☰ open Loading... 2 December 2024|  

पदाधिकारी नै चाहदैनन् स्ववियु निर्वाचन
  | ६ भाद्र २०७३, सोमबार ०७:१२

पर्सि (भदौ ८ गते) हुने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को मतदान मिति सारिएको छ । भदौ १३ गते सम्पन्न गर्ने भन्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्वाचनको मतदान मिति आईतबार दिउँसो सारेको हो ।

स्ववियू निर्वाचन सारिएकाे विराेधमा विश्वविद्यालयकाे विस्तारित कार्याल घेर्न पुगेका विद्यार्थी संगठन ।
स्ववियू निर्वाचन सारिएकाे विराेधमा विश्वविद्यालयकाे विस्तारित कार्याल घेर्न पुगेका विद्यार्थी संगठन ।

विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संघगठनले विभिन्न माग राख्दै शनिबारदेखि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन सार्नु परेको प्रतिक्रिया विश्वविद्यालयले दिएको छ ।

शनिबार समितिको कार्यालयमा तालाबन्दी गरेपछि आईबार विहान ९ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय थप गरिएको थियो । पटक–पटक असन्तुष्ट पक्ष र विश्वविद्यालयका पदाधिकारीवीच बसेको बार्ता विना निष्कर्ष टुंगिएपछि चुनाव सार्नु परेको भनाई विश्वविद्यालयको छ ।

राजनीतिक भागवण्डाको आधारमा नियुक्त भएका पदाधिकारीहरुले स्ववियु चुनाव आफ्नो पक्षमा पार्ने कार्य गरेको, मतदाता नामावाली परिवर्तन गरेको र आर्थिक चलखेलका आधारमा नयाँ विद्यार्थी भर्ना गरिएको भन्दै विप्लव नेतृत्व माओवादी निकट विद्यार्थीले माग अघि सारेको थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्ववियू निर्वाचनको प्रक्रिया शनिवारदेखि सुरु भएको थियो । ८ गते हुने निर्वाचनको लागि प्रमुख विद्यार्थी संगठनहरु उम्मेदवार छनौंट गर्न सक्रिय रहेका थिए । आईतबार दिउसो १२ बजेसम्म पदाधिकारीहरुको मनोनयन दर्ता प्रक्रिया सारिएको थियो ।

अन्ततः विप्लव निकट विद्यार्थीसंग वार्ता असफल भएपछि विश्वविद्यालयले निर्वाचन सारेको सूचना सार्वजनिक गरेको थियो । सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न गर्न केही समय थप गर्नु आवश्यक देखिएकाले मिति सारेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बसेको कार्यकारी परिषद्को बैठकले भाद्र १३ गते स्ववियू निर्वाचन गर्ने गरी मिति तोकेको सूचना अधिकारी खड्काले बताए । साथै विद्यार्थी भर्ना बाहेक अन्य निर्वाचनका कार्यक्रमहरू निर्वाचन समितिले हेरफेर गर्न सक्ने परिषद्ले निर्णय गरेको बताइएको छ । तर विश्वविद्यालयका पदाधिकारी तत्काल चुनाव नगर्ने पक्षमा रहेको स्रोतले बतायो ।

निर्वाचन प्रक्रिया शुरु भएको भनेर निर्वाचन कार्यतालिका सार्वजनिक गरी उम्मेदवारी दर्ता गराउने लगायतका क्रियाकलापका लागि समय तोकिएको भएपनि त्यसअनुसार निर्वाचन समिति चल्न सकेन ।

खासगरी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघभित्र उम्मेदवार छान्ने विषयमा कुरा नमिलेकाले त्यसको असर निर्वाचनको कार्यतालिकामै पारिएको हो । यसअघि उम्मेद्वारी दर्ता गर्ने समय भदौ ४ गतेका लागि तोकिएपनि नेविसंघकै विवादले दुई पटकसम्म समय सरेको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको विद्यार्थी संगठनले भने निर्वाचन गर्नै नदिने भन्दै निर्वाचन समितिको कार्यालयमै तालावन्दी गरेको छ । विश्वविद्यालयले पनि चन्द माओवादीका विद्यार्थीलाई नै निहुँ बनाएको छ । तर चन्द माओवादी र काँग्रेसका विद्यार्थी संगठनबीचको मिलेमतो रहेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

