☰ open Loading... 5 May 2024|  

५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी
  | २८ भाद्र २०७३, मंगलवार १९:१९

कारगारको क्षमताभन्दा चारगुणा बढी कैदीहरु राख्दा आफूहरुलाई कारागारमा बस्न गाह्रो भएको घोराही कारागारका कैदीहरुले बताएका छन् । ५० जना कैदी बस्ने क्षमता रहेको दाङ जिल्ला कारागारमा हाल १ सय ८३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागारका निमित्त जेलर निमानन्द रिजालले बताएका छन् ।

क्षमताभन्दा बढी कैदीहुँदा उनीहरु विच झगडा समेत हुने गरेको निमित्त जेलर रिजालले बताए । बस्ने कोठाहरुमा बस्न समस्या भएपनि शौचालय र बाथरुमको समस्या नरहेको रिजालको भनाई छ ।

प्रति ब्यक्ति दिनको सातसय ग्राम सिदा (चामल) र प्रतिदिनको ४५ रुपैया रकम कैदीबन्दीहरुले पाउदै आएतापनि त्यो रकम समेत नपाएको गुनासो चौकीदार (नाईके, कैदी) डिपल्प सेनको छ ।

सरकारले १५ वर्षदेखी दिँदै आएको दैनिक ४५ रुपैया भत्तालाई बढाएर कम्तीमा १ सय रुपैयाँसम्म गराईदिए आफूहरुलाई प्रोटीनयुक्त खाना खरिद गर्नमा सहज हुने माग राखे ।

घोराही कारागारमा आफू बसेको ८ वर्ष पुगेको बताएका सेनले आफूहरुको समस्या बुझ्न विभिन्न संघ संस्थाहरुबाट व्यक्तिहरु आएपनि समस्या उस्तै रहेको गुनासो गरे ।

कारागारका कैदीबन्दीहरुलाई खानपानमा सहज र आयस्रोत बढाउने अन्य सीप तथा तालिम दिनु पर्ने माग वसन्त खडकाको छ ।

चाडपर्वहरु नजिकिदै गर्दा आफूहरुले पाउने दैनिक ४५ रुपैयाँ र ७ सय ग्राम सिदा अपुग भएपनि दशैँको समयमा दिईने अतिरिक्त ३ सय रुपैयाँ भत्ताबाट चाडपर्व मनाउने योजना बनाएको प्यूठानका सुरज थापाले बताए ।

घोराही कारागारमा रहेका १८३ जना कैदीहरु मध्ये ६ जना कैदीबन्दीहरु भारतीय नागरिक छन् ।