☰ open Loading... 29 March 2024|  

‘मृत्युमार्ग’काे दाग हटाउँदै कर्णाली राजमार्ग
  | ४ भाद्र २०७३, शनिबार ०१:०५

तीन वर्षमा अाेरालाे लाग्दै सवारी दुर्घटना

मृत्युमार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी दुर्घटनामा विस्तारै कमि आएको छ ।

कालाखाेला बस दुर्घटनामा मृत्यु भएकाकाे शव झार्दै प्रहरी । फायल तस्वीर : सुशील
कालाखाेला बस दुर्घटनामा मृत्यु भएकाकाे शव झार्दै प्रहरी । फायल तस्वीर : सुशील

सुर्खेत–जुम्ला सडक खण्ड खुले यता सयौं नागरिकले सवारी दुर्घटनामा ज्यान गुमाई सकेका छन् । दिनहुँ सवारी दुर्घटनाका खवरले सडकमार्गबाट त्रासदीमा यात्रा गर्न बाँध्य थिए । तर, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले दिएको सवारी दुर्घटनाको तथ्याङ्कमा भने कमी आएको पुष्टि गरेको छ ।

आर्थिक वर्ष ०७०।०७१ मा ९४ वटा सवारी साधन सडक दुर्घटनामा परेका थिए । यो कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको हो । ती सवारी दुर्घटनामा ४५ जनाको मृत्यु र १३९ जना घाइते भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए ।

यो मार्गमा हिड्ने अधिकाँश रात्रीकालिन सवारी साधन बढी दुर्घटनामा परेको प्रहरी अधिकारीहरु बताउँछन् । तर आर्थिक वर्ष ०७१।०७२ मा ५८ सवारी दुर्घटनामा २६ जनाको मृत्यु र ८९ जना घाईते भएको डिएसपी सिंहको भनाई छ । यस्तै गत आर्थिक वर्षमा भएका ३३ वटा सवारी दुर्घटनामा २१ जनाको मृत्यु र ३८ जना घाइते भएका छन् ।

यो तथ्याङ्क अघिल्ला वर्षहरुको तुलनामा २५ कम सवारी दुर्घटना भएका हुन् । सुर्खेतको बाँगेशीमलदेखि जुम्ला सदरमुकामको खलङ्गासम्म कुल २ सय ३८ किलोमिटर रहेको छ । व्यवसायीहरुवीचको प्रतिस्पर्धा र रात्रीकालिन सवारी सञ्चालन गर्दा सवारी दुर्घटना बढेको पुष्टि प्रहरीको छ ।

कर्णाली राजमार्गमा सवारी दुर्घटनाको मुल कारण सवारीधनीले आफूखुशी यात्रु राख्नु र साघुँरो सडक हुनुले पनि वर्षेनी ठुला सवारी दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।

अझै कतिपयले सडक र चालकको लापरबाहीले नै सवारी दुर्घटनाको भएको कारण मान्छन । आफूहरुको दोष नभएको भन्दै सवारी चालक प्रमुख कारण सडक भएको आरोप लगाउँदै आएका छन् । सडक घुमाउरो, चिप्लो र फराकिला मोडहरुले दुर्घटना हुने गरेका छन् । ‘एक लेनको सडकमा गाडी चलाउनु पर्छ ।’

एक सवारी चालक भन्छन्,–‘चालकलाई दोष दिएर उन्मुक्ती पाउनुभन्दा सडकको दुरर्दशा नियाल्न आवश्यक छ ।’ प्रहरी अधिकारी भने, तत्काल चालकका कुराप्रति विश्वास गर्दैनन् ।

डिएसपी सिंह भन्छन्,–‘क्षमताभन्दा धेरै यात्रु बोक्नु, अनुभवि र परिपक्क चालकहरु नहुनु, मादकपदार्थ सेवन गर्नु र सेवाभावभन्दा धन कमाउने आशा बोक्नुले सवारी दुर्घटना हुन्छन् ।’ पछिल्ला तीन वर्षमा कम हुँदै गएको सवारी दुर्घटनाले चुप लागेर बस्न नहुने तर्क डिएसपी सिंहको छ ।

‘सवारी दुर्घटना र मानविय क्षती कम हुनु सकरात्मक पक्ष हो ।’ सिंहले थपे,–‘सुर्खेत–जुम्ला सडक खण्डका विभिन्न स्थानमा प्रहरी पोष्ट स्थापना हुनुले पनि दुर्घटना रोकिएका हुन् ।’ पटक–पटक ठुला सवारी दुर्घटना भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले टाइम कार्ड लागु गरेको थियो ।

रात्रीकालिन सवारी साधनमा रोक र टाईम कार्ड लागुले नै सवारी दुर्घटनामा कमी भएको प्रहरी अधिकारी बताउँछन् । तर हाल टाईम कार्ड लागु भएको छैन् । प्रहरीले साँझ ६ः३० बजेदेखी कुनैपनि सवारी साधनलाई सञ्चालनमा रोक लगाएको डिएसपी सिंहको भनाई छ ।

प्रहरीले टाईम कार्ड लागु गर्ने तयारी अन्तिम चरणमा पुगेकाले सवारी दुर्घटना रोक्न आफूहरु कटिबद्ध रहेको डिएसपी सिंहले उल्लेख गरे ।

प्रहरीले सुर्खेत बसपार्कदेखि बड्डीचौरसम्म एक घण्टा ३० मिनेट, बड्डीचौर–तल्लोडुंगेश्वर ३ घण्टा, तल्लोडुंगेश्वर–रामककर्णाली ३ घण्टा र राकमकर्णाली–जितेगडा २ घण्टा समय कार्डमा तोकेको थियो ।

यस्तै, जितेगडा–कालिकोट एक घण्टा, कालिकोट खल्लाघाट र खल्लाघाट–जुम्ला ३÷३ घण्टा समय तोकेको थियो । तर यो समयमा हेरफेर गरेर नयाँ टाईम कार्ड लागु गर्ने तयारीमा प्रहरी छ ।

राजमार्गमा हुने सवारी दुर्घटना रोक्न दैलेखको राकमकर्णाली, कालिकोटको खल्लाघाट र जुम्लाको रारालीहीमा दुर्घटना रोक्न रिफ्रेस सेन्टरलाई सक्रिय अवस्थामा राखेको क्षेत्रीय प्रहरीले जानकारी दिएको छ ।