☰ open Loading... 17 April 2024|  

उमेरले छेकेन आमाहरुको पढ्ने रहर
  | १० आश्विन २०७३, सोमबार १७:०७

भन्छन्, ‘नपढे पो लाज, पढ्न के को शरम ?’

गंगा ऐडी जब औला भाँचेर आफ्नो उमेर गन्न थाल्छिन् तब उनलाई लाग्छ, ‘अहो म त डाँडामाथिको घाम पो भएछु ।’
६० वर्ष पुगिन् गंगा । ‘उमेरले तीन बिस पो छोइसकेछ’ आफूलाई वृद्ध अवस्थाले छोइसकेको अनुभूत हुन्छ उनलाई । तर उनै ‘डाँडामाथिकी घाम’ झोलाभरी किताब बोकेर भर्खर विद्यालय धाउन थालेकी छिन् ।

aamaharu

उबेला पढ्न पाइनन् । सानैमा विवाह भयो । छोराहरु जन्मिए । घर व्यवहार सम्हाल्नुपर्यो । छोराछोरीलाई पढाउनुपर्यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन ।

त्यसैले बुढेसकालमै भएपनि उनी काँधमा किताबको झोला र मनमा अक्षर चिन्ने रहर बोकेर हरेक दिन विद्यालय धाउँछिन् । ‘छोराहरुले पढिसके अब पढ्ने पालो मेरो’ उनले खुसी हुँदै भनिन्, ‘नपढे पो लाज हुन्छ, पढ्न के को शरम ?’

पहिले पढ्न नपाएकोमा उनलाई पछुतो छ । छोरालाई पढाउने तर छोरीलाई पढ्न नपठाउने समयमा जन्मिएकी उनले रहर मारेरै घरव्यवहार सम्हाल्न बाध्य भईन् त्योबेला । चाहेर पनि विद्यालय जान नपाएकी उनलाई अक्षर चिन्ने रहरले डोर्याईरह्यो ।

त्यही रहरले वीरेन्द्रनगर ११ चनौटे सुर्खेतकी गंगालाई विद्यालसम्म डोर्याईरहेछ । गाउँकै हस्तवीर सामुदायिक प्राथमिक विद्यालयमा गएर पढ्न थालेपछि यतिबेला उनी अक्षर चिन्न सक्ने भएकी छिन् ।

read-aama
गंगा त एक प्रतिनिधि पात्र मात्रै हुन् । बाल्यकालमा पढ्न नपाएका सुर्खेतको चनौटेका आमाहरु यतिवेला विद्यालय गएर पढ्न थालेका छन । गंगाजस्तै यहाँका ४३ जना आमाहरु अहिले वीरेन्द्रनगर– ११ चनौटेमा रहेको हस्तवीर प्राथमिक सामुदायिक विद्यालयमा ‘कखरा’ सिक्दैछन । ‘जोड घटाउ र गुणन भागदेखि एबीसीडी पनि सिकिरहेका छौं’ ४४ वर्षीया अनिता सोमैले उत्साहि हुँदै भनिन् ।

अनिताले पनि सानो छँदा पढ्न पाइनन् । बाबुआमाले सानैमा विवाह गरिदिए । कापी किताब बोकेर विद्यालय जाने उमेरमा उनले घाँस दाउरा बोकेर मेलापात गरिन् । घरव्यवहार सम्हालिन् ।

छोराछोरी हुर्किएपछि बल्ल उनी बचपनदेखिको पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी छिन् । घरधन्दा सम्हाल्दा पढ्नु र नपढ्नुबीचको अन्तर उनले थुप्रै पटक महसुस गरिन् । सानोतिनो पैसाको हिसाब गर्दा पनि अरुलाई सोध्नुपर्ने । छोराछोरीले हातहातमा मोबाईल बोकेर हिड्न थालिसक्दा पनि आफूले मोबाईल चलाउन समेत नजान्ने ।

आमा समूहहरुमा बस्दा हस्ताक्षर गर्नुपथ्र्यो तर उनी ल्याप्चे लगाउँथिन् । यसले उनलाई थुप्रै पटक लज्जाबोध भयो । त्यसपछि उनले अठोट गरिन्, पढ्नलाई उमेरले छेक्दैन, म पनि विद्यालय जान्छु र पढ्न सिक्छु ।

