☰ open Loading... 5 May 2024|  

हस्तकलाका हस्ती
  | ३ भाद्र २०७३, शुक्रबार ०६:१४

लक्ष्मण खड्गी जन्म विक्रम सम्वत् २०२६ असोज १५ गते । सदरमुकाम नारायण नगरपालिका वडा नं. १ भगवतीटोल निवासी, उनको पहिचान अहिले बाँस आधुनिक हस्तकला सामग्री बनाउने मेहनती कलाकर्मीको रुपमा छ ।

घरायसी सजावट र प्रयोगका लागि उनले बनाउने कलात्मक सामग्रीका कारण यो पहिचान बनेको हो । उनी काममा लागेको त्यति धेरै समय भने भएको छैन । अहिले ४८ वर्षका लक्ष्मणले बाँसका सामग्री बनाउन थालेको जम्मा १० वर्ष भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले २०६१ सालमा सञ्चालन गरेको बाँस निकालोका सामग्री बनाउने ३ महिने आधारभूत तालिममा सहभागी भएपछि मात्र यो कामका लागि उत्सुकता जागेका उनले थप ४५ दिने विशेष तालिम पाएर व्यवसायिकतामा आउन सहज भएको हो ।

जिल्लामा भएको आधारभूत तालिमपछि २०६३ मा थप तालिमका लागि उनी उदयपुरको गाईगाट पुग्न घरेलुले सहयोग गरेको थियो ।

गाईघाटका विशेष तालिममा शिव सुवेदी र भक्त राईले सिकाएको सीप उत्प्रेरणले अहिले स्थापित हस्तकलाकर्मीसम्म पु¥याएको लक्ष्मण मुक्त कण्ठले ती प्रशिक्षकहरुको प्रशंसा गर्दछन् ।

उनले अहिले बाँसको हेंगर, ऐन फेम, बु्रस केस, फाइल ¥याग र बाँसको मुडा अति नै प्रचलित सामग्री हुन् । ग्राहकले मन पराएका र दैनिक उपभोगका बस्तुहरु पनि यिनै हुन् ।

यी सामग्री निर्माण गरेर मासिक १५–२० हजार नियमित आमदानी गरिरहेका छन्, लक्ष्मणले । बाँसकै सामग्री बनाएर सदरमुकाम जस्तो महंगो शहरमा छोरा–बुहारी पढाउन, लेखाउन, उनीहरुको लालन पालनदेखि दैनिक घरखर्च सम्पूर्ण उनको कमाईले धानिएको लक्ष्मणकी पत्नी संगीताको भनाई छ ।

hasta
उनकी पत्नी, जेठो छोरा झलक, कान्छो निर्मल समेत २ छोरा, जेठी बुहारी निर्मला र आफू समेत ५ जनाको उनको परिवार छ । अहिले छोरा बुहारीको उच्च मावि तहको पढाई चलिरहेको छ, पत्नीले घर व्यवहार धानी दिएपछि लक्ष्मण तनमन बाँसका सामग्री बनाउनमै लगाएका छन् । त्यसैले पो उनी सबैको प्रशंसाको पात्र र सफल इलमी बनेका छन् ।

उनको पौरखको कदर गर्दै जिल्ला विकास समितिको कार्यालय दैलेखले २४ औं जिल्ला परिषद्मा उत्कृष्ठ हस्तकला सामग्री उत्पादक भनेर सम्मान गरेको छ । घरेलु लगायत धेरै निकायबाट पाएका प्रशंसापत्र र सम्मानले उनलाई थप हौसला मिलेको छ ।

यही प्रशस्तीले उनलाई ठाउँठाउँ बाँसका सामग्री निर्माण सम्वन्धी तालिमको प्रशिक्षक पनि बनाएको छ । यति बेला नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमको सहयोगमा दैलेख सदरमुकाममा सञ्चालित ३ महिना तालिमका लागि घरेलु तथा साना उद्योग विकास समितिले महिनामा २० हजार तिरेर असार मसान्तसम्मका लागि प्रशिक्षकका रुपमा काम दिएको छ । उनले यस अघि पनि धेरै ठाउँमा प्रशिक्षण दिंदै अरु केहीलाई उद्यमी बनाउन सीप सिकाएका छन् ।

