☰ open Loading... 20 April 2024|  

ठेकेदार गुमनाम हुँदा कर्णाली राजमार्गको विजोग
  | ५ कार्तिक २०७३, शुक्रबार ११:०४

कर्णाली राजमार्ग अन्तर्गत पर्ने दैलेखको किट्टु भीर नजिक भट्टे खोलामा पुल निर्माण गर्न सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ०६९ असारमा सम्झौता भयो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको कम्पनी याकथुमहाङरगोल्डेन गुड जेभी काठमाडौंले अझै काम सुरु गरेको छैन ।

निर्माण कम्पनीले दुई पटक म्याद थपिसक्दासमेत ठेकेदारले पुल निर्माणमा चासो दिएका छैनन् । सडक डिभिजन कार्यालय जुम्लाले भने ३० प्रतिशत निर्माण भएको दाबी गरेको छ ।

karnali-way

यो मात्र होइन, कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) को २ सय ३२ किमिमा निर्माण सम्झौता भएका अधिकांश पुल अधुरै छन् । कतै निर्माणको सुरसारै छैन, कतै पिलर सुरु गरेर अलपत्र छाडिएका छन् ।

राजमार्गका दर्जनौं यस्ता खहरे खोलामा पुल नहुँदा यात्रु र यातायात व्यवसायीले सास्ती भोग्नुपरेको छ । सुर्खेत–जुम्ला सडक आयोजनाले पुल निर्माण नहुञ्जेल खहरे खोला र आसपासमा ढलान गरे पनि बर्खाले तहसनहस पारेपछि यातायात सञ्चालनमा बाधा पुगेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारहरुको लापरबाहीका कारण राजमार्गको ११ स्थानमा अझै पुल बनेका छैनन् ।

म्याद थपेर पनि तोकिएको समयमा काम नगर्ने, सार्वजनिक सूचना जारी गर्दासमेत सम्पर्क नआउने कम्पनीलाई सडक डिभिजन कार्यालयले कारबाहीको तयारी गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार दैलेख खण्डमा गोठखोला र कुमाले खोलामा पुल निर्माणको जिम्मा लिएको बिटीरधर्मेन्द्ररटौदह जेभीलाई कालो सूचीमा राखिसकेको छ । यसले फर्जी बैंक ग्यारेन्टी पेस गरेकाले डिजिभन कार्यालयले अदालतमा जालसाजी मुद्दा दर्ता गराएको छ ।

कार्यसम्पादन जमानत दाबी गर्दा फर्जी बैंक कागजात पेस गरेको खुलेको हो । डिभिजन प्रमुख बेलबहादुर भुजेलले दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणको जिम्मा लिएको सिरुवारसुनकोशीरकबिर जेभीलाई तत्काल सम्पन्न गर्न ताकेता गरिरहेको बताए ।

दैलेख, कालिकोट र जुम्ला खण्डमा संलग्न निर्माण कम्पनीमध्ये १० वटा सम्पर्कमा आएका छैनन् । ‘थुपै्र पत्र काट्यौं । टेलिफोन सम्पर्क गर्‍यौं । ठेकेदारहरू सम्पर्कमा आएनन्’ डिभिजन भुजेलले भने, ‘अहिले कालो सूचीमा राख्ने तयारी गरेका छौं ।’ ११ निर्माण कम्पनीमध्ये तीन डिभिजन कार्यालय सुर्खेत र बाँकी जुम्लाले कारबाही प्रक्रिया अघि बढाएको छ ।

सडक डिभिजन कार्यालय, जुम्लाका अनुसार यो वर्ष नयाँ तीन पुल निर्माण सम्झौता भएका छन् । बाँकी ६ वटा पुलको काम सन्तोषजनक छैन । तीन–तीन पटक म्याद थप्दासमेत कामले गति लिन नसकेको प्राविधिकले बताए । यीमध्ये १५ देखि साढे तीन वर्षसम्म म्याद गुज्रेका योजना छन् । भट्टेखोला, कालेखोला, सिम्ला खोला, बालीगढ खोला, टाकुल्ला खोला पुल, खल्लागाड खोला, छिडेना खोला पुलका ठेकेदार फरार छन् ।

छिडेना खोला पुलको निर्माण कम्पनी डाइगनरब्रामयणी जेभी काठमाडौं म्याद सकिन लाग्दा भर्खर परिचालन भएको छ । टाकुल्ला खोला पुलका ठेकेदार जागृतिरतुल्छीरदुर्गा जेभी धनगढीलाई कालो सूचीमा राख्ने तयारी भइरहेको छ ।

आव ०६८र६९ देखि निर्माण सम्झौता गरेको कम्पनीले थपेको म्यादसम्म काम नगरी सम्पकविहीन रहेकाले कालोसूचीमै राख्न सडक डिभिजन बाध्य भएको हो । दैलेख खण्डमा पर्ने भट्टेखोला पुलको ठेकेदार कम्पनी याकथुमहाङरगोल्डेन गुड काठमाडौंले १५ महिनाको अवधिमा ३० प्रतिशतमात्र काम सम्पन्न गरेको छ ।

सडक डिभिजन सुर्खेतका प्रमुख भुजेलले समयमै निर्माण सम्पन्न नहुनुमा ठेकेदार दोषी रहेको बताए । ‘मूल ठेकेदारले पेटीमा काम गराउने र पेटी ठेकेदारले लापरबाही गर्ने भएकाले अधिकांश पुल लथालिंग बनेका हुन्’ उनले भने ।

Scoure:ekantipur