☰ open Loading... 20 April 2024|  

‘एकताले मात्र व्यवसायीक मुद्दा सफल’
  | २० भाद्र २०७३, सोमबार ०८:०७

मैले यस्लाई नन्दलाल बैश्य एक्लैको यो जितका रुपमा लिएको छैन् । सबै व्यवसायीको जित हो ।

गोपाल प्रसाद अधिकारी र कपिल प्रसाद अधिकारी पराजित भएको होइ्न दोस्रो र तेस्रो स्थान आउनुभएको हो । तीनवटा चुनावी घोषणा पत्र अव एक भइसके ।

सदस्यता शुल्क घटाएर आर्थिक वर्षमै संघमा सदस्यता सङ्ख्या बढाएर ६ हजार पु¥याइने छ ।

म एक्लैले व्यवसायीक मुद्दा सफल हुन सक्दैनन् भन्नेमा म पूर्णरुपमा विश्वस्त छु । सबैको सहयोग र सहकार्य चाहिन्छ ।

व्यवसायीले मिडियालाई विज्ञापन दिनु प¥यो । विज्ञापन दिनु भनेको दान दिने भनेको होइन् यो त लगानी बढाउने हो ।

नेपालगन्ज उद्योग बाणिज्य संघको अघिल्लो चुनावमा झिनो मत अन्तरले पराजित भएका नन्दलाल बैश्य यो पाली भने ठूलो मत अन्तरले संघको अध्यक्षमा निर्वाचित भए ।

वहुमत कार्यसमिति सहित संघमा निर्वाचित बैश्यले यसलाई सबै व्यवसायीको सफलताका रुपमा अथ्र्याएका छन् । उनले भने–‘अघिल्लो चुनावको पराजयबाट विचलित नभइ निरन्तर व्यवसायीकै माँझमा रहेकाले यो सम्भव भएको हो ।’

नेपालगन्ज उद्योग बाणिज्य संघमा २०२८ सालमा नेपालगन्जमै जन्मिएका बैश्यले बाजे र बुवाले सुरु देखि गर्दै आएको कपडा पसललाई होलसेलका रुपमा स्तरबृद्धि गरि गरेर आफुलाई स्थापित व्यवसायीका रुपमा चिनाउँदै आएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघमा २०५१ सालदेखि साधारण सदस्य, उपसमिति संयोजक, निर्वाचित कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष सम्मको भूमिका निर्वाह गरिसकेका उनी भन्छन्–‘चुनावमा कुनै व्यवसायी पराजित भएको छैन् ।

गोपाल जी, कपिल जी पनि व्यवसायी नै हो । प्रतिस्पर्धामा उहाँहरु दुई र तीन नम्वरमा पर्नुभएको पराजय होइ्न ।’ गोपालप्रसाद अधिकारी र कपिल प्रसाद अधिकारीलाई पराजित गरेर उनले भावि नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

उनले चुवान अघि नेपालगन्जको व्यवसायीक विकास र चुनौतिका सवालमा सार्वजनिक भएका तीन वटा घोषणापत्र मत परिणामपछि एक भइसकेको भन्दै त्यस्लाई सफलरुपमा कार्यान्वयन गर्नतर्फ अघि बढ्ने वताए ।

त्यो कसरी सम्भव छ त ? उनी भन्छन्–‘व्यवसायीक एकता । जुन खालको परिणाम आयो यस्ले व्यवसायीक एकतालाई जोड दिएको छ ।’ नेपालगन्जका उद्योगी व्यवसायीहरु अनियमित विद्युत समस्याले प्रताडित भएको भन्दै यो समस्या समाधानका लागि संघले अव नेतृत्वदायी भूमिका निभाउने वताए ।

खुला सीमा, अलपत्र सभागृह निर्माण आप्mनो कार्यकालका प्रमुख एजेण्डाका रुपमा प्रस्तुत गरेका अध्यक्ष बैश्यले मिडियासँगको संस्थागत विकास र उनीहरुमाथि व्यवसायीहरुको लगानी बढाउने पहलको प्रतिबद्धता जनाए । भगवान प्रती निकै आस्था राख्ने बैश्य अन्तरवार्ताका लागि उनको चेम्वरमा सोमवार विहान पुग्दा उनी नियमित पुजापाठमै थिए ।

