☰ open Loading... 15 October 2024|  

कभर्ड हल निर्माणार्थ धार्मिक महोत्सवको तयारी पुरा
  | १० कार्तिक २०७३, बुधबार ०८:३९

अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न कभर्ड निर्माणका लागि यही कात्तिक २५ गतेदेखि हुन लागेको मध्यपश्चिमाञ्चल धार्मिक महोत्सवको तयारी पुरा भएको छ । सुर्खेतमा प्रदेश स्तरिय कभर्ड हल निर्माणका लागि हुने धार्मिक महोत्सवको तयारी पुरा भएको बताइएको छ ।

surkhet

सुविधा सम्पन्न कभर्ड हल निर्माणको लागि आगामी कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा ‘मध्यपश्चिम धार्मिक महोत्सव २०७३’ संचालन हुने भएको हो ।

 ‘स्वस्थ समाज र राष्ट्र शान्तिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हुन लागेको धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा रहेको धार्मिक महोत्सव मुल समारोह समितिले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रदेश नं. ६ को सम्भावित राजधानी वीरेन्द्रनगरमा ४ हजार क्षमताको सुुविधा सम्पन्न कभर्ड हल निर्माण गर्नका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएकोले यसमा सबैले एकजुट भई लाग्नुपर्नेमा महोत्सव मूल आयोजक समितिका अध्यक्ष चेतबहादुर अधिकारीले जोड् दिए ।

अहिलेसम्म सुर्खेतमा ईन्डोर खेल खेलाउने कुनै पनि पूर्वाधारहरु नभएको अवस्थामा यो कभर्ड हल निर्माण भएपछि विभिन्न किसिमका अन्तर्राष्ट्रिय खेलसंगै चार हजारको मानिसको संख्यामा गरिने सम्पूर्ण कार्यक्रमहरु समेत गर्न सकिने जानकारी अध्यक्ष अधिकारीले दिए ।
उनले ६ नंं प्रदेशको प्रतिष्ठासँग जोडिएको यो कार्य सम्पन्न गर्ने दायित्व सम्पूर्ण सुर्खेत जनता, खेलकुदप्रेमी, खेलाडि, राजनीतिक दल, संघसंस्था, शैक्षिक संस्था, सञ्चारकर्मी लगायतको भएकाले यसलाई सम्पन्न गरी २ बर्षभित्र कभर्ड हल निर्माण गर्न सक्रिय भएर लाग्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा मुल समारोह समितिका महासचिव खिमलाल देवकोटाले महोत्सवको तयारीका साथै महोत्सवको समयतालिका समेत सार्वजनिक गरे ।

जसअुनसार कात्तिकको २५ गते विहान १० बजेपछि बुलबुलेबाट कलशयात्रा निकालेर बजार परिक्रमा गरी महोत्सवको उद्घाटन गरिनेछ । प्रत्येक दिन विहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर, ७ बजेदेखि ८ बजेसम्म पुजन र ८ देखि पाठ प्रारम्भ हुने छ । यस्तै, १० बजेदेखि ४ बजेसम्म कथावाचन हुनेछ र साँझ ७ बजेदखि १० बजेसम्म थारु, हीन्दी र नेपाली भाषका भजन किर्तनहरु गरिने आयोजकले जनाएको छ ।

महासचिव देवकोटाले महोत्सवका लागि आवश्यक आर्थिक रकमको बारेमा पनि जानकारी दिए । उनका अनुसार हालसम्म ९ लाख ४५ हजार रुपैयाँ संकलन गरिएको छ ।

जसमध्ये एकलाख ३९ हजार रुपैयाँ कलश वितरणबाट संकलन भएको छ भने बाँकी ऋणको व्यवस्था गरिएको छ । महोत्सव आयोजनाका लागि तयारी स्वरुप हालसम्म ५ लाख ५१ हजार रुपैयाँ खर्च भइसकेको पनि महासचिव देवकोटाले जानकारी दिए ।

महोत्सवमा कथा वाचक गोविन्द शरण महाराजबाट हुने आयोजकले जानकारी दिएको छ । महोत्सवका लागि यस प्रदेशका सम्पूर्ण जिल्लाहरुमा गाडिबाट माइकिङ्ग गरी प्रचार गरिएको छ ।

सोमबारको पत्रकार सम्मेलनमा आयोजकले राज्यले खेलको विकासका लागि केही गर्न नसकिरहेका बेला खेलाडिहरुको जागरुकताले हुन लागेको अभियानले राज्यलाई नै खेल क्षेत्रको विकासका लागि जिम्मेवार बन्न ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरेका छन् । श्रेत्रीय स्तरको धार्मिक महोत्सवमा करिब ५ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

यस्तै महोत्सवलाई सफल बनाउनको लागि आयोजकले घरदैलो अभियान सुरु गर्ने बताएको छ । खेल जगत कुनैपनि जात, धर्म वा सम्प्रदायमा आधारित नभएर साझा हुनेभएकोले सबैको घरमा निमन्त्रणाका लागि घरदैलो अभियान सुरु गर्ने भएको हो ।

आयोजकले कभर्ड हल निर्माणपश्चात वर्षमा कम्तीमा दुईहजार नयाँ खेलाडि यस क्षेत्रबाट उत्पादन गर्ने लक्ष्य राखेको छ । यस क्षेत्रको समग्र खेलकुदसँग जोडिएको योजना भएकोले सबैले खुलेर सहया्ेग गर्नुपर्ने बताइएको छ ।
नयाँ निर्माण हुने हलमा सभा सम्मेलन गर्र्नेदेखि भलिबल, बास्केटबल लगायतका इन्डोर खेल सञ्चालन गर्न सकिने कोर्ट निर्माण गरिनुका साथै योग र प्रणायाम गर्ने सुविधा पनि कभर्ड हलमा हुने महासचिव देवकोटाले बताए । अनुमानित २ करोड रूपैयाँ लाग्ने कभर्ड हलमा तीन वटा ब्याटमिन्टन कोर्ट हुनेछन् ।