☰ open Loading... 7 November 2024|  

दशैँमय बन्यो सुर्खेत, घर फर्कन भ्याइनभ्याई (भिडियोसहित)
  | १७ आश्विन २०७३, सोमबार १४:५०

विभिन्न पेसा र व्यवसायका क्रममा घरबाहिर रहेका परिवारका सदस्यहरू फर्कन थालेसँगै दसैंको रौनक बढ्दै गएको छ । दसैं मान्नेको चहलपहलले गर्दा बैंक तथा वित्तीय संस्थाहरू, बसपार्क, मुख्य बजार क्षेत्रमा बाक्लो भीड देखिने गरेको छ ।

वीरेन्द्रनगरमा बढ्दो जनघनत्वसँगै व्यावसायिक कारोबारसमेत बढ्दै गएको छ । ‘दसैंका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूको घुइँचो छ’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले भने, तलब निकासा पनि यही समयमा हुने भएकाले झन् किनमेल गर्न सजिलो भएको छ ।’

मध्यपश्चिमका पहाडी तथा हिमाली भेकबाट भारत पसेका सर्वसाधारण सुर्खेतको बाटो हुँदै घर फर्कन्छन् । यति बेला वीरेन्द्रनगरका होटलहरू पनि भरिभराउ छन् । आसपासका जिल्लाबाट सुर्खेतमा बसाइँ सरेकाहरूमध्ये अधिकांशले यस वर्ष वीरेन्द्रनगरमै दसैं मनाउँदै छन् ।

यसैबीच, अति विपन्न परिवारलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान, सुर्खेत शाखाले पहिलोपटक सहुलियत पसल सञ्चालन गरेको छ ।

img_0122

संस्थानले चामल तथा साल्ट टेड्रिङ कर्पोरेसनले नुन, चिनी सहुलियत दरमा बिक्री गर्न थालेको हो । शाखा प्रमुख भीमबहादुर थापाले बाढी, पहिरो पीडितहरूको संख्या उल्लेख्य रहेकाले सहुलियतको पसलबाट त्यस्ता विपन्न परिवारले बढी लाभ पाउने बताए ।

संस्थानले प्रतिग्राहक दुई बोरा चामल वितरण गर्ने गरेको छ । संस्थानसँग जिरा मन्सुली, अरुवा मकवनापुर र बंगलादेशी उसिना चामल छन् ।