☰ open Loading... 10 December 2024|  

बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग
  | २४ भाद्र २०७३, शुक्रबार १८:०७

पर्यटन मन्त्रालयले कैलालीको बुढीतोला क्षेत्रमा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे धुरामा निर्माण गर्न खानीडा“डाका स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

कैलालीकै अग्लो कम्पासे धुरा भ्यू टावरका लागि उपयुक्त भएको भन्दै स्थानीय बासिन्दाले बजेटको सदुपयोगका लागि शुक्रबार स्थानीय विकास अधिकारी केशव प्रसाद बिमलीसंग आग्रह गरेका छन् ।

झण्डै एक हजार सात सय ५१ मिटर उचाई रहेको कम्पासे धुराबाट आकाश खुला भएको अवस्थामा तराईको पुरै क्षेत्र र उत्तरका अधिकांश हिमाल समेत देखिने भएकोले पर्यटन प्रवर्दनका लागि भ्यू टावर कम्पासे धुरामै निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाको भनाई छ ।

पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महराले सरकारी बजेट झारो टार्ने गरी खर्च नगर्न आग्रह गर्दै पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले लगानी हुनुपर्ने बताए ।

अध्यक्ष महराले भ्यू टावर निर्माणका लागि कम्पासे धुरा बाहेक अर्को स्थान उपयुक्त नभएको बताए । स्थानीय विकास अधिकारी बिमलीले केन्द्रबाटै बुढितोलामा भ्यू टावर निर्माणका लागि बजेट आएकोले आफूले मात्र स्थान परिवर्तन गराउन नसक्ने बताए ।

तर स्थान परिवर्तनका लागि पर्यटन मन्त्रालयसंग आग्रह गर्ने स्थानीय विकास अधिकारी बिमलीले प्रतिवद्धता व्यक्त गरे । सरकारले पर्यटन प्रवद्र्धनका लागि ५ वटा विकास क्षेत्रमा भ्यू टावर बनाउन बजेट छुट्याएको छ ।

सुदूरपश्चिममा भ्यू टावर निर्माणका लागि बुढितोला छनौट गरेको पर्यटन मन्त्रालयले पहिलो वर्ष ३५ लाख रुपैया छुट्याए पनि क्रमागत रुपमा एक करोड रुपैया खर्च गर्ने जनाएको छ ।