पहलो बस्त्रमा पुजापाठ गर्न व्यस्त उनले संवाददातालाई भन्दै थिए कम्तिमा भगवानसँग मेरो यही प्रार्थना छ सबै व्यवसायीलाई समेटेर व्यवसायीक मुद्दामा अडिक बन्न सकु । उनै बैश्यसँग पश्चिम नेपाल बाँके सम्वाददाता प्रियास्मृति ढकालले अवको योजना, यहाँका व्यवसायीक समस्या, समाधानका उपाय र सम्भावनाका बिषयमा अन्तरंग संवाद गरेका छन् ।

 नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्य ।
नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्य ।

अघिल्लो चुनावमा पराजय र अहिले विजयी कस्तो महसुश भइरहेको छ ?

अघिल्लो चुनावमा झिनो मतको पराजय र यसपाली फराकिलो मत अन्तरले विजयी भएको छु । यसमा कस्तो महसुश भन्दा पनि यो सबै उद्योगी व्यवसायीले चाहेको नतिजा हो । ६० प्रतिशत मत अन्तरले विजयी हुँदा एउटा सौभाग्य नै मान्नु पर्छ ।

अहिले मलाई कस्तो महसुश भइरहेको छ भने असफलता नै सफलताको प्रतिक रहेछ । अघिल्लो चुनावमा चार मतले पराजय भएलगत्तै म निरन्तर रुपमा अध्यक्षकै भूमिका जस्तै गरि व्यवसायीका माझमा क्रियाशील भएर लागे ।

तर उहाँ (निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ) जितेर केवल रिवन काट्न मात्र व्यस्त हुनुभयो । जुन दिन मैले चुनाव हारे त्यस्को भोलीपल्टै देखि म प्रत्येक व्यवसायीको घरमा पुगेको छु भनेको थिए म हारे पनि तपाईसँगै हुने छु, तपाईका व्यवासायीक असहजता हटाउन लाग्ने छु । त्यस्कै परिणाम हो जुन नतिजा तपाईले पनि अहिले देख्नु भयो ।

पराजित समूहलाई कसरी मिलाएर लैजानु हुन्छ  ?

यसमा पराजय विजयी भन्ने कुरा रहेन् । म पहिलो भए गोपाल जी दोस्रो र कपिल जी तेस्रो हुनुभएको छ । हामी सबै व्यवसायी हौं । व्यवसायीक मुद्दामा पराजय विजयी भन्ने कुरा ल्याउनु हुन्न् । व्यवसायीका सवाल, मुद्दा सबै एकैखाले छन् ।

हो चुनावका बेला आ–आप्mना तरिकाबाट चुनावी घोषणापत्र सार्वजनिक भएका छन् । अव छुट्टाछुट्टै ति घोषणापत्र आइतवारको परिणामले एक बनाईसक्यो । त्यसैले अव यो समूह त्यो समूह भन्ने कुरा छैन् ।

म उहाँहरुसँगै हुनेछु । प्रत्येक बैठक होस् वा महत्वपूर्ण काम गर्दा उहाँहरुको महत्वपूर्ण सहयोग आवश्यक पर्छ । म एक्लैले व्यवसायीक मुद्दा सफल हुन सक्दैनन् भन्नेमा म पूर्णरुपमा विश्वस्त छु ।

तपाइका एजेण्डा के छन् ?

