☰ open Loading... 10 September 2024|  

वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन प्रस्ताव
  | २१ कार्तिक २०७३, आईतवार ०९:११

सुर्खेतको स्थानीय तह निर्धारण प्राविधिक समितिले नौ ओटा तहमा विभाजन गरेसँगै वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने प्रस्ताव समेत केन्द्रमा पठाइएको छ । राष्ट्रिय जनगणना वि.सं. २०६८ अनुसार करिब १ लाख १ हजार ३१७ जनसंख्या रहेको वीरेन्द्रनगर नगरपाकिालाई उपमहानगरपालिका बनाउन केन्द्रमा प्रस्ताव पठाइएको स्थानीय विकास अधिकारी अमृत लम्सालले जानकारी दिए ।

birendranagar

वीरेन्द्रनगरमा जिविस सुर्खेतले जिल्ला पुनर्संरचना सम्वन्धी आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन । उनका अनुसार वीरेन्द्रनगरलाई उपमहानगर बनाउन वार्षिक आय १० करोड हुनुपर्ने ऐनमा व्यवस्था भएतापनि आफूहरुले एकिकृत सम्पत्ति कर लगाएको खण्डमा झण्डै वार्षिक १२ करोड आय हुने उनको अनुमान छ ।

गत आर्थिक बर्षमा मात्रै वीरेन्द्रनगरले ३ करोड २५ लाख आय भएको उनले जानकारी दिए । उनले यो आर्थिक वर्षकालागि झण्डै ५ करोडको आय प्राप्तिको प्रस्ताव समेत केन्द्रमा पठाइएको बताए । यसरी केन्द्रले मुल्याकंन गरेको खण्डमा वीरेन्द्रनगर उपमहानगरपालिका बन्न सक्ने प्रबल सम्भावना रहेको समेत उनको जिकिर छ ।
‘वीरेन्द्रनगर ६ नं. प्रदेशको सम्भावित राजधानीको रुपमा विकसित हुदै गएको, रंगशाला, विश्वविद्यालय, क्षेत्रीय अस्पताल, उच्च न्यायालय लगायतका विकास पुर्वाधारहरु पर्याप्त रहेको, लगायतका आधारमा उपमहानगरपालिका बन्न उपयुक्त र सक्षम छ ।’ उनले भने ।

त्यस्तै सुर्खेतको स्थानीय निकाय पुनर्संरचनामा प्रस्ताव गरि पठाए बमोजीम स्थानीय तह तोकिए लेकबेसी गाँउपालिका पनि नगरपालिका बन्ने उनले जानकारी दिए । नगरपालिका बन्न थोरै मात्रै जनसंख्या कम भएतापनि अन्य हिसाबले सबै पुर्वाधार पुरा गरेकाले लेकबेसी गाउपालिकालाई नगरमा रुपान्तरण गर्न प्रस्ताव गरिएको उनको भनाई थियो ।

यो प्रस्ताव केन्द्रले सदर गरेमा सुर्खेतमा १ उपमहानगरपालिका, ४ नगरपालिका र ४ गाँउपालिका बन्नेछन । साथै प्राविधिक समितिले विशेष क्षेत्रअन्र्तगत भौगोलिक विकटता, गरिबीलाई आधार मानेर चिंगाड र चौकुने क्षेत्रलाई प्रस्ताव गरि पठाएको जानकारी दिए ।

५१ प्रतिशत कुनै जातजातीको बाहुल्यता भएको खण्डमा उक्त क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउन प्रस्ताव गरिने तर अहिले गहन रुपमा अध्ययन गरिरहेको जानकारी समेत दिए ।