‘विप्लव माओवादी निकट विद्यार्थीले एकलौटी निर्वाचन गरे हिसाबकिताव लेखेर राख्ने धम्की वार्तामै दिएको थियो ।’ विश्वविद्यालय स्रोतले भन्यो,–‘अहिलेको अवस्थामा विश्वविद्यालय भित्रकै पदाधिकारी चुनाव गर्ने मोडमा छैनन् । विप्लव नेतृत्व माओवादीले उठाएका माग निउँ मात्रै हुन् ।’

यता विश्वविद्यालयका पदाधिकारीले यस बारेमा मुख खोलेका छैनन् । चुनाव सारेको जानकारी बाहेक किन र के कारणले चुनाव स¥यो भन्ने बताउँन चाहँदैनन् ।

चुनाव सारेको विरोधमा अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र मजदुर किसान पार्टी निकट विद्यार्थीले आईतबार साँझ विश्वविद्यालयको विस्तारित कार्यालय घेरेका थिए । तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने, असक्षम पदाधिकारी राजिनामा देउ लगायतका नारा समेत लगाएका थिए ।

यता, अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवारी दर्ता गराएका अध्यक्ष प्रभात पोखरेलले चुनाव सार्नु गलत भएको प्रतिक्रिया दिए । उनले विभिन्न बहाना गर्दै चुनाव सार्नु दुर्भाग्य भएको बताएका छन् । अध्यक्षका उम्मेद्वार पोखरेलले चन्द माओवादीको तालावन्दी देखाउने दाँत मात्रै भएको उल्लेख गर्दै भित्री कुरा अरु नै रहेको बताए ।

अनेरास्ववियु मध्यश्चिम विश्वविद्यालय केन्द्रीय कमिटीका अध्यक्ष गगन सिंहले विश्वविद्यालयका पदाधिकारीहरुनै गैरजिम्मेवार भएको बताए । उनले भने ‘पराजयको मानसिकताबाट डराएका निर्वाचन समितिका जिम्मेवार व्यक्ति उनीहरुको गैरजिम्मेवारीका कारण मतदानको मिति सारिएको हो ।’

बाहिर देखाउँदा विप्लब माओवादी निकटका विद्यार्थी संगठनको अवरोध देखाएपनि भित्र भने षडयन्त्र भैरहेको उनले बताए ।

अनेरास्ववियुले शनिवार नै उम्मेदवारी दर्ता गराएको थियो । सचिवमा भरत शाही र कोषाध्यक्षमा अनु आँकुराको उम्मेदवारी छ । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य भिष्मकुमार शाहीले आफूहरुले नै चुनाव सार्न लगाएको बताएका छन् ।

उनले वास्तविक विद्यार्थीभन्दा फर्जि विद्यार्थी बनाएर चुनाव जित्ने रणनीतिमा केही विद्यार्थी लागेको आरोप लगाउँदै निष्पक्ष निर्वाचन गर्न चुनाव सार्न लगाएको बताए ।

१३ गते अवश्य निर्वाचन हुने दावी गरेका शाहीले घुसपैठको अन्त्य गरेर वास्तविक विद्यार्थी मैदान उत्रिनु पर्ने उल्लेख गरे । ‘आफूहरुकै अडानले स्ववियू निर्वाचन हुन लागेको हो ।’  शाहीले थपे,– ‘कसैको दवाव र भड्काउनमा आन्दोलन गरेका हैनौं । नियमित विद्यार्थीलाई छाँयामा पार्नु दुर्भाग्य भएकाले यसको भण्डाफोर गरेका हौं ।’

‘पदाधिकारी नै चुनाव गर्ने पक्षमा छैनन्, १३ गते नै चुनाव हुन्छ भन्ने के ग्यारेन्टी छ ?’ केन्द्र निकट अखिल (क्रान्तिकारी) बाट स्ववियू उम्मेदवारका अध्यक्ष राजेन्द्र बुढाले भने ।

केन्द्र निकट विद्यार्थी संगठनले शनिबार नै उम्मेदवारको टुंगो लगाएको थियो । स्ववियू अध्यक्षको उम्मेदवारमा राजेन्द्र बुढा, सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मी छन् । नेपाली काँग्रेस निकट नेविसंघ चुनाव सारेकोप्रति कुनै प्रतिक्रिया दिएको छैन् ।