☰ open Loading... 12 April 2024|  

आत्महत्याको डर लाग्दो स्वरुप
  | ४ भाद्र २०७३, शनिबार १५:४१

घटना नः–१
नेपालगन्ज उपमहानगरपालिका–१६ वेलासपुरमा बस्दै आएका ५५ वर्षीय सोमबहादुर कार्कीले आफैले आफ्नो देह त्याग गरे । चितवन स्थायी घर भएका कार्की केही वर्ष अघिदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएका थिए । साउन एक गते विहान करिव पाँच बजे उनले वाटरपार्कमा निर्माणाधिन मुल गुटमा झुन्डिएर देह त्यागे ।

लागु औषध प्रयोगकर्ता कार्की पैसा अभावमा चोरीडकैतीमा पनि संलग्न भएको प्रहरीको रिर्पोटमा उल्लेख छ । ‘समाजले पनि बहिष्कार गर्दै जानु, आर्थिक अवस्था पनि नाजुक हुदै जानुले विक्षिप्त भएर अन्तमा मृत्युलाई नै विकल्प ठानिएको पाइयो’ प्रहरीको अनुसन्धानले भन्छ ।

घटना नः–२
त्यसदिन दिउँसो समूहबाट निकालिएको ऋण तिर्नु थियो तर सीतापुर ४ की ४५ बर्षिया हीमा गुरुङ्गले गत मसिंर २० गते एकाविहानै आत्महत्या गरिन् । दम्पतीमात्र बस्दै आएका गुरुङ्गलाई परिवार चलाउने पुरै जिम्मेवारी थियो ।

श्रीमान विहानदेखि बेलुकासम्मै मदिरामा लठ् पर्ने भएपछि साँझविहानको जोहो टार्ने जिम्मेवारी उनै हीमालाई थियो । त्यसैले समूहबाट ऋण निकालेकी थिइन् । समूहबाट लिएको ऋण तिर्न नसक्ने भएपछि उनले आफ्नो ज्यानै फालिन् ।

घटनापछि त्यही पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापा भन्छन्–‘श्रीमानले घरको दायित्व निभाउन नसक्दा त्यस्को आर्थिक भार थेक्न नसकेर हीमाले आत्महत्या गरेको पाइयो ।’

माथिका त प्रतिनिधिमूलक घटनामात्रै हुन् । बाँकेमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएको डर लाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक बर्ष ०७१÷७२ को तुलनामा आर्थिक बर्ष २०७२÷७३ मा आत्महत्या गर्नेको सङ्ख्या ४२ ले बढी छ ।

त्यसमा पनि पुरुषको सङ्ख्या धेरै छ । त्रि–बर्षिय आत्महत्याको बिश्लेषण गर्दै बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले आर्थिक बर्ष ७०÷७१ मा सय जनाले आत्महत्या गरेकोमा ०७१÷७२ मा ७६ जनाले आत्महत्या गरेको जानकारी दिए । तर आर्थिक बर्ष ७२÷७३ मा भने १ सय १८ जनाले आत्महत्या गरेको पाइयो उनले भने–‘यो डर लाग्दो अवस्था हो ।’

प्रहरीले निकै गहिरिएर आत्महत्याको कारण खोतल्ने प्रयास गरेको छ । दिनको समयभन्दा रातको समय र अन्य दिनको भन्दा विदाको समय (शनिवार) आत्महत्या गर्नेको सङ्ख्या धेरै छ । यसको कारण खुलाउँदै प्रहरी प्रमुख राईले भने–‘अरुले थाहा पनि नपाउने र एक्लोपनको अनुभुति हुने भएकाले मध्यराती १२ देखि विहान ६ बजेको समयमा आत्महत्या गर्नेहरुको सङ्ख्या धेरै छ ।’

यसरी आत्महत्या गर्नेहरुमा १६ देखि ३० बर्ष उमेरका अधिक छन भने ६० बर्षदेखि माथि उमेर समुहका पनि धेरै छन् । वैदेशिक रोजगारका सामाजिक असर, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलताका कारण १६ देखि ३० बर्ष उमेर समूहका तन्नेरीहरुले आत्महत्या गरेको मुद्दाफाँट इन्चार्ज थापाले भने–‘जेष्ठ नागरिकहरुमा चाही आर्थिक अभाव, पारिवारीक अपहेलना पनि जोडिएको छ ।’