मैले आप्mनो चुनावी घोषणापत्रमा पनि उल्लेख गरिसकेको छु । हाम्रा अघि दुई वटा सवाल छन् । एउटा हो व्यवसायीक र अर्को हो सामाजिक । देश संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेश नम्वर पाँचको राजधानी नेपाललाई बनाउनका निम्ति माथिल्लो तहमा दवावका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ ।

अर्को कुरा यहाँका जिल्ला उद्योग बाणिज्य संघ भएर पनि संघमा समग्र जिल्लाबाट प्रतिनिधित्व हुन सकेको छैन् । त्यस्ले पनि सबै व्यवसायीका लागि संघप्रती अपनत्व हुन नसकेको सबैलाई थाहा भएकै कुरा हो । त्यस्कारण सदस्यता बढाउनेतर्फ पनि एजेण्डा छ ।

सबै उद्योगी व्यवसायीलाई आउने समस्या समाधानका लागि र व्यवसायीक दक्षताका लागि अव संघले नतिजा निकाल्ने गरि कार्य प्रारम्भ गर्नेछ । केही सामाजिक प्रतिबद्धता पनि मैलु चुनावी घोषणापत्रमा उल्लेख गरेको छु ।

एक दशक अघि दामोदर आचार्य नेतृत्वले नेपालगन्जमा बहु उद्देश्यीय सभागृह तथा प्रर्दशनी स्थल निर्माणको थालनी गरेको छ । तर त्यसपछिका अध्यक्षहरुले त्यसलाई खासै प्राथमिकतामा राखेको देखिएन् ।

त्यसलाई अगाडी बढाउने योजना छ । र, त्यो म गर्छु पनि । नेपालगन्जको विद्युत समस्या, डुवान समस्यालाई समाधान गर्नतर्फ पनि संघको नेतृत्वदायी भूमिका हुनेछ ।

2 (2)
नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्य ।

बाँकेका व्यवसायीहरुको समस्या के हो ?

अव यहाँ धेरै समस्या छन् । सबैभन्दा ठूलो समस्या भनेको उर्जा अर्थात विद्युत्को नै हो । विद्युत समस्याका कारण उद्योगी व्यवसायी प्रताडित भएका छन् । अर्को समस्या भनेको खुला सीमा व्यापार ।

यहाँ (नेपाल)को ठूलो अर्थतन्त्र भारत पलायन भइरहेको छ । यस्ले गर्दा यहाँको व्यवसाय चौपट भएको छ । व्यवसायीहरुलाई व्यवसायीक ज्ञानको अभाव छ । केही नीतिगत समस्या छन केही व्यवहारिक समस्या पनि छन् । व्यवसायीहरुको संघमा आवद्ध हुने जुन शुल्क छ त्यो धेरै छ ।

त्यस्लाई सम्वोधन गर्ने तपाइसँग के सुत्र छ ?

हेर्नुस् ठ्याक्कै यही सुत्र मसँग अहिले छैन् । तर ध्रुबसत्य के हो भने जवसम्म व्यवसायीक एकता हुन सक्दैन् तवसम्म व्यवसायीहरुले झेल्दै आएका समस्या कहिले पनि सम्वोधन हुन सक्दैन् । मलाई के विश्वास छ भने जुन परिणामले मलाई जिताउनु भएको छ । अर्थात नेपालगन्ज उद्योग बाणिज्य संघमा ल्याउनुभएको छ ।

त्यस्ले व्यवसायीक एकताको नयाँ आयाम सुरु भएको मैले ठानेको छु । हो, अव हामी यहाँका अग्रज उद्योगी व्यवसायीबीच थप छलफल गरेर यहाँको व्यवसायीक अप्ठ्यारा, सम्भावनाको खोजी गरेर संघलाई व्यवसायीक मुद्दामा अडिक राख्न पहल गर्नेछौं । र, त्यस्का लागि व्यवसायीहरुले मलाई लगाम लगाउनु पर्छ । म एक्लैले केहि पनि गर्न सक्दैन् ।

सबै व्यवसायीहरुको सल्लाह सुझाव आवश्यक पर्छ । म गलत गर्दै गर्दा अरु व्यवसायीले यो ठिक होइ्न यसरी जाउँ भनेर लगाम लगाउने परिस्थिति सिर्जना भयो भने मलाई लाग्छ जति ठूला समस्या पनि हल भएर जाने छन ।

तपाइको पहिलो प्राथमिकता के मा हुन्छ ?

