☰ open Loading... 21 June 2024|  

बाजुरा नाम रहनुका रोचक प्रशंग
  | ६ आश्विन २०७३, बिहीबार १३:१५

बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो । बाजुरा जिल्लाको क्षेत्रफल दुई हजार एक सय ८८ वर्ग कि.मि. रहेको छ ।

यो जिल्ला प्रशासनिक हिसाबले २७ गाविसमा विभाजन भएको बाजुराको सदरमुकाम मार्तडी हो । नेपाल एकिकरण हुनुभन्दा अगाडी अर्थात २०१८ साल भन्दा अघि बाजुरा डोटी गौँडाको भूगोलमा पर्दथ्यो ।

त्यसबेला अछाम, बझाङ, बाजुरा र डोटी एउटै जिल्लामा रहेको थियो । यसको सदरमुकाम अर्थात प्रशासनिक केन्द्र डोटीको सिलगढीमा रहेको थियो । जसलाई डोटी गौँडा भन्ने गरिन्थो ।

बाजुराको नामको बारेमा रोचक प्रशगं जोडिएको छ । बाजुरा जिल्ला कुनैबेला सिजां हालको जुम्लाको अधिनमा थियो । त्यसबेला केन्द्रीय शासन सिजा हालको जुम्लाबाट संचालन गरिएतापनि शासकका प्रतिनिधिहरु बाजुरा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे ।

उक्त सहायक दरबारलाई ‘कोट’ भनिन्थ्यो । तत्कालिन सिंहदरबारका राजाको आदेश अनुसार बाजुरा दरबारबाट वाज चरा समातेर पठाउनु पर्दथ्यो । वाजलाई पासोमा हालेर समातिन्थ्यो । भाले बाजंलाई शाही वाज र पोथी वाजलाई झुर्रा वाज भनिन्थ्यो ।

martadi-bajura

एक पटक सिंहदरबारमा वाज पठाउन पासो थाप्दा पासोमा शाही वाज न परि झुर्रा वाज पर्न गएछ । शाहीवाज पासोमा पार्न नसकि झुर्रावाज मात्र परेको खबर सहित झुर्रावाज सिंहदरबारमा पठाएछन ।

राजाले शाहिवाजको चाहना गरेको तर झुर्रावाज प्राप्त भएकोले यस ठाउँको नाम त्यहि पोथीवाजको नाम ‘झु र्रावाज’ लाई उल्टोबाट बाझुर्राकोट राखेछन । त्यहि बाझुर्राकोट पछि अपभ्रश हुदै बाजुरीकोट हुन गएछ ।

बोल्ने क्रममा अपभ्रशं हुदै बाजुरीकोटको नामबाट बाजुरा रहेको किंवदन्ति पाइन्छ । अर्को भनाई अनुसार यो ठांउमा ‘बाजुगार्ड’ भन्ने नदीको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि बाजुरामा सुन्ने गरिन्छ ।

बाजुरा जिल्लाको सिमाना पूर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला, दक्षिणमा अछाम र कालिकोट जिल्ला पर्दछन् । यो जिल्लाको क्षेत्रफल २१८८ वर्ग किलोमिटर वा २१८८०० हेक्टर रहेको छ ।

भौगोलिक रुपमा यो जिल्ला हिमाली क्षेत्रमा १३.५५, उच्च पहाडि क्षेत्र –८४.७५ मध्य पहाडि क्षेत्र १.७५ रहेको छ । यो जिल्ला समुन्द्री सतहबाट न्युनतम ७२६ मीटर ईकडि गार्डदेखि अधिकतम ७०३६ मिटर हंशिरेलेख सम्म उचाई बाजुरा जिल्लाको क्षेत्रफल फैलिएको छ । बाजुरा जलसंपदाको धनी जिल्ला हो ।

यो जिल्लामा प्रमुख नदिहरु कर्णाली नदि, बुढिगंगा, मालागाड, बार्जुगाड, कोदिगाड, दानसाग, कवाडि, इकडिगार्ड आदि पर्दछन । भने प्रमुख तालहरु खप्तड ताल, छेडेदह, बुढिनन्दा देवीको पवित्र स्थलमा रहेका ७ वटा ताल रहेका छन ।

बाजुरा जिल्लामा अर्ध उष्ण समशितोष्ण शितोष्ण र ठण्डा शितोष्ण गरी चार प्रकारका हावापानी रहेको छ । यो जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा बुढिनन्दा देवी, मालिका, नाटेश्वरी, खप्तड, छेडेदह जस्ता नामका धार्मीक सम्पदा रहेका छन ।