आर्थिक वर्ष ७२÷७३ मा आत्महत्याको प्रयास गर्ने ९६ जनालाई उपचारपछि घर फर्काइएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

के हुन सक्छ कारण ?
आत्महत्याको कारण जति सरल देखिन्छ त्यति सरल हुँदैन । यो अत्यन्त जटिल प्रक्रियाको उपज हो । यसमा एउटा मात्र कारणले भूमिका खेलको हुन्छ भन्न सकिँदैन । हालसम्म यो क्षेत्रमा जति अध्ययन र अनुसन्धान भएका छन्, ती सबैको निचोड अनुसार यो एउटा मानव मनोविज्ञानभित्रको जटिल अन्तरद्वन्द्वको उपज हो ।

यस अर्थमा मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो जसमा अन्य सामाजिक, आर्थिक, पारिवारिक समस्याले उत्प्रेरक भूमिका निर्वाह गरिरहेका हुन्छन् । इन्चार्ज थापा भन्छन–‘सामान्य झैझगडाका कारण आत्महत्या गरेको जस्तो देखिए पनि यसका भित्रिकारण गरिवी र आर्थिक अभाव नै हो ।’

बढ्दो एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता थप आत्महत्याका कारणको रुप लिन सकिने इन्चार्ज थापा वताउँछन् ।

आत्महत्याका पूर्व संकेत
प्रत्येक आत्महत्याका घटना क्षणिक आवेगमा आएर गरेको जस्तो देखिएता पनि यो आत्महत्याको बारेमा व्याप्त भ्रम मात्र हो । अधिकांस आत्महत्याहरु योजनावद्ध रुपमा भएका हुन्छन् । प्रहरीले गरेको अध्ययनका अनुसार आत्महत्याका घटनामा ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् ।

उनीहरुले आफ्नो समाज परिवार साथीभाइसँग ती संकेत कुनै न कुनै मध्यमबाट प्रस्तुत गरेका हुन्छन् । कम्दी ९ का ६५ बर्षिय खड्क बहादुर घर्तिले गत बैशाख २० गते आत्महत्या गरे । त्यस्को अघिल्लो दिन (१९) गते दुध लिएर आउने छिमेकी वहिनीलाई भने अव भोलीबाट दुध नल्याउनु ।

त्यसको अघिल्लो दिन (१८) गते घर नजिकैको आँपको रुखका हाँगाहरु नातिलाई छिउल्न (काट्न) लगाए । र २० गते त्यही आँपमा सलको पासोले आत्महत्या गरे । मुद्दाफाँट इन्र्चाज भन्छन–‘यो उनको पूर्व संकेत थियो तर उनको मनोविज्ञान बुझ्न नसक्दा घटना भएको जस्तो देखियो ।’

नियन्त्रण कसरी गर्ने ?

मानसिक रोग विशेषज्ञ डाक्टर अनुप पोख्रेल मेन्टाहेल्थ नेपाल अनलाइनमा तनाव व्यवस्थापन गर्न नसक्नु नै आत्महत्याको कारण वताउँछन् । उसो भए तनाव कसरी व्यवस्थापन गर्ने त उनी भन्छन्–‘आफ्ना राम्रा तथा सकारात्मक पक्षहरू एउटा पानामा लेख्नुहोस् ।

यसो गर्न तपाई आफ्नो साथी या परिवारका सदस्यको सल्लाह लिन सक्नुहुन्छ । यो कागज आफूसंगै राख्नुहोस् र निराशा छाएको बेला हेर्ने गर्नुहोस् ।’ त्यसैगरी आफ्नो जिन्दगीमा घटित पुराना तर राम्रा कुराहरूलाई सम्झिनु पर्ने अनुप सुझाव दिन्छन् ।

खुसी लाग्ने घटनाहरूका तस्वीरहरू बेलाबेलामा हेर्ने र हालसालै आफुलाई खुशी लाग्ने कुनै राम्रो कुरा भएको छ भने सम्झने र यो कुरा आफ्नो साथीलाई बताउनाले पनि तनावबाटद मुक्त मिल्ने उनको सुझाव छ ।

आफुलाई रमाइलो लाग्ने ठाउँको भ्रमण गर्ने र आफुलाई रमाइलो लाग्ने क्रियाकलापमा केही बढी समयव्यतीत गर्नाले पनि समस्याबाट समाधानको उपाय पहिलाउन सकिने उनको सुझाव छ ।