मेरो पहिलो प्राथमिकता विद्युत समस्या समाधान गर्न तर्फ नै हुन्छ । अनियमित लोडसेडिङका कारण व्यवसायीहरुले ठूलो संकट झेलिरहेका छन् । त्यस्लाई हल गर्न यहाँका राजनीतिक दल, सामाजिक अभियान्ता तथा सञ्चारकर्मीसँग छलफल गरेर स्थानीय विद्युत् प्राधिकरणमा दवाव सिर्जना गरिने छ ।

तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पहलमा राष्ट्रिय प्रशारण लाइनबाट तीन मेघावट विजुली नेपालगन्जका लागि आएको थियो । तर अहिले त्यो पनि नियमित भएन् । अहिले माओवादी नेतृत्वमा काँग्रेस पनि सरकारमा सहभागि छ ।

प्रचण्ड नेपालगन्जको गर्मीसँग परिचित हुनुहुन्छ । यो समस्या सम्वोधनका लागि पक्कै केन्द्रतहमा दवाव बढाइने छ । त्यस्पछि व्यवसायीहरुका समस्या र सम्वोधनको उपायको खोजी सुरु हुने छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघमा करिव ३ हजार सदस्य छन् । त्यसमा तपाईले झन्डै १५ सय मत ल्याएर निर्वाचित हुनुभयो । तपाइहरु नै भन्नुहुन्छ यहाँ १० हजार व्यवसायी छन् । कसरी उनीहरुलाई सम्वोधन गर्नुहुन्छ ?

प्रिया जी, तपाईले एकदमै सही प्रश्न गर्नुभयो । संघमा आवद्ध हुने जुन शुल्क छ । त्यस्ले व्यवसायीहरु मर्कामा परेका छन् । पहिले दुई सय रुपैयाँ शुल्क थियो तर अहिले एक हजारदेखि १० हजार माथिसम्म छ । अव शुल्क घटाइने छ ।

त्यसो गर्ने वित्तिकै उद्योग बाणिज्य संघमा सदस्यता सङ्ख्या बढेर जान्छ । यो होइन् संघको सदस्य भएकाको मात्र समस्या संघले सुनोस् । समग्र व्यवसायीको समस्या समाधानका लागि हामी क्रियाशील हुने छौं ।

उसो भए अव संघमा सदस्यता सङ्ख्या थपिन्छ ?

अवश्य । शुल्क घटाउछौं । यो आर्थिक वर्षभित्र कम्तिमा पनि सदस्यता सङ्ख्या बढाएर ६ हजारको हाराहारीमा पु¥याउने प्रयास गर्नेछौं । त्यसैले त मैले घोषणापत्रमै भनेको छु । खजुरा, फत्तेपुर, सम्झना चोक, चिसापानी जस्ता नयाँ विकास भएका बजारहरुबाट संघमा प्रतिनिधित्व बढाउन विद्यान संशोधन गरि विशेष व्यवस्था गरिने छ ।

यो कुनै नाफामुलक संस्था होइन् । संघमा पैसा थोपारेर मात्र केही हुँदैन् । व्यवसायीले निर्माण गरेको संस्थामा उनीहरुलाई नै अप्ठ्यारो पार्ने कार्य स्वभनिय हुन सक्दैन् । त्यसैले शुल्क घटाएर जति सक्यो सबै व्यवसायीलाई संघमा आवद्ध गर्ने गरि काम थालनी गरिनेछ ।

नेपालका उपभोक्तालाई नेपालगन्जमै रोक्न सकिएन भन्ने गुणासो छ नी ?

