☰ open Loading... 19 April 2024|  

चार दिने भारत भम्रणमा प्रधानमन्त्री दाहाल आज जादै
  | ३० भाद्र २०७३, बिहीबार ०७:५६

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सुरु हुने आफ्नो भारत भ्रमणमा यसअघि सहमतिमा पुगेका परियोजनाहरूकै प्रभावकारी र शीघ्र कार्यान्वयनमा जोड दिने संसद्लाई जानकारी गराएका छन् । संसद्को बुधबारको बैठकमा भ्रमणबारे जानकारी दिँदै दाहालले नयाँ सहमति र सम्झौता नहुने संकेत गरे। ुहाम्रो प्राथमिकता धेरै विषय उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको वातावरण निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाहरूको प्रभावकारी र शीघ्र कार्यान्वयन गर्नमा जोड दिने हुनेछ,’ दाहालले भने  ।

Nepal's newly elected Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, waves towards the media after he was elected Nepal's 24th prime minister in 26 years, in Kathmandu, Nepal, August 3, 2016. REUTERS/Navesh Chitrakar - RTSKTZ9

हुलाकी मार्गबारे नेपाल र भारतबीच भएको समझदारीपत्रअनुसार पहिलो चरणको निर्माण कार्य शीघ्र थालनी गर्ने विषयलाई प्रमुख प्राथमिकता दिने दाहालले बताए । उनका अनुसार हुलाकी मार्गको दोस्रो चरणको निर्माणका लागि भारतीय सहयोगको सम्भावनाबारे पनि कुराकानी हुनेछ ।

विगतमा भएको ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न पहल हुने पनि प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराए ।

भ्रमणमा मात्र केन्द्रित भएर संसद्मा छोटो सम्बोधन गरेका प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनर्निर्माणमा भारतीय सहयोगबारे पनि आफूले कुरा गर्ने बताए ।

नेपाल-भारत सीमाको वीरगन्जमा एकीकृत चेकपोस्ट निर्माण सम्पन्न गर्ने तथा अन्य विराटनगर, भैरहवा र नेपालगन्जमा समेत निर्माण कार्य सुरु गर्नेबारे दाहालले भारतीय पक्षसँग कुराकानी गर्नेछन् । ‘भारत सरकारका तर्फबाट घोषणा भएको सहुलियत ऋण पूर्वाधारको क्षेत्रमा समेत उपयोग गर्नेबारे विचार विमर्श हुनेछ,’ प्रधानमन्त्री दाहालले भने।

भारतसँग नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा-चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावनाबारे पनि कुराकानी हुने दाहालले उल्लेख गरे । ‘दुई मुलुकबीच सीमापार रेलवे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामलाई चाँडो सम्पन्न गर्ने, सीमा क्षेत्रमा देखिएका डुबानसम्बन्धी समस्या समाधानका लागि गहन छलफल गर्नेसमेत यस भ्रमणका विषयहरू छन्,’ उनले भने ।

नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरोका बीच सहयोगसम्बन्धी समझदारीपत्र, विशाखापटनम बन्दरगाहबाट नेपालका नाकासम्म रेलसेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेलसेवा सम्झौतालाई संशोधन गर्नेसम्बन्धी पत्रहरू आदानप्रदान पनि गरिने उनले संसद्मा बताए ।

नेपालले प्रस्तुत गर्ने तयारी गरेका विषय एवं भारतीय पक्षबाट आउने प्रस्तावका सम्बन्धमा मुलुकको सर्वोत्तम हित हुने गरी छलफल, विचारविमर्श एवं समझदारी हुने प्रतिबद्धता प्रधानमन्त्री दाहालको थियो ।

‘भ्रमणबाट दुई देशबीच विश्वास अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक, सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवं सहमतिलगायत चालु परियोजनाहरूको सफल कार्यान्वयन गर्न एवं सहयोगका नयाँ क्षेत्रहरू पहिचान गर्नेतर्फ महत्त्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले भने ।

चारदिने भ्रमणका क्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य मन्त्रीहरूसँग छलफल गर्ने प्रधानमन्त्री दाहालले जानकारी दिए । भ्रमण अवधिमा उनले हिमाञ्चल प्रदेशस्थित नाथपा झाँक्री जलविद्युत् आयोजना अवलोकन गर्नँका साथै त्यहाँका औद्योगिक उत्पादन इकाईहरू निरीक्षण गर्नेछन्।

स्रोत कान्तिपुर