☰ open Loading... 17 May 2024|  

बढ्दो महंगीमा किन मुल्य पाएन प्याजले ?
  | ४ आश्विन २०७३, मंगलवार १९:१७

मौसमी तथा बेमौसमी तरकारीका लागी प्रख्यात जिल्ला सल्यान हो । सल्यानमा विभिन्न किसिमका ताजा र स्वच्छ तरकारी उत्पादन हुन्छ ।
तर किसानहरुले उत्पादन गरेको बस्तुले बजार पाउन नपाउँदा कृषकहरु मर्कामा छन् । जिल्लाको देवस्थल गाविस १ नाम्रामा उत्पादित प्याजले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।

नाम्रामा उत्पादन भएको प्याज बिक्रि नभएपछि घरमै थन्किएको किसानको गुनासो छ । नाम्राका ५० घरधुरीले प्याज खेती गरेका थिए । वैशाख अन्तिम साता खनिएको १५० क्वीन्टल प्याजमध्ये ६० क्वीन्टल प्याज बिक्री नहुँदा पाँच महिनादेखि घरमै थन्किएको किसानको भनाई छ ।
यातायातको सुविधा नहुदाँ र नजिकै बजार नभएका कारण कम मुल्यमा दिँदा पनि उत्पादित प्याज बिक्रि हुन नसकेको स्थानिय रामप्रसाद शर्माले बताए ।

मेहनत अनुसारको मुल्य नपाउदा किसानहरु निराश भएका छन् । छिमेकी जिल्ला सुर्खेतको राकम, काप्रचौर, आग्रीगाउँ, घोरेटा, बजेटिचौर र जाजरकोटका केहि ठाउँमा डुलाएर प्याज बिक्री गरेको कृषक बिरबल पोखरेलले जानकारी दिए ।