पक्कै पनि हो । यसअघिका अध्यक्षहरुले पनि यसमा धेरै प्रयास गर्नुभएको हो । तर त्यसको सकारात्मक प्रभाव देखिएन् । सबैभन्दा पहिले त सम्वद्ध निकायसँग छलफल गरेर ठोस पहल कदमी चाल्न जरुरी छ । भन्सार कार्यालय, सीमामा खटिने प्रहरी प्रशासनसँग समन्वयकारी भूमिका चालेर कम्तिमा नेपालको अर्थतन्त्र नेपालमै चलाएमान होस् भन्नेमा म गम्भीर छु ।

अर्को कुरा उपभोक्तालाई राम्रोसँग सचेत पार्न सकिएको छैन् । सस्तोमा सामान पाइने प्रलोभनमा सयौं उपभोक्ताहरु रुपैडियाँ जाने गरेका छन् । त्यो गलत छ । उपभोक्ताको गलत बुझाई चिर्नका लागि सचेतनामुलक कार्यक्रमहरु अघि सारिने छ ।

जस्तो भारतबाट कार, मोटरसाईकल नेपाल भित्र्दा सुविधाको फारम भर्ने व्यवस्था छ त्यस्तै यहाँ (नेपाल) बाट जाने उपभोक्तालाई पनि सुविधाको फारम भर्ने व्यवस्था मिलाइनु पर्छ । उनीहरुले कतिसम्मको सामान ल्याउन पाउने त ?

त्यो गर्न सकियो भने धेरै उपभोक्ताहरु नेपालगन्जमा राकिने छन् । यो पनि सबै थोक होइन् । हामी सबैमा चेतना छ । हामी नेपाली हौं । नेपाली भूमिमै कारोवार ग¥यौं भन्ने राष्ट्रियता मनैदेखि आउनु पर्छ ।

कर शिक्षा र व्यवसायीक दक्षता व्यवसायीमा हुन सकेन भन्ने गुणासो छ नी ?

हो । व्यवसायीहरुलाई प्रयाप्तमात्रामा कर शिक्षा र व्यवसायीक दक्षताका कार्यक्रमहरु हुन सकेका छैनन् । यस्ले गर्दा व्यवसाय सञ्चालनमा अप्ठयारा स्थिति पनि पैदा भएको छ । यस अघि नेतृत्वमा पुग्नेहरुले कर शिक्षा र व्यवसायीक दक्षताका कार्यक्रम नगरेका पनि होइनन् । तर व्यवसायी आफैले चासो नलिएको मैले पाएको छु ।

जस्तो कुनै तालिम राख्यो भने व्यवासायीहरु नै आउनु हुन्न् । किन संघप्रती उहाँहरुले विश्वास गुमाउँदै जानुभएको छ । यस्लाई मैले गम्भीर रुपमा लिएको छु । संघप्रती विश्वास जगाउने गरि मैले काम गर्नेछु । प्रत्येक व्यवसायीसंग समन्वय गर्नु प¥यो, उनीहरुको समस्यामा साथ दिनु प¥यो तव मात्र संघप्रती व्यवसायीहरुको विश्वास फर्किने छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघको नेतृत्वमा प्राय बाणिज्यतर्फबाटै आउने गरेका छन् । यस्ले उद्योगीहरुको सहभागिता हुन सकेन् र उद्योगीका समस्या सम्वोधन हुन सकेन भन्ने संघमाथि आरोप छ ?

उद्योगीहरुका समस्या छन् । त्यो मैले राम्रोसँग बुझेको पनि छ । बाणिज्य र उद्योगतर्फका आ–आप्mनै र वेग्लै खाले समस्या छन् । त्यसैले त उद्योग बाणिज्य संघमा बाणिज्यतर्फको प्रतिनिधित्व गरेर बाणिज्य उपाध्यक्ष र उद्योगतर्फको प्रतिनिधित्व गरेर उद्योग उपाध्यक्षको संरचना तयार पारिएको हो ।

यसमा उद्योग उपाध्यक्षले उद्योगीका समस्या, सम्वोधनका उपाय र सम्भावना संघमा ल्याउन सक्नु प¥यो । यदी उहाँ (उपाध्यक्ष) ले ल्याउन सक्नुभएन भने यहाँका थुप्रै प्रतिष्ठित उद्योगीहरु हुनुहुन्छ । उहाँहरुले पनि आफ्ना सवाल संघमा राख्नु पर्छ । म त भन्छु आउनुस् सँगै मिलेर संघलाई अगाडी बढाउ । उद्योगी व्यवसायीका मुद्दालाई साझा बनाउ । जहाँ समस्या देखिन्छ सबै एक बनौं ।

बाँकेको सम्भावनालाई निजी क्षेत्रले कसरी हेरिरहेको छ ?

