☰ open Loading... 19 June 2024|  

पाँच पाँच वर्षमा चुनाव हुने गाउँ बारे जान्नुहोस्
  | १६ आश्विन २०७३, आईतवार १४:५६

नेपालमा स्थानीय निकायको चुनाव नभएको करिव १८ वर्ष भइसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावपछि अहिलेसम्म अर्को स्थानीय निकायको चुनाव हुन सकेको छैन ।

सरकारले चाँडै नै स्थानीय निकायको चुनाव गराउने बताउँदै आएको पनि धेरै भइसक्यो । तर नेपालकै एउटा गाविस जहाँ हरेक ५र५ वर्षमा गाविस चुनाव हुन्छ । र, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुन्छन् । उक्त गाविस हो हिमाली जिल्ला हुम्लाको उत्तरी गाविस लिमी ।

लिमी गाविसमा निकै वर्षअघिदेखि ५ – ५ वर्षमा गाविस चुनाव हुँदै आएको छ । पहिला मुखियाु चुन्ने चलनलाई परिमार्जन गरेर अहिले गाउँलेहरुले गाविस अध्यक्षलगायत अन्य पदाधिकारी चुन्दै आएका छन् । अहिले ९ वडामा ४७ जना पदाधिकारी छन् । हाल दावा लोचुक तामाङ अध्यक्ष छन् भने दासी फुर्बु लामा उपाध्यक्ष हुन् । उनीहरुकै कमान्डमा अन्य पदाधिकारी चलेका छन् ।

limi-humla
लिमी गाविसको हाल्जी गाउँ ।

लिमी गाविस ३ गाउँ मिलेर बनेको छ । तील, हाल्जी र जाङ्ग । यी तीनै गाउँमा लामा बस्ती छ । अध्यक्ष दावा लोचुकलाई साथ दिन एकजना उपाध्यक्ष, हरेक वडाबाट वडाध्यक्ष र सदस्य सहित ४७ जना छन् । यसमा सन् २००० देखि हरेक वडामा १ जना महिला सदस्य अनिवार्य गरिएको छ ।

उपाध्यक्ष लामा भन्छन्, ‘पहिला पहिला त महिला भन्ने हुँदैन थियो । अहिले एक वडाबाट एकजना महिला अनिवार्य सदस्य बनाउनुपर्ने नियम बनाएका छौं । हामीले महिला सहभागिता गराएका छौं ।’

रमाइलो के छ भने यहाँ चुनाव हुँदा कोही कुनै पार्टीका भन्ने हुँदैन । कतिचोटी त अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको उम्मेद्वार पाउन पनि गाह्रो हुन्छ । त्यही भएर गाउँलेहरुले यो मान्छे, उ मान्छे भनेर नाम लिएर अध्यक्ष, उपाध्यक्षको लागि नाम प्रस्ताव गर्छन् ।

सर्वसम्मत भए चुनावै गर्न पर्दैन तर एउटै पदको लागि धेरैको उम्मेद्वारी परेमा चिठ्ठा हाल्नु पर्ने पनि हुन्छ । ‘सितिमिति धेरैको नाम पर्दैन । परिहाले पनि हिप्सिङ (चिठ्ठा) हालेर छान्नुपर्छ,’ उनले हाँस्दै भने, ‘यसअघि म हिप्सङ हालेरै उपाध्यक्ष भएको हुँ ।’

अध्यक्ष तथा अन्य पदका लागि गाउँलेले खासै रुची दिँदैनन् । ‘केन्द्रमा जस्तो यहाँ चासो हुन्न’ लामाले भने, ‘हामी पढेलेखेका छैनौं । केही लोभलालच पनि छैन । त्यही भएर उम्मेद्वार पाउनै गाह्रो हुन्छ ।’

चुनावको लागि तीन गाउँको केन्द्र सुनखानीमा भेला हुन्छन् । त्यहाँ प्रहरी चौकी पनि भएकोले उनीहरु त्यही बसेर नै चुनाव गराउँछन् । र नयाँ पदाधिकारी छान्छन् । गत बैशाखमा मात्रै पछिल्लो पदाधिकारीको चुनाव भएको थियो ।

अध्यक्षले गाउँको विकासको काम, मुद्धा मामिला मिलाउने, झै-झगडा मिलाउने, जिल्लामा आएर आफ्नो गाउँको दुस्खको कुरा सम्बन्धित निकायसमक्ष पुर्‍याउने लगायतका सामाजिक काम गर्छन् ।

‘हामीले विकासकै विषयलाई ध्यान दिन्छौं । तीन वर्षदेखि हामीले बजेटलाई सडक निर्माणमा लगाएको छौं । यो बाहेक गाउँका सबै मामिलाहरु मिलाउने काम पनि अध्यक्ष, उपाध्यक्षले गर्छन्,’ लामाले भने ।

गाविस सचिवले चाहिँ उनीहरुको कामलाई सहयोग गर्छन् । सामाजिक सुरक्षा भत्ता लगायत गाविसले पाउने रकमहरु उपलब्ध गराउँछन् । गाविस सचिवले अध्यक्षरउपाध्यक्षको सिफारिश बिना मनोमानी रकम बाँड्न भने पाउँदैनन् । सचिव वर्षमा २ चोटी मात्रै पुग्छन् लिमी ।

१८ वर्ष पुगेका र ६० वर्ष ननाघेका जो कोही लिमीबासी गाविसको पदाधिकारीमा बस्न पाउँछन् । यसरी चुनिएका पदाधिकारीले सरकारी मान्यता भने नपाउने हुम्लाका सिडिओ डा. कृष्णचन्द्र घिमिरेले बताए ।

उनले भने, ‘आधिकारिक मान्यता नपाए पनि उक्त चुनावले गाउँमा काम गर्न सहयोग पुगेको छ ।’

लिमीमा म यो राजनीतिक पार्टीको, त्यो पार्टीको भन्ने छैन । गाउँलेहरु एकवद्ध भएर बसेका छन् । उनीहरुले केन्द्रबाट गरिएको चुनावमा जो भोट माग्न आउँछ उसैलाई हाल्ने बताउँछन् ।

पूर्व अध्यक्ष तथा हाल्जी गाउँका अग्रणी कोजुक ओबजाङ तामाङ भन्छन्, ‘हामी गाउँलेहरु मिलेर कसलाई भोट दिने भन्ने निर्णय गर्छौं । यहाँ राजनीतिक पार्टी भन्ने छैन । सबैको मन मिलेको छ।’

गाउँलेका अनुसार जुन नेता गाउँमा भोट माग्न पुग्छन् उसैलाई भोट दिने चलन छ । लामा भन्छन्,’कुनै वर्ष १ जना नेता आए भने एउटालाई मात्रै दिन्छौं । कुनैबेला ३ र ४ जना नेता आए भने उनीहरुलाई भाग लगाएर दिन्छौं ।’ यसो गर्दा गाउँ राजनीतिक रुपमा नफुट्ने गाउँलेहरुको बुझाई छ । (ईकान्तिपुर)