☰ open Loading... 2 May 2024|  

श्रीमानलाई ब्राउनसुगर पुर्याउँदा…
  | १० भाद्र २०७३, शुक्रबार १७:४९

सधैं झै बिहीबार विहान पनि वीरेन्द्रनगर–१० कि कल्पना सिंह श्रीमानलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगिन् । १० दिनदेखि चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमान प्रेमलाई भेट्न उनी दिनदिनै पुग्ने गर्थिन् ।

विहान आठ बजेदेखि नौ बजेसम्म भेट्ने समय । उनले श्रीमानका लागि केही खानेकुरा पनि ल्याएकी थिइन् । सधैंझै प्रहरीले उनलाई दिन ल्याएको खानेकुरा चेकजाँच ग¥यो । खानेकुरा कल्पना आफैले श्रीमानलाई दिइन् ।

अन्तिममा उनले मुखबाट जुठो चपाएको चुइगम दिइन् । ड्यूटीमा रहेका प्रहरीलाई शंका लाग्यो । प्रेमको हातमा पुगिसकेको जुठो चुइगम ड्यूटीमा रहेका प्रहरीले आफ्नो नियन्त्रणमा लिए ।

चुइगमभित्र रहेको रहस्य थाहा पाउँदा प्रहरी चकित प¥यो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयका अनुसार चुइगभित्र ब्राउनसुँगर थियो ।

सुरुमा त प्रहरीलाई पनि श्रीमान–श्रीमतीबीच माया साँटासाटका लागि चुठो चुइगम दिएको होला भन्ने लागेको थियो । तै पनि आफ्नो हिरासतभित्र भएको व्यक्तिको सुरक्षाका लागि पनि प्रहरीले चेकजाँच गर्ने निर्णय ग¥यो ।

‘के रहेछ चेकजाँच गरौं भन्ने लागेर हामीले चपाइसकेको चुइगम नियन्त्रणमा लिएका थियौं’ उनले भने, ‘भित्र हेर्दा प्लाष्ट्रिकमा बेरेर राखेको एक सय ७० मिलिग्राम ब्राउनसुँगर बरामद ग¥यौं ।

श्रीमानलाई ब्राउनसुँगर दिन प्रहरी हिरासतमा पुगेकी कल्पना अहिले आफै हिरासतमा पुगेकी छन् । ‘अदालतबाट म्याद थप गरेर हामीले घटनाबारे अनुसन्धान सुरु गरेका छौं’ उनले भने, ‘ब्राउनसुँगर कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रीत छ ।’