पश्चिम नेपालको प्राकृतिक सौन्दर्यता, औद्योगिक करिडोर, चीन र भारतको बढ्दो पर्यटकिय उत्साह र आकर्षणलाई क्यास गर्नका लागि नेपालगन्जको पूर्वाधार विकास गर्न जरुरी छ । नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थल बनाउनुको विकल्प छैन् ।

अर्को कुरा जडिबुटी र कृषिको प्रचुर सम्भावना छ । त्यस्मा थोरै भए पनि लगानी बढाउन सकियो भने यहाँका युवाहरुले ठूलो रोजगारी पाउने छन् । अहिले ठूलो सङ्ख्यामा युवाहरु विदेश पलायन भएका छन् ।

हुन त त्यहाँबाट आउने रेमिट्यान्सले देश चलिरहेको छ । मलाई यसमा दुख छ । रेमिट्यान्सले देश चलाइरहदा ति तन्नेरीले विदेशमा पाउने दुख र पीडा कम दर्दनाक छैन् ।

त्यसैले उनीहरुलाई यही स्थापित गरेर व्यवसायीक बनाउन सकियो भने यहाँको कृषि र जडिबुटी उत्पादनले जिल्लाको समग्र विकासमा टेवा पु¥याउने छ भन्ने मलाई लाग्छ ।

तपाईले चुनावी घोषणापत्रमा पनि मिडियाको विकासलाई पनि प्राथमिकता दिनुभएको छ हैन ?

पक्कै पनि हो । अव संघले मिडियासँग संस्थागत सम्वन्ध स्थापित गर्ने छ । व्यवसायी र मिडियाबीच अहिलेसम्म प्रभावकारी समन्वय हुन सकेन् । अव त्यस्लाई संस्थागत रुपमै विकास गर्नका लागि संघले भूमिका निर्वाह गर्नेछ ।

व्यवसायीले व्यवसाय सञ्चालनको प्रचारप्रसारका लागि मिडियासँग समन्वय बढाउन उनीहरुलाई उत्प्रेरित गरिने छ । व्यवसायीले मिडियालाई विज्ञापन दिनु प¥यो । विज्ञापन दिनु भनेको दान दिने भनेको होइन् यो त लगानी बढाउने हो ।

हिन्दीमा एउटा भनाइ छ ‘जो दिख्ता हे ओइ बिक्ता हे ।’ र मिडियाले पनि यहाँको व्यवसायीक विकास र प्रोत्साहनका लागि सकारात्मक पहल थाल्न म आग्रह पनि गर्दछु ।

अन्तमा तपाइको भनाइ के छ ?

मलाई अत्यधिक मतले चुनाव तिजाउनुभएको छ । म खुसी छैन् । म त्यसदिन खुसी हुने छु जव मेरो तीन वर्षीय कार्यकाल सफल हुन्छ । त्यसका लागि सबैसँगको समन्वय, सहकारीलाई म कुनै पनि हालतमा गुमाउन चाहान्न् ।

मुलुक दिन प्रतिदिन कमजोर बन्दा व्यवसायिक नेतृत्व बलियो बन्न आवश्यक छ । सरकार कमजोर हुँदा व्यवसायीहरुले बलियो काँध थाप्न सके मात्र मुलुकको अस्तित्व जोगिन सक्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु ।

यस्लाई दृष्टिगत गरि अवको तीन वर्षीय कार्यकाललाई मैले सफल बनाउनतर्फ अनवरत लागिरहने छु । यसमा सम्पूर्ण व्यवसायी साथिहरु, यहाँका नागरिक समाज, बुद्धिजिवी, सञ्चारकर्मी सबैलाई सहयोगको आग्रह गर्दछु ।