सदरमुकाम मार्तडीमै रहेको कालाजग्रा चट्टान भित्रको अनौठो ताल गुफा भित्र रहेको छ । सदरमुकाम बजार देखि चार घण्टाको ठाडो उकालोमा पुगीने कालाजग्रा चट्टान भित्रको ताल ठूलो पहाडको चट्टाको गुफाभित्र ताल रहेको भएपनि प्रचार प्रशार नहुदा ओझेलमा परेको छ ।

ठूलो चट्टान चारैतिर सल्लाका रुखको जंगल भएकाले यो ताल सुनसान रहेको छ । कालाजग्राको पहाडको चुचुरो बर्षको ९–१० महिना हिउले ढपक्क ढाकेर सेताम्वे बनेको हुन्छ । कालाजग्राको चुचुरोबाट अछाम कालिकोट बझा‘ङको सैपाल हिमाल, मुगुको रारा ताल,मात्र होइन जिल्लाका बढिमालिका, बुढिनन्दा लगाएतका मनमोहक रमणीय स्थानको दृष्याअवलोकन गर्न सकिन्छ ।

तालमा गएर नुहायो भने पवित्र हुने धार्मिक विश्वास पनि रहि आएको छ । बाहिरी रुपमा हेर्दा डरलाग्दो ठाउँ भएपनि १ सय ५२ जातका जडिबुटी तथा विभिन्न फुलहरुको आनन्दमय बास्ना पाइने यस क्षेत्रमा जाने मानिसहरुलाई छुट्टै आनन्द आउने गर्दछ ।

यस क्षेत्रमा विचित्र किसिमका ढुङगाहरु, औषधिका रुपमा प्रयोग हुने पाच औंले, कटुकी, गुच्ची च्याउ, चिराइतो, तेजपात, टिमुर, पदमचाल,जटामसी, लगायतका महत्वपुर्ण जडीबुटी तालको वरपरको जंगलमा पाउन सकिन्छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला जति दूर्गम छ, त्यति नै सुन्दर पनि । यहाँ पर्यटकीय सम्भावना बोकेका अथाह प्राकृतिक सम्पदा छन् । भौगोलिकरुपमा विकट भएपनि बाजुरामा रहेका पर्यटकीयस्थल रमणिय छन् ।

बाजुरा पुग्न कठिन यात्रालाई यहाँका सुन्दर प्राकृति सम्पदाले चटक्कै बिर्साइदिन सक्छन् । बाजुरामा नागबेली भएर बग्ने कर्णाली नदी, बुढिगंगा, मालागाड, बार्जुगाड, कोदिर्गाड, दानसागु, कवाडी, ईकडिगार्डले त्यहाँ पुग्ने जो कसैलाई मोहित बनाए राख्न सक्छन् ।

बाजुरामा खप्तड ताल, छेडेदह, बुढिनन्दा ताल र कालाजग्रा गुफातालले प्राकृतिक मात्र नभएर धार्मिक महत्व पनि बोकेका छन् । बडिमालिका, बुढिनन्दा, नाटेश्वरी, बडालेख, सुनन्दा, स्वामी कार्तिक र दुनालेख लगायतका धार्मिक स्थलले बाजुरा पुग्ने मानिसहरुलाई भ्रमण गर्ने स्थल भएको छ ।

बजुरा जिल्लामा रहेका धेरै तालहरु धार्मीक प्रशंगसंग जोडिएका छन । ताल प्राकृतिक सौन्दर्यता संग पनि जोडिएको हुन्छ । जिल्लामा रहेका ताल तलैयाहरुले बाजुराको महत्व बढाएको छ । हाल सम्म नेपालमा हिमाली भाग देखि तराईका मैदानी भाग सम्म ८ सय ९१ वटा सिमसार ताल ,तलैया, पोखरी र दहहरु भेटिएको छ ।

प्राकृतीक र मानव निर्मित गरेर दर्जनौ तालहरु रहेका छन । प्रकृतीमा रहेका ताल तलैयाले वातावरण लाई अनुकुल बनाई राखेको हुन्छ । नेपालमा सिमसार ताल हिमाली क्षेत्रमा ४०३ अर्थात ४३५ रहेको छ । त्यसै गरी मध्य पहाडी क्षेत्रमा १८२ अर्थात २० ५ छ । तराइमा १२१ र सिवालिक क्षैत्रमा ३२ वटा सिमसार ताल रहेको छ ।

दलदल प्रांगरिक माटो भएको जमिन वा पानी सहितको प्राकृतीक वा कृत्रिम ६ मिटर भन्दा कम गहिराई भएको स्थान लाई सिमसार भनिन्छ । पानी कहिल्य नसुक्ने धाप, दलदल, सिम, घोल, ताल, तलाउ, पोखरी दह, वाढक्षेत्र, जलाशयकुण्ड जस्ता क्षेत्रलाई पनि सिमसार भन्ने गरिन्छ ।

