☰ open Loading... 20 April 2024|  

पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीले देउसीभैलो खेल्ने
  | ५ कार्तिक २०७३, शुक्रबार १७:३१

प्रदेश नम्बर ६ का पर्यटन स्थलहरुको प्रचारप्रसार गर्न सुर्खेतका होटल व्यवसायीहरुले देउसी भैलो खेल्ने भएका छन् । यही कार्तिक १४ र १५ गते होटल व्यवसायी संघ सुर्खेतको आयोजनामा देउसी भैलो खेल्ने भएका हुन् ।

hotel
देउसी भैलो कार्यक्रम बारे जानकारी दिँदै होटल व्यवसायी संघ सुर्खेतका पदाधिकारीहरु ।

होटल व्यवसायीको काम कमाउनु मात्र नभई सामाजिक उत्तरदायितर्फ पनि अग्रसर छ भन्ने सन्देश दिन आफूहरुले कार्यक्रमको अयोजना गर्न लागेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिए ।

संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा शाहीले सुर्खेतसहित ६ नम्बर प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय ऐतिहासिक स्थलहरुको प्रचार गर्नु आफूहरुको दायित्व भएकाले पनि देउसी भैलोको आयोजना गरिएको बताए ।
देउसी भैलोबाट संकलन भएको रकमले यस क्षेत्रका उत्कृष्ट र ओझेलमा रहेका पर्यटन स्थलहरुको प्रचारप्रसारमा खर्चिने अध्यक्ष शाहीको भनाई छ ।

‘दिपावलीमा होटल व्यवसायीहरु विच आफसी सदभाव् र शुभकामना आदनप्रदान गर्ने पनि संयोग हो ।’ शाहीले भने,–‘देउसी भैलोबाट उठेको रकमले होटल व्यवसायी संघ सुर्खेतले पर्यटन डकुमेन्ट्री तयार गरेर प्रचारप्रसार गर्नेछौं ।’

दुई दिन विहान १० बजेदेखि बेलुका ६ बजेसम्म देउसी भैलो खेलिने देउसी भैलो कार्यक्रमका संयोजक जीतबहादुर रानाले जानकारी दिए । देउसी भैलो होटल व्यवसायीहरुका घरहरुमा मात्र खेलीने पनि बताएका रानाले यो कार्यक्रममा सम्पूर्ण होटल व्यवसायीहरुलाई सहभागी हुन आग्रह समेत गरे ।