☰ open Loading... 17 April 2024|  

कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?
  | ३१ भाद्र २०७३, शुक्रबार १८:४८

किन ठहरिएए उनी उत्कृष्ट ?

खडानन्द न्यौपाने १९ वर्षदेखि हुम्लामा कार्यरत छन् । त्यसमा पनि १५ वर्षदेखि सदरमुकाम सिमकोटबाट उत्तर स्याँडा गाविस उनको कार्यक्षेत्र हो । त्यहाँको स्थानीयका भरपर्दा ‘डाक्टर’ मात्रै होइनन्, जिल्ला स्वास्थ्य कार्यालयका पनि गाह्रो–अप्ठ्याराको एक्ला सिपाही हुन् ।

जिल्लाको जुन कुनामा अप्ठ्यारो पर्छ, अनुभवी स्वास्थ्यकर्मी आवश्यक हुन्छ, खडानन्दको नाम एक नम्बरमै आउँछ । हुम्ला जस्तो विकट जिल्लामा त्यस्तो अप्ठ्यारो पनि आइरहन्छ ।

उनको कामको मूल्यांकन हुम्ला टेक्दा नै भइसकेको थियो । त्यसैले उनलाई प्रमुख जिल्ला अधिकारीले सदरमुकामनजिकै उनलाई पोष्टिङ गर्न लगाएका रहेछन् । ‘न्यौपाने भाई ट्यालेन्ट छ । केही पर्दा तुरुन्तै काम लगाउनुपर्छ । नजिककै स्वास्थ्यचौकी पोष्टिङ गर्नु भन्नुभएको रहेछ,’ उनी सम्झिन्छन् ।

kahdanan
सुरुमा उनी लालीमा गाविसमा पोष्टिङ भए र पछि स्याँडामा । तर, जिल्लाका सबै गाउँटोल पुगिसकेका छन् । उनी भन्छन्, ‘जिल्लाका सबै क्षेत्रमा खोप र अन्य कार्यक्रमका लागि गएको छु । जिल्लाले पठाएको काममा नाइँनास्ति गर्न सक्दिनँ । जहाँ पुगेपनि सेवा नै दिने हो ।’

जाजरकोटको चैयादरा अर्छानी गाउँमा जन्मेपनि उनी बर्दियाको महमदपुरमा हुर्केका हुन् । उनी १० वर्षमै टुहुरा भए । जसोतसो २०३५ सालमा बर्दिया गुलरियाको लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरे ।

२०३६ सालमा सरकारी जागीरको शुरुवात गरिसकेका थिए, नेपाल औंलो उन्मुलन कार्यक्रममार्फत् । उक्त कार्यक्रम अन्तर्गत बर्दियाका गाउँटोल घुमे । २०३६ साल माघ २० देखि २०३९ माघ २७ गतेसम्म बर्दियाका विभिन्न ठाउँमा काम गरेपछि कैलाली सरुवा भए । त्यसपछि २०४६ सालमा ग्रामीण स्वास्थ्य कार्यकर्ता भए ।

कैलालीको मुनुहा स्वास्थ्य चौकीमा उनको पोष्टिङ भयो । उनले त्यहाँ गरिरहेको कामबाट स्थानीय प्रभावित थिए । तर २०५४ मा उनको सरुवा एक्कासी हुम्लामा भयो । हुम्लामा उनकै साथीका कारण सरुवा हुनुप¥यो । राजनीतिक पहुँच भएका उनका साथीले आफ्नो सट्टामा हुम्ला सरुवा गरेर कैलाली बसे ।

तर स्थानीयले उनी सरुवा भएको रुचाएनन् । धर्ना दिए, स्थानीयको आक्रोश कम भएपछि ६ महिनापछि उनी त्यहाँबाट हुम्ला रमाना भएका हुन् ।

यसले उनलाई एक हदसम्म हतोत्साही बनाएको थियो । किनभने राम्रो काम गर्नेलाई पहुँच हुनेले उछिन्ने रहेछ भनेर उनी निराश भए । उनी भन्छन्, ‘जागीर नै छाड्ने सोचसम्म बनेको थियो । घरपरिवारले पनि त्यत्रो टाढा नजान भनेर रोएका थिए ।’

