☰ open Loading... 19 April 2024|  

अदालतकै नाममा ठग्नेलाई २ वर्ष कैद
  | १५ भाद्र २०७३, बुधबार १४:०९

अदालतकै नाम लिएर ठग्ने २ जनालाई दैलेख जिल्ला अदालतले २–२ वर्ष कैद र जनही ४५ हजार रुपैंयाँ जरिवाना गरेको छ । त्यस्तो सजाय पाउनेमा दुल्लू नगरपालिका–५ टीकाराम भन्ने प्रकाश रिमाल र गमौडी गाविस–६ का करुणकुमार खड्का रहेका छन् ।

बहुविवाहको मुद्दामा थुनामा परेका तिलक आचार्यलाई उन्मुक्ति दिलाउन ‘न्यायाधीशलाई नै पैंसा पु¥याइदिन्छौं’ भनी तिलकसंग बहुविवाह गरेकी बागलुङ्ग तमान गाविस–४ की कल्पना सिर्पालीबाट उनीहरुले ५० हजार लिएको पुष्टी भएपछि उक्त सजाय गरिएको हो ।

अदालतकै नाम लिएर ठगी गरेको पाइएकोले सार्वजनिक सचेतना स्वरुप जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट उनीहरुलाई २–२ वर्ष कैद र जनही ४५ हजार रुपैंयाँ जरिवाना गरिएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले जानकारी दिए ।

घटना विवरण अनुसार जवरजस्ती करणी उद्योगमा ४ वर्ष कैद भोगिरहेका करुणकुमार खड्काले बहुविवाहको मुद्दामा थुनामा परेका तिलक आचार्यलाई छुटाउन सक्छु भन्दै टीकाराम भन्ने प्रकाश रिमाललाई प्रयोग गरी धरौटी तारेक बाहिर बसेकी कल्पना सिर्पालीबाट ५० हजार लिएका थिए ।

प्रकाश रिमालले अदालतको नक्कली कर्मचारी बनी कल्पनालाई फकाएका थिए भने कारागारमा रहेका करुणकुमारले तिलक आचार्यलाई मुद्दाबाट उन्मुक्ति दिलाउने आश्वस्त बनाएका थिए । करुणकुमारलाई पहिलेको कैद सकिएपछि अहिलेको २ वर्ष थपिने बताइएको छ ।

गत असार ११ गते कल्पनाबाट ५० हजार लिंदा ‘अदालतको कर्मचारी हुँ न्यायाधीशसंग पैंसा पुग्छ’ भनेका प्रकाश रिमालले त्यही साँझ कारागारका कैदी करुणकुमारलाई ५ हजार बुझाएका थिए । करुणकै सल्लाहमा बाँकी ४५ हजार गमौडीमा करुणकी आमा सावित्री खड्कालाई दिएका थिए ।

प्रकाश रिमालले दिएको सूचनाको आधारमा असार २७ गते गमौडीमा करुणकुमारको घरमा पुगेको प्रहरी अनुसन्धान टोलीले उनकी आमा सावित्री खड्काले सिरानी राखेको अवस्थामा १ हजार दरका ४५ वटा नोट प्रहरीले बरामद गरेको थियो ।

कल्पनाले असार १७ गते पेशीमा चढेको आफू समेत मुछिएको बहुविवाहको मुद्दा स्थगन भएपछि ‘पैंसा खाएर पनि काम नगरेको उल्टै पेशी सारिएको’ भन्दै अदालतका कर्मचारीसंग आपत्ति जनाएपछि यो विषय ठगीको मुद्दा बनेको थियो । सो विषयमा असार २० गते प्रहरीमा परेको जाहेरीपछि साउन २ गते अदालतमा मुद्दा पेश भएको थियो ।

यसैबीच कान्छी श्रीमति भनिएकी कल्पनालाई रकम खर्च गर्न लगाई बह्ुविवाहको मुद्दामा उन्मुक्ति पाउने प्रयत्न गरेका तिलक आचार्यको बहुविवाह मुद्दाको पनि आजै फैसला भएको छ । आचार्यलाई १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ ।

जिल्ला न्यायाधीश पण्डितको इजलासबाट भएको फैसला अनुसार कान्छी श्रीमति हुन आएकी कल्पना सिर्पालीलाई घरमा जेठी श्रीमती छन् भन्ने थाहा नपाएका आएका कारण सफाई दिइएको छ । तिलककी जेठी श्रीमती सकुन्तला आचार्यले बैशाख २० गते दिएको जाहेरीका आधारमा प्रहरीले जेठ १४ गते अदालतमा मुद्दा चलाएको थियो ।

भारतको मुम्वईमा मजदूरी गर्दा तिलकले लेवनाममा बैदेशिक रोजगारी गर्दै गरेकी कल्पनासंग फेसबुक मार्फत चिनजानपछि गएको फागुन २७ गते मुम्वईबाट सोझै काठमाण्डौं एयरपोर्टमा रिसिभ गरी विवाह गरी दैलेख ल्याएपछि तिलककी जेठी श्रीमतीले बहुविवाहको जाहेरी दिएकी थिइन् ।