☰ open Loading... 2 May 2024|  

पर्यटन मन्त्री अकस्मात् निर्माणाधीन विमानस्थल पुग्दा…
  | १८ भाद्र २०७३, शनिबार १०:२६

कोटबाडास्थित निर्माणाधिन विमानस्थलमा एक्कासी हेलिकोप्टरमा आएका अपरिचित मान्छेले तपाइलाई एयरपोर्ट किन चाहियो ? भनि सोध्दा कोटवाडा –४ मनबहादुर बिष्ट रनभुलमा परे ।

उनले आफुले थाहा पाएको र जानेसम्मको जवाफ दिएर विमानस्थलको आवश्यकताबारे प्रष्ट्याउने कोशिस पनि गरे । जब प्रश्न गर्ने मान्छे पर्यटन मन्त्री भएको थाहा पाए त्यसपछि भनि उनी आश्चर्यमा परे ।

kkp
न त कुनै औपचारिक कार्यक्रम । न त सुरक्षाको बाक्लो घेरा । ३÷४ जनाको समूहमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाही अकस्मात कोटवाडाको निर्माणाधिन विमानस्थलमा झुल्किए पछि सबैजना मनबहादुर जस्तै आश्चार्य मानिरहेका थिए ।

‘सुरुमा त पत्यार लागेन’ मन्त्री शाहीसंग कुराकानी गरेका मनबहादुरले टेलिफोनमा भने, ‘जब मन्त्री ज्यू, ले सुनथराली आउँदा प्लेन चढेर आउने आफ्नो योजना सुनाउनु भयो अनि त हामीलाई पनि हौसला भयो ।’

मन्त्री आएर विमान स्थलको अवस्था बुझ्दा तीन दशक अघिदेखिको कालीकोटबासीको जहाज चढ्ने धोको पुरा हुन्छ कि ? भन्ने आशा पलाएको उनले बताए ।

मुगुमा इलाका प्रशासन कार्यालय उद्घाटन गरी काठमाडौ फर्किने क्रममा पर्यटन मन्त्री शाहीले तीन दशकअघिदेखि निर्माणाधीन कोटबाडाको सुनथराली विमान स्थलको निरीक्षण समेत गरेका छन् ।

विमानस्थल निरीक्षणका क्रममा उनले यहाँका स्थानीयसंग समेत केही समय अन्तक्र्रिया गर्न भ्याए । अकस्मात निर्माणाधीन सुनथराली विमानस्थल गरेका मन्त्री शाहीले आफ्नो कार्यकालमा विमानस्थलको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका कोटवाडा–४ का गणेश बिष्टले बताए ।

‘मन्त्री ज्यू, ले आफ्नो कार्यकालमा जसरी पनि विमानस्थलमा प्लेन गुडाउने पहल गर्ने छु भन्नुभयो’ बिष्टले भने, ‘आफ्नो प्राथमिकतामा कोटवाडा विमानस्थलको निर्माण भएकाले कुनै कुराको अभाव हुन नदिने बताउनु भयो ।’

यो पटक म यो एर्पोट हेर्न हेलिकोप्टर चढेर आएँ, अबको दिनमा म प्लेन चढेर आउनेछु भने अब केही हुन्छ किन भन्ने विश्वास लागेको बिष्टले बताए ।

विमानस्थल निरीक्षण गर्न आएका पर्यटन मन्त्रीलाई स्थानीयले विमानस्थलमा डोजरको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् । ‘मन्त्रीले कुटो र कोदालोले खनेर विमानस्थल समयमै निर्माण सम्पन्न हुँदैन भन्नुभयो’ मनबहादुर बिष्टले भने, ‘हामीले पनि डोजरको व्यवस्था गरिदिनु प¥यो भन्यौ, मन्त्री ज्यूले हुन्छ भन्नु भएको छ । हेरौ अब केही हुन्छ कि ?’

मन्त्री शाहीको आश्वासन पछि विमानस्थलको निर्माण सम्पन्न हुने कुरामा आशा मानेका स्थानीयबासी त्यत्तिकै आशंका पनि गरिरहेका छन् । कालीकोटकै पर्यटन मन्त्री खड्गबहादुर बिश्वकर्माको पालामा विमानस्थल निर्माणको काम सकिएला भन्ने आशा गरेका कालीकोटबासी उनले केही सिन्को पनि नभाँचेको बताउँछन् ।

मन्त्री शाही कर्णालीकै बासिन्दा भएका नाताले केही आशा भने स्थानीयले पालेको बताएका छन् । ‘हुन त कालीकोट कै मन्त्री हुँदा उनले पनि प्लेन उडाउछु भनेकै हुन्’ स्थानीय मनबहादुर बिष्टले भने, ‘उनकै पालामा एयरपोर्टका लागि प्रयाप्त बजेट आएन । अहिले पनि मन्त्रीको प्रतिबद्धता छ अब काम कस्तो हुन्छ हेर्न बाँकी नै छ ।’