☰ open Loading... 12 April 2024|  

जति सरकार फेरिए पनि पुनर्निर्माण भएन दुल्लु दरबार (भिडियोसहित)
  | १ कार्तिक २०७३, सोमबार १९:०८

सशस्त्र युद्धको बेला ध्वस्त बनाइएको दैलेखको ऐतिहासिक दुल्ल दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माण र संरक्षणको अभावमा उक्त दरबार हाल भग्नावशेषमा सीमिति हुन पुगेको छ ।

दैलेखको दुल्लुस्थित दामुपालको अभिलेख नेपाली भाषामा लेखिएको पहिलो शिलालेख मानिन्छ । वि.स १०२४ सालमा दामुपाल शाहीले यसको स्थापना गरेका थिए । तर यसको संरक्षण नहुँदा आफ्नो अस्तित्व गुमाउँदै गएको छ ।

दुल्लुमा रहेको अर्को महत्वपूर्ण अभिलेख हो कीर्तिस्तम्भ जसलाई तत्काली कर्णाली राज्यका शासक पृथ्वी मल्लले गाढेका थिए । वि.स १४१४ मा यसको स्थापना भएको जनाइन्छ । जसमा खस राजाहरु र पाल राजाहरुको वंशाली उल्लेख गरिएको छ ।

दुल्लु दरबारको इतिहास

दुल्लु दरबार दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पटाङ्गिनी भन्ने ठाउँको पश्चिम दक्षिण भागमा अवस्थित छ । हाल भग्नावशेषमा परिणत भएको यो दरबारलाई नेपाल एकिकरणपछिको दरबार मानिएको छ । पकाएको इँटद्वारा निर्माण गरिएको यो दरबार विक्रम सम्वत १९८१ मा तत्कालिन दुल्लुका राजा जङ्गबगादुर शाहले निर्माण गरेका थिए ।

त्यो भन्दा पहिले दुल्लु दरबार धर्मगद्दी भन्दा दक्षिण तर्फ रहेको थियो । राज्य रजौटा उन्मुलन ऐनबमोजिम राज्य खारेज भएपछि हाल यस दरबारले चर्चेको सम्पूर्ण लिगलकापातहरू उदयरत्न शाह र जङ्गबगादुर शाह दुई पक्षका ११ जना अंशियारका बीच बाँडफाँड भएको थियो ।

संसारी वर्माद्वारा विक्रम सम्वत १४५३ मा स्थापना गरिएको दुल्लु राज्य उत्तिम शाहीको पालामा विक्रम सम्वत १८४६ कार्तिक २१ गतेका दिन अमरसिंह थापाको नेतृत्वमा दुल्लु विजय गर्न गएको गोर्खाली सेना देखेपछि दुल्लुका सम्पूर्ण जनताहरू घर छोडेर भागेका थिए ।

यसरी जनताहरू डराएर भागेपछि दुई पक्षबीच लडाईँ हुन सकेन। त्यसैले उत्तिम शाहीले गोर्खाली सेनासँग आत्मसमर्पण गरी सहयोग गर्ने कबुल गरे । त्यसपछि गोर्खा राज्यको अधिनस्थ भएर पनि दुल्लु राज्यले रजौटाको सम्मान पाएकै थियो ।

आफ्नो कबुल अनुसार उत्तिम शाहीले गोर्खाली सेनाहरूसँग लागेर नेपाल एकिकरणको पश्चिम विजय अभियानमा कोठागढीको युद्वमा वीरगति प्राप्त गरे । युवा राजा उत्तिम शाहीकी रानी गर्भवती रहेकी र उत्तिम शाही निसन्तान नै परलोक भएकाले गीर्वाणयुद्ध विक्रम शाहबाट रानीको मासिक खान्गीको व्यवस्था गरियो ।