जहाँ पुगेपनि सेवा गर्ने भन्ने भावनाले उछिन्यो । उनी २०५५ असोज ३० मा हुम्ला पुगेका थिए । ३१ गते हुम्लामा गीत प्रतियोगिता थियो । त्यसमा उनले दुईटा स्वास्थ्य तथा सरसफाइका गीत गाए ।

सबैले उक्त गितको प्रसंशा गरेर उनलाई सम्मान गरे । त्यसपछि उनको मनमा हुम्लाप्रति आत्मीयता बढ्यो । भन्छन्, ‘सुरुमै हुम्लाले मलाई सम्मान ग¥यो । म पनि केही गरेरै जान्छु हुम्लाका लागि भन्ने सोच लिएँ ।’

उनले हुम्ला जानुभन्दा केही समयअघि मात्रै विवाह गरेका थिए । सुरुका तीन महिना उनलाई हुम्लामा बिताउन सकस भयो । ‘हुम्लामा त्यतिखेर डा। दानबहादुर बैदार स्वास्थ्य कार्यालय प्रमुख हुनुहुन्थ्यो ।

उहाँले मेरो मर्का बुझेर तीन महिनापछि घर पठाउनुभयो । त्यसपछि म १८ महिना, २ वर्षमा घर गएँ भने पछि ४ वर्षमा मात्रै घर गएँ ।’ अहिले त उनको घरभन्दा प्रिय भएको छ, हुम्ला । पछि मलाई लाग्यो, ‘मेरो घरमा त केही भयो भने नजिकै स्वास्थ्य संस्था छन् । स्वास्थ्यकर्मी छन् । यहाँका बासिन्दाका लागि म बाहेक को छ र रु छाडेर जानुहुँदैन ।’

कैलाली बसेर उनले दुईटा सीप राम्ररी जानेका थिए । एउटा प्रसूति गराउन र अर्को खोप लगाउन । हुम्लामा उनलाई लोकप्रिय बन्न सुरुमा यिनै दुई सीपले सघायो ।

‘असुरक्षित सुत्केरी गराउने समाजमा धेरै त साल अड्केपछि मलाई बोलाउँथे । त्यो निकाल्न जानेको थिएँ । खोप लगाउने काम पनि धेरै गरेकाले अरुले जस्तो मैल दुखाउन्न भनेर गाउँलेहरु भन्थे,’ उनले भने ।

दुर्गम सेवा गर्नुका अनेक दुःख छन् । एकपल्ट उनी जीवनमरणको दोसाँधमा पुगेर फर्किए । २०५८ पुस ६ गते उनी स्याँडा भन्ने ठाउँबाट खोल्सीमा खोप कार्यक्रमका लागि भ्याक्सीन बोकेर जाँदै थिए ।

बिहान ६ बजे हिँडेको उनी केही पर मात्रै पुगेका थिए, अप्ठ्यारो बाटोमा चिप्लिए । गहिरो चोट लाग्यो । उनी एक घन्टा सुतेको सुत्यै भए । दिसापिसाबबाट रगत बग्यो । तर हार मानेनन् । गएर खोप लगाए ।

जब खोप कार्यक्रम गरेर सुतेका थिए, ज्वरोले उनी उठ्नै सकेनन् । स्थानीयले बोकेर जिल्ला अस्पताल पु¥याए । उपचारपछि स्वास्थ्यचौकी फर्किए । तत्कालका लागि दुखाइ सहेपनि सोही चोट दुई वर्षपछि बल्झिएर गम्भीर बिरामी परे । नेपालगञ्ज हुँदै काठमाडौं रिफर गरियो ।

काठमाडौंबाट भारत पठाइयो भारत पुगेपछि पत्ता लाग्यो, स्पाइनलमा लागेको चोटेल स्पाइनल टिबि गराएको रहेछ । उनले सम्झे, ‘डाक्टरले यो निको नहुन पनि सक्छ भन्दा निकै मन रोएको थियो ।

