☰ open Loading... 20 May 2024|  

ताडीमा तरकारी खेती, ‘८० हजार काइँ जान्या नइँ’
  | २१ भाद्र २०७३, मंगलवार १२:४३

कालीकोट मान्म –९ ताडीका देविराम पाण्डेले गएको सिजनमा एक लाख रुपैयाँको तरकारी विक्रि गरे । केही बर्ष अघिसम्म बारीमा एक मुठी साग उत्पादन नगर्ने उनले तरकारीबाट लाख त के सय रुपैयाँसम्म कमाइ गरिएला भन्न्ने सोचेका थिएनन् ।

‘तरकारी लगाउने चलनै थिएन, मकै कोदो लगाइन्थ्यो मुस्किललले ५ महिना खाना पुग्थ्यो ।’ देविरामले विगत सुनाए । पाण्डेहरुको बाहुल्य रहेको ताडी भैसी पाल्ने र घ्यू बेच्ने समुदायका रुपमा मात्रै चिनिन्थ्यो ।

तर, अहिले यहाँका कृषकका घर–घरमा तरकारी टर्नेल र हात–हातमा कृषि औजार छन् । ताडी पुग्ने जो कोहीलाई लाग्छ अब यहाँ कृषि क्रान्ति हुँदैछ । तरकारी खेतीबाट सिजनामा ८० हजार नकमाउने ताडीका कोही कृषक छैनन् ।

लालीगुराँस ताजा तरकारी उत्पादन कृषक समुहका अध्यक्ष प्रमानन्द पाण्डेले आफ्नो समुहका सदस्यले तरकारी खेतीबाट सिजनमा ८० देखि १ लाख रुपैयाँसम्मको तरकारी विक्री गर्ने गरेको बताए ।

उनले भने, ‘तरकारीबाट ८० हजार काइँ जान्या नइँ ।’ कुनै बेला एक कप चिया खाने पैसा हुन्थेन अध्यक्ष पाण्डेले भने, अहिले बैंकमा पैसा छ चेक काट्यो, मन लागेको खायो मन लागेको लायो ।

कृषक समुहमा पुरुभन्दा महिला सदस्यहरु धेरै छन् । महिलाहरुले कृषि कर्मबाट आफै कमाउने भएपछि उनीहरुमाथी हुने घरेलु हिंसामा कमी आएको छ । ‘हिंसाको जननी भनेकै अभाव हो । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका अनुगमन तथा मूल्याङ्कन विज्ञ कृष्ण थापाले भने, ‘महिलाहरुले तरकारी खेती गरेर कमाउन थालेपछि परिवारको आर्थिक अवस्था मजबुत हुँदै गएको छ ।

जसका कारण घरेलु हिंसामा पनि कमि आएको छ ।’ उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको मूल्य श्रृंखला कोषमार्फत अनुदान पाएपछि कालीकोटका ताडी, दाहाँलगायतका स्थानका कृषकहरुको बार्षिक आम्दानीमा बृद्धि भएको त्यहाँका स्थानीले बताएका छन् । कालीकोट, दाहाँ–२ फूलबारी कृषक समुहकी धर्मकला कार्कीले आफूले तीन रोपनी जग्गामा तरकारी खेती गरेको बताइन् ।

‘तरकारी पैसा फल्ने बोट रहेछ, उनले भनिन्, तरकारी खेती गरेरै समुहका सदस्यहरुले छोरा छोरी काठमाडौं पढाएका छौ ।’ यहाँका कृषकहरुले मुख्यगरी काउली, आलु, टमाटर, बन्दालगायतका तरकारी खेती गर्ने गरेका छन् ।

आयोजनाले कृषकलाई तरकारी उत्पादन गर्न मात्र नभई समुहको बैठक बस्नेदेखि कृषि उत्पादनको बजार व्यवस्थापनसम्म सहयोग गर्ने गरेको फूलबारी कृषि समुहका साक्षरता कक्षा सहजकर्ता धनबहादुर कार्कीले बताए ।

व्यसायीक तरकारी खेती गर्ने कृषक समुहका सदस्यहरुका लागि साक्षरता कक्षा संचालन गरेपछि निरक्षरहरु साक्षर बनेको र उनीहरुले आफूले विक्रि गरेको तरकारीको हरहिसाब राख्ने गरेको सहजकर्ता कार्कीले बताए । बेमौसमे तरकारी उप–आयोजनामार्फत ताडीका २६ र दाहाँका २८ घरपरिवार लाभान्वित भएका छन् ।

kalikot
कालीकोटको ताडी गाउँ । यहाँका अधिकाँशले व्यवसायिक रुपमा तरकारी खेती गरेका छन् ।

आयोजनाले उप–आयोजनामार्फत कृषक समुहरुलाई आर्थिक, प्राविधिक तथा सामाजिक विकासका काममा सहयोग गर्दै आएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका ज्ञान तथा सीप व्यवस्थापन अधिकृत भक्त कार्कीले जानकारी दिए ।

आयोजनाले तरकारी खेतीका लागि सिँचाइ, रोग निधान र बजारीकरणका लागि कृषक समुहमा आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरु परम्परागत खेती छाडेर व्यवसायीक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

सीमान्तकृत समुदायलाई उच्च मूल्य कृषि बस्तु, गैरकाष्ठ वन पैदावार र जडिबुटीका मूल्य श्रृंखलामा आवद्ध गराउँदै बजारीकरण क्षमतामा सुधार ल्याउने र रोजगारीको अवसर सिर्जना गर्ने मुख्य उद्देश्य राखेको आयोजनाले मध्यपश्चिमका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र सुदूरपश्चिमको अछाम जिल्लामा २०६७ देखि कार्य क्षेत्र बनाउँदै आएको छ

। बेमौसमी तरकारी, अदुवा, स्याउ, खसीबोका, टिमुर, बेसार र तरकारीको बीऊ गरी सात वटा क्षेत्रमा आयोजनाले लगानी गर्दै आएको छ ।


साभार काँक्रेविहार दैनिक