केही समय पछि उत्तिम शाहीको रानीबाट छोरा रुद्र शाह जन्म भएर उमेर पुगेपछि उनका बाबु उत्तिम शाहीले नेपाल सरकारलाई लगाएको गुन सम्झेर रुद्र शाहीलाई दुल्लुको राजा बनाइयो। यिनले दुल्लुका जनताको मुद्दामामिला हेर्ने र राजस्व सङ्कलन गर्नेसमेत अधिकार पाए । 

नेपाल एकिकरणपछि दुल्लुमा रुद्र शाह, श्रीभक्त शाह, भक्त बहादुर शाह, पृथ्वीनारायण शाह र जङ्गबगादुर शाह क्रमैसँग दुल्लुका राजा भए ।

विक्रम सम्वत २०१८ सम्म यो व्यवस्था कायम रह्यो । त्यसपछि भने नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेर आधुनिक नेपालको ढाँचा बने पछि दैलेख जिल्लाको आकार पनि खुम्चियो ।

दैलेख बजारलाई दैलेख जिल्लाको सदरमुकाम कायम गरिएपछि दुल्लु दुल्लुमा रहेका अड्डा अदालतहरू दैलेख बजारमा सारिए । दुल्लु दरबार दिन प्रतिदिन उजाड हुँदै गयो । दुल्लु दरबारमा बस्ने परिवार पनि दुल्लु छोडेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ बस्न थाले ।

अन्ततः विक्रम सम्वत २०५९ बैशाख ८ गतेका राती माओवादीहरूले जनयुद्धको नाममा यो दरबारमा बम बिस्फोट गराए । हाल सम्म यो दरबारको जिर्णोद्धार हुन सकेको छैन ।

स्रोत :wikipedia

 

लडाईमा विजय प्राप्त गरेको खुसीयालीमा तत्कालिन राजा पृथ्वी मल्लले उक्त कीर्तिस्तम्भ स्थापना गरेका हुन् । यस्तो स्तम्भ दैलेखको दुल्लुका साथै चिनको तिब्बत र भारतको सिम्लामा समेत रहेको दैलेखका शिक्षक एवम इतिहासविद भुपालविक्रम शाह बताउँछन् ।

ऐतिहासिक दुल्लु दरबारका साथै ऐतिहासिक महत्व झल्काउने पाटी, पौवा र अभिलेखहरु प्रसस्त मात्रामा छन् । यो क्षेत्रलाई खस राज्यको पालामा कर्णाली क्षेत्रको प्रमुख व्यापारीक केन्द्र समेत रहेको बताइन्छ ।

त्यति मात्र होइन तत्कालीन खस राज्यको हिउँदे राजधानी समेत दुल्लु रहेको यहाँका जानकारहरु बताउँछन् । प्रमुख राजधानी जुम्ला भएपनि जुम्लामा चिसो बढ्दा दुल्लीमा राजधानी बनाएर काम गरिन्थ्यो ।

दुल्लु क्षेत्र धार्मिक र ऐतिहासिक महत्वले भरिएको भएपनि संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको स्थानीयवासी एवम् शिक्षक कृष्ण भण्डारी बताउँछन् । उनले दुल्लु क्षेत्रको समग्र विकासका लागि पनि यहाँका धार्मिक र पर्यटकीय स्थलहरुको विकास गर्नुपर्ने बताउँछन् ।
पर्यटन विकासलाई सरकारले पनि प्राथमिकतामा राखेको वर्तमान अवस्थामा दुल्लु दरबारको पुनर्निर्माण र यहाँका शिलालेख र कीर्तीस्तम्भहरुको संरक्षण र सम्वद्र्धन गर्न सकेको खण्डमा यसले पर्यटन विकासमा सघाउ पुग्नेछ । त्यति मात्र होइन विपन्नता बेहोर्दै आएका यहाँका नागरिकको आयस्तर सुधार्न पनि यसले मद्यत पुग्ने विस्वास स्थानीयवासीहरुको छ ।

भिडियो सौजन्य लक्ष्मण भण्डारी (नेपाल टेलिभिजन सुर्खेत सम्वाददाता)