☰ open Loading... 24 April 2024|  

देउली चौकीबाट लुटिएका सवै हतियार बरामद
  | १९ कार्तिक २०७३, शुक्रबार १९:२१

भाइटिकाको दिन पुर्वी सुर्खेतको आग्रिगाउँमा रहेको देउली प्रहरी चौकीबाट स्थानीयले लुटेको हतियार प्रहरीले बरामद गरेको छ । स्थानीयले प्रहरी चौकीबाट तीन नाल राइफल, तीन सय राउण्ड गोली, एउटा चानिज पेस्तोल र त्यसको आठ राउण्ड गोलीसहित एउटा हत्कडी लुटेका थिए ।

लुटिएको हतियार बरामदसँगै घटनामा संलग्न एक जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । एसपी आचार्यका अनुसार घटनामा संलग्न बलबहादुर सिंहलाई हात हतियार, खरखजना तथा डाका मुद्दा चलाइएको छ । संलग्न अन्य व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको उनले जनाए ।

चौकीमा आक्रमण गरी हतियार लुट्दा समेत प्रतिरोध नगर्ने चौकीका ७ जना प्रहरीमाथि पनि छानविन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले जानकारी दिए । चौकीका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाइसकिएको छ भने देउली प्रहरी चौकीमा नयाँ टोली पठाइएको छ ।

स्थानीय जनताको सुरक्षाका लागि खटिएका प्रहरीमाथि नै आक्रमण हुनु दुखद भएको भन्दै एसपी आचार्यले प्रहरी र नागरिक दुवै पक्षले प्रहरी मेरो साथी हो भन्ने भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।