☰ open Loading... 18 May 2024|  

कम भएन कुपाेषण, उपचारमाभन्दा झारफुकमै व्यस्त
  | ३१ श्रावण २०७३, सोमबार ०३:२८

 पोषण पुनर्स्थापनामा कालिकोटका बढी

कालिकोट धौलागोह ३ का सिता विकको नौ महिने शीशु विरामीले थलियो । जन्मिएको शिशुमा प्रत्येक महिना शारिरीक वृद्धि हुनु पर्नेमा घट्दै गयो । सिताले गाउलेको भनाईमा लागेर शिशुको उपचारभन्दा झारफुकमै ध्यान दिईन् ।

कुपोषणले थलिएको शिशुलाई गाउँमै झारफुक गर्दा सन्चो हुन्छ भन्ने अन्धविश्वासले जन्मेको एक महिनादेखि नौ महिनासम्म उनी गाउँमै रुमलिईन् ।

‘गाउँकाले तेरो बच्चालाई मसान लाग्यो । मान्छे जलाएको ठाउँबाट हड्डीले डामेपछि सन्चो हुन्छ भने त्यो पनि गरे । तर सन्चो भएन् ।’ सिताले भनिन्,–‘झारफुक र धामी कहाँ त कति लगे लगे, बच्चाको सुधार भएन् । अन्तत गाउँकै स्वास्थ्य चौकीको सिफारिमा मान्महुँदै सुर्खेत आए ।’

k1
कालागाउँ स्थित पोषण पुनःस्थापना केन्द्रमा कुपोषित बच्चाहरुको साथमा कालिकोटका दुई महिला ।

धौलागहका स्वास्थ्यकर्मीलाई शिशुलाई मसान नलागेको भन्दै कुपोषित भएको पुष्टी गरेपछि मात्रै सिता विरामी शिशुलाई सुर्खेत लिएर आएकी हुन् । यही असार ८ गते जिल्ला अस्पताल मान्मबाट सुर्खेत रेफर हुँदा सीताका नौ महिने छोरा कुशल चार केजी एक सय ग्रामका थिए ।

सीताका परिवारलाई आफ्नै बारीको उत्पादनले वर्षभरी खान पुग्छ र घरमा दुहुनो भैंसी पनि छ । ‘मेलापात र गाउँ घरको कामले शिशुको स्याहार गर्नै पाईन् ।’ सीताले थपिन्–‘विहान ७ बजे छोडेको शिशुसंग एकैपटक साँझको साँत बजे भेट हुन्थ्यो ।’

दिनभर सासु–ससुराको जिम्मा छाडेर जंगल जानुपर्ने बाँध्यता सुनाएकी सीताले कुशललाई बाजेबज्यैले भैंसीको दूध खुवाउँनु हुन्थ्यो, आफ्नै दुध प्रयाप्त नखुवाएकाले कमजोर भएको हेक्का अहिले मात्रै भएको बताईन् । पोषण पुनस्र्थापना गृह सुर्खेतमा ल्याएपछि सीताका छोराको शारिरीक स्फूर्ती स्तरवृद्धि हुँदै गएको छ ।

यता, वीरेन्द्रनगर लाटीकोइलीकी चन्द्रा थापाका पनि दुइटै सन्तान कुपोषित भए । २०७१ फागुनमा सुत्केरी भएकी चन्द्रकलाका पहिलो सन्तान वसन्तीलाई पोषण पुनःस्थापना गृहमा राखेर सुधार गराएकी हुन् । तर उनी त्यो गर्भवती थिइन् । एक वर्षपछि ८ महिने छोरा टेकबहादुरलाई जन्म दिइन् । उनी दोस्रो पटक पनि पुनस्र्थापना गृहमै शिशुको हेरचाह गर्दै आएकी छन् ।

केन्द्रमा आउँदा आठ महिनाका उनका शिशु टेकबहादुरको तौल ६ केजी नौ सय ग्राम थियो । तर २५ दिनसम्म आइपुग्दा टेकबहादुरको तौल आठ केजी दुई सय ग्राम बढेको छ ।

यी प्रतिनीधिमुलक घटना मात्रै हुन् । क्षेत्रीय अस्पताल अन्तरगत रहेको पोषण पुनस्र्थापना गृहले विगत सात वर्षदेखि कुपोषित बालबालिकाहरुको हेरचाह गर्दै आएको छ । यहाँ आउने शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कम्तीमा ३५ दिनसम्म बालबालिकाहरुलाई गृहमा राख्ने गरिन्छ ।

कालागाउँस्थित गृहले कुपोषित बालबालिकालाई तीन÷तीन घण्टाको फरकमा लिटो, जाउलो र आलु सुप खुवाउँने गरेको छ । हाल यहाँ १२ बालबालिका छन् । तीमध्ये पाँच कालिकोट जिल्लाका छन् । कालिकोटमा पोषण पुनःस्थापना गृह छैन् । त्यसैले, यहाँ आउने हरेक तीन बच्चामा एक कालिकोटकै हुन्छन् ।’

