☰ open Loading... 2 May 2024|  

सडक दुर्घटना रोक्न फेरी लागु भयो ‘टाइम कार्ड’ (भिडियोसहित)
  | ११ आश्विन २०७३, मंगलवार १०:१८

सडक दुर्घटना न्यूनिकरण गर्न बन्द रहेको सवारी टाइम कार्ड (समय तालिका) लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मंगलबारदेखि पुनः टाईम कार्ड शुरु गरेको हो ।

टाइम कार्ड सुर्खेत–जुम्ला, सुर्खेत–जाजरकोट र सुर्खेत–दैलेख सडक खण्डमा लागु भएको छ । यी सडकमा गुड्ने भाडाका सवारी साधान (जीप, बस, माइक्रो बस) लगायतले अनिवार्य रुपमा टाइम कार्ड लिनु पर्नेछ ।

जुम्ला जाँदै गरेको बस चालकलाई टाइम कार्ड दिँदै ट्राफिक प्रमुख रावल । तस्वीर ः सुशील
जुम्ला जाँदै गरेको बस चालकलाई टाइम कार्ड दिँदै ट्राफिक प्रमुख रावल । तस्वीर : सुशील

तत्कालिन जिल्ला प्रशासन कार्यालयका प्रमुख यज्ञराज बोहोरा र जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चरीको पालमा २०७२ सालमा पहिलो पटक टाइम कार्ड लागु भएको थियो । अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा बसपार्कमा रहेको ट्राफिक विट जलाएपछि टाईमकार्ड बन्द भएको हो ।

भिडियोमा हेर्नुहोस् ।

करिव एक वर्षपछि जिल्ला ट्राफिक प्रमुख हर्कबहादुर रावलले पुनः टाइम कार्ड सञ्चालनमा ल्याएका छन् । टाइम कार्ड लागुभएपछि मुख्य तीन सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने र सडक सवारी दुर्घटनामा अझै न्यूनिकरण हुने विश्वास ट्राफिक प्रमुख रावलको भनाई छ ।

time-card

टाइम कार्डमा उल्लेख भएको समयमा नै सवारी साधन गन्तव्य पुग्नु पर्नेछ । कार्डमा उल्लेख भएको समयभन्दा छिटो गए यातायात व्यवस्था अनुसार सवारी चालकलाई कारवाही गरिने प्रमुख रावलले बताए ।

जुम्ला जाने सवारीलाई बड्डीचौर, तल्लोडुङ्गेश्वर, राकमकर्णाली, जितेगडा, मान्म कालिकोट, खल्लाघाट र जुम्लासम्मको समय तोकिएको छ ।

यस्तै, जाजरकोट जाने सवारीलाई भने छिन्छु, सल्लिबजार, छेडा र जाजरकोट बसपार्कसम्मको अलग अलग समय छ । तर दैलेख सदरमुकाम जाने सवारी साधनालाई रानीमत्ता र दैलेख बसपार्कसम्मको समय तोकिएको छ ।

टाइम कार्डमा उल्लेख भएको समयभन्दा ढिला सवारी पुगे कारवाही हुने छैन् । तर समय अगावै पुगेमा सम्वन्धित सवारी धनी र गाडी चालकलाई प्रहरीले कारवाही गर्नेछ ।

यता काँक्रेविहार यातायात व्यवसायी संघ सुर्खेतका सचिव रमेश सापकोटाले टाइम कार्ड लागु भएको सकरात्मक पक्ष भएको बताए । तर उनले समय भने हेरफर हुनु पर्ने माग राखेका छन् ।

‘हामीले ट्राफिक कार्यालयसंग समय हेरफेरका लागि भनिसकेका छौं ।’ सचिव सापकोटाले भने,–‘दुर्घटना न्यूनिकरणमा हाम्रो पूर्ण समर्थन छ तर समयमा सामान्य हेरफेर हुन जरुरी छ ।’

तर सचिव सापकोटाले टाइम कार्ड लागुभएपछि सवारी दुर्घटनामा न्यूनिकरण भएको बताए ।