अहिले नेपालका ४० वटा हिमताल खतरामा परेका छन । ती मध्ये पनि २० वटा ताल फुट्ने अवस्थामा पुगेका छन । प्रकृतीमा भएका ताल तलैयाहरु लाई संरक्षण गर्न सकिएन भने त्यसको परिणाम विग्रदै जाने गर्दछ । ताल तलैयाहरु ले प्रकृतिलाई वातावरण अनुकुल बनाएको हुन्छ । बाजुरा जिल्लामा रहेका ताल तलैयाहरुलाई संरक्षण गरी राख्न जरुरी छ ।

देशकै दोस्रोे अग्लो करिब १६ हजार फिटमा कोल्टी गाबिसमा रहेकोे बुढिनन्दा ताल बाजुराको अर्को सुन्दर सम्पदा हो । धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले भरिएको यो तालबारे देशका अन्य स्थानबाट समेत चासो व्यक्त हुन थालेको छ ।

बुढीनन्दा ताल देवीको मन्दिरसगै चट्टानको बीचमा रहेको छ । यो ताल वरीपरी अरु ९ वटा ताल छन् । मुख्य ताल समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटरमा छ । बुढीनन्दा अवलोकनका लागि साउन–भदौ उपयुक्त महिना मानिन्छ । जनैपूर्णिमामा त्यहाँ भब्य मेला लाग्छ ।

कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडी देखि चार दिन पैदल हिड्नुपर्छ । बझाङग, बाजुरा, हुम्ला, जुम्ला लगायत भारतको कुमाउ गडवालबाट समेत दर्शनार्थी आउने भएकाले यस क्षेत्रको संरक्षण र विकासमा राज्यले ध्यान दिनुपर्ने खाँचो छ । त्यसैगरी बाजुराकै अर्को चर्चित स्थान बडिमालिका हो ।

कैलाशमाडौं गाविसमा पर्ने मालिका क्षेत्र धार्मिक धरोहरमात्र नभएर वन्यजन्तु र पक्षी तथा जडिबुटीको समेत भण्डार हो । सुदूरपश्चिमकै चर्चित बडिमालीकाको चुचुरो समेत धार्मिक एवम् पर्यटकीय दृष्टिले यो स्थल महत्वपूर्ण रहेको छ ।

बाजुराको प्रख्यात छेडेदहमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चारैतिर घना जंगल बीचमा खापर देवताको मन्दिर छ । यो दह आटीचौर, गुदुखाती र डोगडी गाविसको सीमानामा छ । रारा ताल र खप्तड क्षेत्र घुम्न जाने पर्यटकहरुको बाटो पनि सो क्षेत्रबाट पर्ने भएकाले तालको महत्व पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

बाजुरामा यस्ता सम्पदा दर्जनौ छन । तर संरक्षण हुन नसक्दा पुराना मठ–मन्दिर, दरबार तथा ऐतिहासिक सम्पदा लोपहुदै गएका छन । बाजुराको गोत्री गाविस–४ को काँडाकोटमा करिब १९ सय बर्ष अगाडि मल्ल राजाको पालामा स्थापना गरिएको काँडाकोट दरबारको भग्नावशेष को रुपमा छ ।

संरक्षणको अभावमा पुरातात्विकक्षेत्र बाजुरामा जोखिममा पर्दै गएको छ । मानव बस्ती भन्दा टाढाका मठमन्दिर, पुराना दरबार र जगलमा रहेका महत्वपूर्ण मूर्ति हराउन थालेपछि सम्पदा संकटमा परेका छन् ।

जाडो छल्न बाजुराका उत्तरी क्षेत्रका मानिसहरु औल क्षेत्रमा झर्ने गर्दछन । बेसी अर्थात गर्मीहुने स्थानलाई सुदुरपश्चिममा औल भन्ने गरिन्छ । बाजुराका पूर्वोत्तर हिमाली भेगका बासिन्दाहरु गर्मी औल र गर्मी सकिएपछि गाउँ फर्कने क्रम सुरु हुन्छ ।

हिमाली भेगका बासिन्दाहरु हिउद याम सुरुभएसँगै घरपविार सहित भेडा, च्यांग्रा र बस्तुभाउँ लिएर जाडो छल्न प्रत्येक बर्ष औल क्षेत्रमा झर्ने गर्दछन् । अछामको साँफेदेखी बाजुराको कोल्टी क्षेत्रमा औलक्षेत्र मानिन्छ । बाजुराको मार्तडी, पाण्डुसैन, कोल्टी, कोटिला, बाँधु र बिच्छयाँ गरी ६ गाविसमा भोटे समुदायको बसोबास रहेको छ । मंसिर तेस्रो साताबाट बेंसी झर्ने क्रम भोटेजातीका समुदायमा हुन्छ ।