गृहका प्रवन्धक नविना गिरीले भनिन्,–‘पोषणबारे समाजमा बुझाइ नै गलत छ । आमाको दूधदेखि बच्चाले समय–समयमा आवश्यक खानेकुरा नपाउँदा कुपोषणको खतरा बढ्छ ।’ गृहले चालु आर्थिक वर्षका हालसम्म ८९ जना शिशुलाई उपचारपश्चात घर पठाएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले अन्य जिल्लाको तुलनामा बाँकेमा कुपोषणको दर बढी भएको उल्लेख गरे । उनले जहाँ स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि हुन्छ त्यहाँ निश्चय पनि संख्यात्मक विवरण बढी देखिने बताउँछन् ।

‘उत्पीडित जाति, समुदायको बाहुल्यता छ । गरिबी पनि उस्तै छ । कुपोषणमा निम्तिनुमा जाति समुदाय विशेष सांस्कृतिक कारणको भूमिकाले पनि असर गर्छ’ डोटेल भन्छन्,–‘सडकको पहुँचले सुगमले मात्रै हुँदैन् ।

अन्य कारण पनि उत्तिकै जिम्मेवार हुन्छन् ।’ तर जनस्तरबाटै विरामी भएपछि मात्रै अस्पताल जानु पर्छभन्दा पनि नियमित चेकजाँच गर्दा कुपोषणलाई पनि अन्त्य गर्न सकिने तर्क निर्देशक डोटेलको छ ।

बालबालिकाको वद्धि अनुगमन हेर्ने मुख्य सूचक तौल हो । जन्मेदेखि दुई वर्षसम्म हरेक महिना अर्थात २४ पटक बच्चालाई तौलिनुपर्छ । तर, मध्यपश्चिममा औसतमा तीन पटक तौलिएको तथ्यांक छ ।

‘बिरामी भएपछि स्वास्थ्य संस्थामा ल्याउने चलनछ । तौलेर के हुन्छ र ? भन्ने गरिन्छ’ वाग्लेले थपे, तौल बच्चाको स्वास्थ्य जाँच्ने मुख्य सूचक हो । अभिभावकलाई यही कुरा बुझाउन सकिएको छैन् ।’

एघार प्रतिशत बालबालिका कुपोषित

यता, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) का अनुसार मध्यपश्चिममा सबैभन्दा बढी बाँकेमा कुपोषणको समस्या देखाएको छ । बाँकेका १३ प्रतिशत बालबालिका कुपोषित छन् ।

हरेक ५–५ वर्षमा गरिने नेपाल स्वास्थ्य जनसंख्यायिक सर्भेक्षणले पुड्कोपना भने घट्दै गएको देखाउँछ । मध्यपश्चिम क्षेत्रमा पाँच वर्ष मूनीका ५० प्रतिशत पुड्का, ११ प्रतिशत ख्याउटे र ३६ प्रतिशत कम तौल भएका बालबालिका छन् ।

यस क्षेत्रमा पाँच वर्ष मूनीका ४७ दशमलब ८ प्रतिशत बालबालिकामा रक्त अल्पता देखिएको क्षेत्रीय स्वाथ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्ले बाताउँछन् ।

उनका अनुसार तीमध्ये जटिल खालको रक्तअल्पता शुन्य दशमलब ९ प्रतिशतमा छ भने प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का १९ प्रतिशत महिलाहरु कुपोषित छन् । यस्तै ४८ प्रतिशत गर्भवतीमा रक्तअल्पता देखिने गरेको छ ।

शिशु जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध खुवाउनुपर्छ । तर, ७० प्रतिशत आमाले मात्र यस अवधिमा दूध चुसाउने गरेको तथ्याङ्कले समेटेको छ । ‘कुपोषित हुने यिनै ३० प्रतिशत मध्येका हुन्’ जनस्वास्थ्य अधिकृत वाग्ले भन्छन्,–‘६ महिनादेखि २ वर्षसम्मका अवधिलाई सुनौलो हजार दिन भन्ने गरिन्छ । यसै अवधिमा विविधतायुक्त चार प्रकारका खाना खुवाउनै पर्छ ।’

बर्दियामा १२, दाङ, रुकूम, मुगु, सुर्खेत र दैलेखमा १०, जुम्ला, हुम्लामा ९, डोल्पा ८, जाजरकोट ७, कालिकोट र सल्यानमा ६ र प्यूठानमा ४ प्रतिशत बालबालिका कुपोषित छन् । ‘एउटामात्र फ्याक्टरले कुपोषण हुँदैन्’ अधिकृत वाग्ले भन्छन्,–‘पोषिलो खानेकुराको उपलब्धता र आनीबानीले समेत प्रभाव पार्छ ।’

कृषि, पशु, शिक्षा क्षेत्रको पनि उत्तिकै भूमिका रहे यसको दिर्घकालिन रुपमा यसको अन्त्य गर्न सकिनको बुझाई छ । कुपोषणले उच्च जोखिममा रहेको मध्यपश्चिम क्षेत्रमा सरकारले न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार कुपोषण हटाउन सबै जिल्लामा भिटामिन ए, आइरन चक्की, जुकाको औषधि वितरण, आयोडिनयुक्त नुन खुवाउने कार्यक्रम, बालबालिकाको वृद्धि अनुगमनजस्ता कार्यक्रम सञ्चालित छन् । अतिशिघ्र कुपोषण हटाउन भेरी अञ्चल, मध्यपश्चिम क्षेत्रीय, राप्ती अञ्चल अस्पतालमा पोषण पुनस्थापना गृह सञ्चालनमा छन् ।