अहिले उनी पनि गाउँका अन्य दिदीबहिनीहरुसँगै हरेक दिन हस्तविर विद्यालय पुग्छिन् । पढ्छिन् र फर्किन्छिन् । ‘कहिलेकाही नातीनातीनाले होमवर्क गर्दा सिकाईदिनुस भन्छन्, आफूलाई अक्षर चिन्न आउँदैन अनि कसरी सिकाउनु’ उनले भनिन्, ‘नपढेकालाई त आफ्नै छोरा छोरी र नातीनातिनाले समेत हेप्छन् ।’

गंगा र अनिताजस्तै यहाँका महिलाहरु घरायसी काम सकेर विहान ११ बजे विद्यालय पुग्छन् । पढेर दिउसो १ बजेतिर घर फर्किन्छन । उमेर छँदा पढ्न नपाएका उनीहरु छोराछोरी हुर्काएर बुढेसकालमा अक्षर चिन्न पाउँदा पनि खुसी छन् ।

विद्यालय गएर अक्षर चिन्न पाउँदा जीवनमा सवैभन्दा खुशीको अनुभुति भएको बताउँछिन् वीरेन्द्रनगर १० की ६७ वर्षीय तुलसी गौतम । पढने रुची हुँदाहुँदै सानैमा वुवाआमाले विवाह गरिदिएको भन्दै उनले वुढेसकालमै भएपनि पढ्ने रहर पूरा भएको बताइृन ।

अक्षर नचिन्दा पछाडि परिएको महसुस भएपछि पढ्न थालेको उनी बताउँछिन् । गौतमलाई अक्षर चिनेर रामायण, गीता लगायतका धार्मिक पुस्तकहरु पढने धोको छ । पढ्न थालेको छोटो समयमै सामान्य हिसाव गर्न, आफनो नाम लेख्न र दस्तखत गर्न जान्ने भएको महिलाहरु बताउँछन् ।

छोराछोरी विद्यालय जान थालिसकेका उनीहरुलाई आफै उनीहरुसँगै बसेर पढ्न सहज थिएन । त्यसैले विद्यालयसँग आफूहरुका लागि छुट्टै कक्षा सञ्चालन गरिदिन माग राखे । विद्यालयले गृहिणी महिलाहरुको माग जिल्ला शिक्षा कार्यालयसँग राखिदियो । त्यसपछि उनीहरुको माग पूरा भयो ।

अनौपचारिक शिक्षा अन्तर्गत प्रौढ कक्षा सञ्चालनको अनुमति पाएपछि हस्तविरमा २०६७ सालबाट महिलाहरुका लागि प्रोढ कक्षा सञ्चालन गर्न थालिएको हो ।

यस कक्षामा हालसम्म १ सय ८४ जना महिलाहरुले अध्ययन गरिसकेका छन् । जसमध्ये १ सय १ जनाले तह पार गरिसकेको विद्यालयले जनाएको छ । यस कक्षा अन्तर्गत दुई वटा तह हुन्छन । पहिलोमा १ देखि ३ कक्षा र दोस्रोमा ४ र ५ कक्षासँग सम्बन्धित पढाई हुन्छ ।

दोस्रो तह उत्तीर्ण गरेपछि महिलाहरुले नजिकै रहेको अमरज्योती नमूना उच्च माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् । अमरज्योतीले खुला निमावि तह अध्यापन गराउने गरेको छ । जसमा एक वर्षमा निमावि तह र दोस्रो वर्ष एसएलसी दिन पाउने व्यवस्था गरिएको छ ।

गृहणीलाई पढाउदै आएकी शिक्षिका टिका पंगाली गृहणी महिलाहरुले पढाईमा मेहेनत गरेको बताउँछिन् । मेहेनत गरेर पढेकै कारण छोटाो समयमा नै पढ्न, लेख्न र हस्ताक्षर गर्न सक्ने भएको उनले जानकारी दिईन ।

तर महिलाहरुलाई किताब अपुग भएकाले भने पढाईमा समस्या भएको बताईन् । गृहिणी कक्षाले बालविकास केन्द्रदेखि प्राथमिक तहमा बालबालिकाहरुको संख्या पनि वृद्धि भएको स्थानीय अभिभावक एवम हस्तवीर विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णप्रसाद पौडेलले बताए ।

गृहिणी कक्षा अत्यन्तै प्रभावकारी भएको उनी बताउँछन् । महिलाहरु शिक्षित हुँदा त्यसले परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने उनले बताए । विद्यालय अनउन नमान्ने बालबालिकाहरु पनि अहिले आफ्ना आमाहरुसँगै विद्यालय आउन थालेको र यसले गर्दा आमा र बच्चा दुवैले पढ्न पाउने वातावरण सिर्जना भएको उनले बताए ।