☰ open Loading... 30 May 2024|  

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू
  | ६ भाद्र २०७३, सोमबार १३:४६

महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ ।

पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने हो ।

आइतबार भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ ।

सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन  आज घर घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा (मास, गहत, केराउ, गहुँ गुरुस) भिजाएर पर्व सुरु गरिने स्थानीयवासी पण्डित दयाकृष्ण पन्त बताउनुहुन्छ  ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा डालोमा स्थापना गर्ने र दुबधागोसमेत चढाएर पूजा गरी घर मित्र्याउने  चलन छ । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थान)मा फाग गाएर पूजाआजा गर्छन् ।

साँझ  अभिषेक गरी दुबधागो घाँटीमा लगाएर देवी विसर्जन गरेपछि प्रसादका रुपमा बिरुडा ग्रहण गर्ने र घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडाको टीका लगाइदिने प्रचलन छ ।

बिरुडा भिजाएपछि महिलाले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्गलगायतका वस्तुबाट गौराको मूर्ति बनाई गौराघरमा भित्र्याएर पूजा गरिने र विसर्जन नभएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर मनोरञ्जन लिने गरिन्छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेमसमेत साट्ने गरिन्छ ।

मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउनुका साथै, सुखशान्ति हुने, देवदेवी इष्ट र कुलदेवता प्रसन्न हुुने जनविश्वासका साथ मनाइने यो पर्वले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनकसमेत बढाएको छ  ।

नेपालीको महान चाड बडादसँैभन्दा पनि सुदूरपश्चिमेलीले बढी महत्वका साथ मनाउने यो पर्वमा परदेशीएकाहरु पनि घर फर्किने   र विवाहित चेली पनि माइत आउने गर्दछन् ।

गौरा पर्वको प्रमुख आकर्षण देउडा हो । देउडामा पौराणिक कथा देवीदेवताका गाथालाई गीतका रुपमा गाउनुका साथै सामाजिक विकृतिविरुद्ध पनि तिखो व्यङ्ग्य गरिन्छ । यसैगरी सामाजिक  रीतिरिवाज सुखदुःख,  महिलाका व्यथा  पनि  देउडाकै माध्यमबाट अभिव्यक्त गर्ने प्रचलन रहेको श्रीकोटका समाजसेवी हेमराज गिरी बताउनुहुन्छ ।