पाठकका लागि ‘आमोई’को भाषाशैलीले लोभ्याउने सामथ्र्य राख्दैन । केही व्याकरणीय तथा तिथि–मितिको जोडघटाउमा त्रुटि भेटिन्छन् ।

लेखक सिग्देल ‘आमोई’लाई अत्यन्तै श्रद्धा गर्छन् । उनीसँग सम्बन्धित दुइटा संस्मरणात्मक निबन्ध पनि लेखिसकेका छन् । यो कृतिलाई आत्मकथाभन्दा पनि केही काल्पनिकता मिसाएर आख्यान नै बनाएको भए अझ उत्कृष्ट र पाठकका लागि रुचिकर हुनसक्थ्यो ।

बालविधवाको जीवनभोगाइ समेटिएका अन्य उपन्यास प्रकाशित भइसकेकाले पनि लेखकले यो जोखिम मोल्न नचाहेका हुन सक्छन् । आत्मकथाको शैलीमा लेख्दा आमोईका भावना र संवेदनालाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्ने चुनौती लेखकसामु थियो नै, यसमा प्रस्तुत गरिएका वास्तविक पात्रको भावना र संवेदनामाथि लेखकको भावना र संवेदना हावी हुन सक्ने जोखिम पनि उत्तिकै छ ।

यद्यपि, उल्लिखित केही कमजोरीलाई छोड्ने हो भने ‘आमोई’ कृति प्रेरणात्मक जीवनगाथा हो । पुस्तक पढिरहँदा कतिपय पानामा पाठकको गला अवरुद्ध हुन्छ, आँखाको चेपबाट आँसु खस्छन्, सोचमग्न बनाउँछ । कतिपय पानामा विक्षिप्त मनलाई ऊर्जा र साहस पनि मिल्छ । समग्रमा भन्दा ‘आमोई’को जीवनको अँध्यारो र उज्यालो जस्ताको त्यस्तै भेटिन्छ यसमा ।