☰ open Loading... 18 April 2024|  

जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात
  | २६ भाद्र २०७३, आईतवार १३:२५

भारतीय स्याउले उपत्यकाको बजार ढाकिरहेको बेला जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ उपत्यकाको बजारमा भित्रिएको छ ।स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ उपत्यकाका जुम्लाको अर्गानिक स्याउ ल्याई वितरण सुरु गरिएको हो ।

एसडीके एप्पल गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अर्गानिक स्याउ बिक्री–वितरण गरिरहेको छ । एसडीकेले यस वर्ष पनि नेपालीहरूको महान् चाड दसैँ–तिहार तथा छठलाई लक्षित गर्दै अर्गानिक स्याउ भिœयाएको हो ।

apple jumla

नेपालको अर्गानिक सर्टिफाइड, ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफूल पसलहरूबाट प्रतिकिलो १ सय ४० देखि १ सय ६० रुपैयाँमा खरिद गर्न सकिने जानकारी दिइएको छ । शनिबार पत्रकार सम्मेलन गरेर एसडीके एप्पल गार्डेनिङका सञ्चालक दिनेश खड्काले यस्तो जानकारी दिएका हुन् ।

खड्काका अनुसार जुम्लाबाट सिधै उपत्यका ल्याइएका यस्ता स्याउमा कुनै पनि मानव स्वास्थ्यमा हानि पु¥याउने विषादीको प्रयोग गरिएको छैन ।

दानालाई आकर्षक बनाउन कुनै पनि प्रकारका रसायन तथा मैनको प्रयोग नभएको जानकारी गराउँदै खड्काले आफ्नो स्वास्थ्यप्रति सचेत हुन जुम्लाकै स्याउ सेवन गर्न सुझाव दिए ।

एसडीकेले विगत चार वर्षदेखि उपत्यकामा जुम्लाको स्याउ बिक्री गर्दै आएको छ । गत वर्ष मात्र १५ टनको हाराहारीमा स्याउ बिक्री गरेको थियो । गत वर्ष प्रतिकिलो १ सय २० देखि १ सय ५० रुपैयाँमा बिक्री भएको थियो । यस वर्ष भने जुम्लामा लामो सयमसम्म परेको खडेरी र ढुवानीे समस्या, उत्पादनमा आएको कमीले गर्दा उपभोक्ता मूल्य केही बढी भएको खड्काले बताए ।

२०७० सालमा ८ टन स्याउ बिक्री गरेको एसडीकेले प्रत्येक वर्ष व्यापार बढाउँदै गएको छ । त्यसैगरी, २०७१ मा १२ टन र ७२ सालमा १५ टन बिक्री गरेको एसडीकेले यस वर्ष भने १७ टनको हाराहारीमा बिक्री गर्ने लक्ष्य लिएको छ ।

नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ । बजार अभाव, सडक, भण्डारण अभाव तथा व्यावसायिक उत्पादन प्रविधिको अभावको कारण जुम्लाको स्याउ ओझेलमा पर्दै आएको छ ।

जुम्लाबाट ल्याइएको स्याउको बिक्री–वितरण बानेश्वरको ‘अल इन वन सुपरमार्केट’बाट आइतबारबाट बिक्री गरिने र दसैंका लागि सञ्चालन गर्ने सुपथ पसलमा समेत यी स्याउहरू पाउन सकिने खड्काले जानकारी दिएका छन् ।

स्रोत राजधानी दैनिक