सँगै गएका बहिनीज्वाइँले लखनउको अर्को अस्पतालमा पु¥याए । उनीहरुले प्रयास गर्छौं भनेर उपचार सुरु गरे । अस्पताल भर्ना गरेको १६ दिन पछि केही सुधार भयो ।’

कम्मरदेखि माथि घाँटीसम्मको स्पाइनलमा जमेको पिप निकालेर प्लाष्टर गरियो । तीन महिना पूरा बेड रेस्ट गरेपछि उनी सञ्चो भए । फेरि हुम्ला फर्किए । पूरा निको हुन ७ वर्ष लाग्यो । उनको १२ लाख रुपैयाँ उपचारमा सकियो ।

ईश्वरप्रतिको आस्थाले आफूलाई सेवाका लागि उक्साउने बताउँछन् उनी भन्छन् । ‘मलाई देवीदेवताको मन्दिर धाउनुभन्दा सेवा नपाएकालाई सेवा दिनुमा ईश्वर खुशी हुन्छन् जस्तो लाग्छ ।’

उनी कार्यरत ठाउँका मान्छेको आत्मीयताले पनि उनलाई सेवा गर्न उक्साइरहेको हुन्छ । भन्छन्, ‘स्याँडा स्वास्थ्यचौकी मेरै घर र स्याँडाका वासिन्दा आप्mनै परिवार जस्तो लाग्छन् ।’ स्याँडा बासिन्दाले पनि उनलाई कहिल्यै पर पुग्न दिएनन् । आप्mनो खेतबारीमा फलेको अन्न र फल सबभन्दा पहिले उनलाई नै ल्याएर दिन्छन् । एक–दुई महिनाको लामो तालिम वा बिदामा आउँदा जाँदा भव्य बिदाई र स्वागत हुन्छ उनको ।

उनलाई त्यतिबेला लाग्छ, ‘संसारमा सबथोक पाइएला । यस्तो आत्मीयता र निस्वार्थ माया कहीँ पाइँदैन । जुन स्याँडाबासीले मलाई दिएका छन् ।’

अहिले स्याँडा जिल्ला अस्पतालपछि सबैभन्दा व्यवस्थित स्वास्थ्य संस्था हो । सदरमुकाम बाहिरको पहिलो पूर्ण खोपयुक्त गाविस पनि घोषण भयो भर्खरै । तर उनी सुरुमा स्वास्थ्य चौकीमा जाँदा केही पनि थिएन ।

खुला आकाशमुनि उनले काम गर्न थालेका हुन् । त्यहाँ पुग्दा उनको काम देखेपछि क्यानडा बस्ने अंगबहादुर लामाले स्वास्थ्य चौकी भवन बनाइदिए । अहिले स्याँडा स्वास्थ्य चौकीमा २ तले पाँच कोठाको भवन छ । फर्निचर देखि सबै कुरा व्यवस्थित छन् ।

उनी हुम्लाबाट कहिल्यै दुःखी भएनन् । अझै १० वर्ष यहीँ बसेर सेवा दिन सक्ने आँट रहेको बताउँछन् । ‘हुम्लाको जहाँ पुगेर सेवा दिनुपरे पनि म तयार छु,’ उनी भन्छन् ।

उनकै कति सहकर्मीले उनलाई हौसला थप्छन्– तपाईंको काम राम्रो छ भन्दै । कतिले निरुत्साहित बनाउँछन्– यत्रो दुःखो गरेर तपाईंले के पाउनुहुन्छ रु उनी भने सन्तुष्ट छन् र भन्छन्, ‘सरकारले दिनुपर्ने सेवासुविधा दिएकै छ । तालिम गोष्ठीमा बोलाएकै छ । कामको प्रशंसा भएकै छ । राम्रो काम गरेवापत सम्मान पनि गरेको छ ।’
स्रोत ः स्वास्थ्य खवर