सफलतासंग जोडिएको दुःखको कहानी

उनी ९ वर्षको हुँदा २०३५ साल पुस ११ गते परिवारकै संरक्षक बुबा धनबहादुर देहवसान भयो । बुबाको मृत्यूपछि आफू अघिका २ दिदी, आफू मुनिको १ भाई र आमाको संरक्षकत्वको पूरा दायित्व बन्यो । जम्मा ९ वर्षको नाबालक के गर्न सक्थे रु तर पनि जिम्मेवारी आई लाग्यो । उता उनी त्यतिबेला कक्षा ३ मा पढ्दै गरेको पढाई पनि स्वतः प्रभावित भयो ।

अहिले जिल्ला विकास समिति त्यतिबेला जिल्ला पञ्चायतको घोडा सयसको जागीरे छँदै बुबाको निधनपछि नियमित आमदानी भएको परिवारलाई त्यही सुविधामा व्यवस्थापन गर्न त सक्दैनथे तर एक्कासी आईपर्दा जेनतेन चलाउनै गाह्रो भयो । उनले आमासंग सल्लाह गरेर भारतको बडोदा बस्दै गर्नुभएका मामालाई बुबाको निधनपछि गाह्रो परेको कुरा चिठ्ठी लेखी पठाए ।

चिठ्ठी खवरले मामा घरमा आए र उनलाई सानो तिनो काम लगाई दिने भनेर मामाले बडोदा लिए । त्यति सानो उमेरमा के काम पाउनु, उनले त्यहाँ दुःख पाए । कमाई हुने जस्तो काम नपाएपछि उनलाई मामाले पढ्न लगाए । जान्दै नजानेको हिन्दी भाषाको कठिनाईले पढ्न मुश्कील भयो ।

करिव २–३ वर्ष त्यतै भौतारिए, यो सबै समस्याले उनी फेरि घर फर्किए । घर फर्किएपछि विहान बेलुका यही मजदूरी गर्दै घर खर्च धान्ने र दिउँसो चाहिं विद्यालय जाँदै गरेर जेनतेन ८ कक्षा उत्तीर्ण गरे । घरमा खर्चको भार बढ्न थालेपछि पढाई छुट्यो । अरुको खेतवारीको कामदेखि दैनिक ज्यालादारीमा मजदूरीमै निर्भर भएर घर व्यवहार चलाउँदै आए ।

पढाई छोडी सकेपछि चाहिं कहिल्यै भारतका विभिन्न शहरमा त कहिल्यै चाहिं जिल्लामै शारीरिक बल प्रयोग हुने मजदूरी गर्दै यो क्रम करिव २० वर्ष भन्दा बढी समय बितिसकेको थियो । घरेलु तथा साना उद्योग विकास समितिले २०६१ सालमा सञ्चालन गरेको बाँस निकालोका सामग्री बनाउने ३ महिने आधारभूत तालिममा सहभागी भएपछि मात्र अहिलेको प्रगति र प्रशस्तीको थालनी भएको हो ।

लक्ष्मण खड्गीले बाँसका हस्तकला सामग्री बनाउदै बिक्री गरेर घर खर्च चलाउने र सन्तोषको सास फेर्न थाल्दै गर्दा समाजबाट केही अपेक्षा राखेका छन् ।

कति धेरै कला, कौसलता लगाएर बनाएका सामग्री किन्न आउनेले जाबो बाँसको चिजलाई यति महंगो रु भनेर टिप्पणी गर्नेहरुले हस्तकलाको परिश्रम नबुझी दिएको पीर छ, अनि स्थानीय उत्पादनलाई प्रयोग गर्ने बानी नबसेकोप्रति पनि उनको असन्तुष्टी छ ।

यद्यपि केही थोरैले दिएको प्रोत्साहनले उनी बाँसका सामग्री उत्पादनदेखि सिक्न चाहने सबैलाई सिकाउँदै आएका छन् ।