बाजुरा धार्मीक सस्कृतिको धनि जिल्ला हो । बाजुरामा विशेषगरी गौरा पुजाको महत्व मानिन्छ । गौरा पुजाको लागी देश विदेशमा गएका मानिसहरु पनि गाउँमा फर्किने क्रमपनि हुन्छ । प्रत्यक भाद्र कृष्ण पञ्चमीका दिन घरमा राखिएको गौरा सप्तमीमा मन्दिरमा भित्रयाइएपछि गौरा पर्व सुरु हुन्छ ।

श्रद्धालुले गौरालाई पूजा गरेर ब्रत पनि बस्ने गर्दछन् । गहुँ , केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाएर राखेको अन्नको सम मिश्रण बिरुडालाई भक्तजनहरुले गौराको प्रतिमाका रुपमा पूजाआजा गर्छन् ।

शिव र पार्वतीको प्रतिकका रुपमा गौरा र महेश्वरलाई पूजा गरी धार्मिक बिधि अनुसार गौरा पर्व मनाइन्छ । गौराको पूजा गर्दा मनोकाँक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । गौराको पूजा सकिएपछि बाजागाजासहित नाचगान, देउडा, चैत, हुड्केउली, धमारीलगायत खेल खेलिन्छ ।

बाजुरा जिल्लामा बडिमालिकामा भगवतीको मन्दिर प्रख्यात मानिन्छ । यहाँ प्रत्यक बर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरुले पूजा गर्छन् । यि मध्य १ जना कालिकोट जिल्लाबाट आउँछन् भने अर्को १ जना बाजुरा जिल्लाका पूजारी छन् ।

पौराणिक कथा अनुशार दक्षप्रजापतिले यज्ञ गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्षप्रजापतीको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्षप्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने,मसान घाटमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरिरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा नसुहाउने भएकाले नबोलाएको भनि उत्तर दिए ।

आफ्ना पतिको यस्तो अपमान सहन नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर शिवगणहरुलाई पठाए । दक्षलाई मारी दक्षको यज्ञ तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले ।

यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अंगहरु पतन हुँदै खस्न थाले । जहाँ सतिका अंग पतन भए त्यहाँ एक एकवटा सिद्व पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी पर्वमा सतिको बायाँ कुम पतन भयो ।

त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । यहाँ मल्लिका अथवा मालिका देवीको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको किम्वदन्ती रहेको छ ।

बाजुराको सदरमुकाम मार्तडी जोड्न अछामको साफेबाट २०५२ मा निर्माण शुरु भएको ५७ किलोमिटर साफे–मार्तडी सडक अझै पक्की भएको छैन ।

अछाम जिल्लाको साफेबाट २९ किलोमिटर कालोपत्रे गरिएतापनि अन्य भाग मंसीरदेखि जेठसम्म मात्र यातायात साधन चल्ने सडक भएको छ । सडक यातायातले ग्रामीण क्षेत्रको अधिकांश गाउँमा पुग्न बाजुरामा बाकी छ । जस्ले गर्दा प्रत्येक बर्ष खाद्यान्नको सकंट हुदै आएको छ । समग्र भौतिक विकास सडक, पानी र बिजुली संग जोडिएकोले बाजुरा बिकासमा पछाडी परेको छ ।

तर पल्लिो समयमा बाजुरामा सडक, विजुली र खानेपानीको विकासमा अगाडी आउन थालेको छ । बाजुरामा अहिले ग्रामिणक्षेत्रमा समेत व्यपारिक महत्वका केन्द्रहरुको बिस्तार भएको छ । सदरमुकाम मार्तडी बजार बाहेक कोल्टी बजार, शेरा बजार, ढाव बजार, कुल्देवमाण्डौ बजार आदि ग्रामीण बस्तीहरुमा वजारको विस्तार भएको छ ।

अछाम र बाजुरा जिल्ला भएर बग्ने पश्चिमबुढीगंगा र इक्डीनदीको दोभानमा निर्माण हुन लागेको २० मेघावाट क्षमताको बुढीगंगा जलविद्युत परियोजना शुरु हुने भएको छ । परियोजना सन् २०१९ मा सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । बुढीगंगाबाट विद्युत उत्पादनका लागि पाँच दशमलव छ किलोमिटर लामो सुरुङ र २५ मिटर अग्लो बाँध बाँधिने भएको छ ।

लेखक मसालको ब्लगबाट साभार गरिएको हो ।