☰ open Loading... 18 May 2024|  

कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो
  | २० भाद्र २०७३, सोमबार १८:१५

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको छ । कोषले मध्यपश्चिमका करिब ५० हजार सञ्चयकर्ताका लागि पहिलो पटक शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको हो ।

मध्यपश्चिममा गत वर्षदेखि लागू गरेको आवास कर्जा कार्यक्रमसँगै कोषले यस वर्ष देखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम लागू गरेको छ । ‘शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रमबाट मपका झण्डै ५० हजार सञ्चयकर्ता प्रत्यक्ष लाभान्वित हुने देखिन्छ,’ कोषका सुर्खेत प्रमुख कृष्णबहादुर जिसीले भने, ‘सञ्चयकर्ताको आवासकर्जाप्रति बढ्दो आकर्षणसँगै हामीले यस आर्थिक वर्षदेखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम ल्याएका हौं ।’

उनले कार्यालयमा शैक्षिक तथा घर मर्मत कर्जा बारे बुझ्न दैनिक पाँच÷छ जना सञ्चय कर्ता कार्यालयमा आउने गरेको जनाए । उनका अनुसार कोषले उच्च शिक्षा अध्ययनका लागि कोषले आठ दशमलव २५ प्रतिशत वार्षिक व्याजदरमा एमवीवीएस, एमडीका लागि बढीमा २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा प्रदान गर्छ ।

अन्य सामान्य विषयको हकमा विदेशका लागि २० लाख तथा स्वदेशमा अध्ययनका लागि १० लाखसम्म शैक्षिक कर्जाको व्यवस्था रहेको प्रमुख जिसी बताउँछन् ।

त्यस्तै जुनुसुकै कारणबाट घर मर्मत सम्भार सवलिकरण, आन्तरिक सजावट, कम्पाउण्ड वाल निर्माण आदी प्रयोजनका लागि घर मर्मत कर्जा लिन सकिने छ । सञ्चयकर्ताले घर मर्मतका लागि सोही घरलाई धितो राखेर बढीमा २५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने छन् ।

पाँच वर्ष बराबरको तलवमान भएका सञ्चयकर्ताले आठ दशमलव २५ प्रतिशत व्याजदरमा घर मर्मत कर्जा लिन सक्ने प्रमुख जिसीले जानकारी दिए । उनले भुकम्प प्रभावित सञ्चयकर्ताको हकमा उक्त प्रचलित दरमा एक प्रतिशत छुट हुने व्यवस्था रहेको बताए ।

उनका अनुसार कोषले लागू गरेको घर साफ्टीको सीमा धिलो मूल्यांकनका आधारमा एक करोड ननाघ्ने गरी नौकरी अवधिको बढीमा पन्ध्र वर्षसम्मको तलवमान बराबर आवास कर्जा लिन सकिन्छ ।

यता नेपाल निजामति कर्मचारी यूनियन संघ सुर्खेतका अध्यक्ष नृपजंङ्ग शाहीले कोषले सुर्खेतमा ल्याएको शैक्षिक तथा घर मर्मत कर्जा सञ्चयकर्ताका लागि स्वागतयोग्य कदम भएको बताए ।

उनले कोषद्वारा सञ्चयकर्ताका लागि उपलब्ध सरलचक्र कर्जा लगायतका अन्य कार्यक्रमहरु समेत मध्यपश्चिममा लागू गर्न पहल गरिनु पर्नेमा जोड दिए ।