☰ open Loading... 20 April 2024|  

छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी
  | ३१ भाद्र २०७३, शुक्रबार ०७:३५

प्रधानमन्त्री लगायतको १२५ सदस्यीय भ्रमणदल भारतको राजकीय भ्रमणमा रहँदा यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा हतियार सहित आएका भारतीय प्रहरीहरुले यस क्षेत्रमा रहेका नेपाली जनताको घरघरमा छापामार शैलीमा प्रबेश गरी आतंक मच्चाएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं. १४ को भुडा गाउँमा भारतीय प्रहरीले बिहिबार अबेर साँझपख घरघरमा छापा मारेर आतंक मचाएको हो ।

भारतीय प्रहरी हतियार सहित नेपाली जनताको घरमा पस्दा उक्त क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । भारतीय प्रहरीको ज्यादतीको प्रतिकार गर्दै स्थानीयहरुले नेपाल प्रहरीको भुडा चौकीमा खबर गरी पक्राउ गरिएको भुडाका स्थानीय गणेश थापाले बताए ।

हतियार सहित यसरी अर्काको देशमा जान नपाइने भएपनि भारतीय प्रहरीले पटक–पटक यस्ता गतिविधि गरिरहेको छ । भारतमा चोरी गरी फरार हुँदै गरेको भारतीय नागरिक नेपाली भूमि प्रवेश गर्दा चोरलाई समाउने दाउमा आफुहरु हतियार सहित नेपाली भूमिमा प्रवेश गरेको पक्राउ परेका भारतीय प्रहरीले बताएका छन् ।

अब उनीहरुलाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी प्रमुख तुलसी प्रसाद अधिकारीले जिल्ला पठाउनु भनेको र सोही बमोजिम प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गेन्द्र बोगटीले बताए ।
स्रोत ः सिधा रेखा