☰ open Loading... 10 October 2024|  

बर्दियामा स्थानिय निकायको टुङ्गो लागेन
  | २१ कार्तिक २०७३, आईतवार १२:५८

बबई र सानोश्री-ताराताल नगरपालिकामा बिबाद

स्थानिय तह पुर्नसंरचना बनाउने म्याद सकिएपनि बर्दिया जिल्लामा राजनितिक बिबादका कारण अझैँ टुङ्गो लाग्न सकेको छैन ।  बर्दियामा पहिलो पटक ५ वटा स्थानिय तह प्रस्ताव गरिएकोमा हाल सो संख्या बढाएर ८ वटा पुर्याउँदा पनि बबई नगरपालिकालाई छिमेकी सुर्यपटुवा गाबिसलाई गाभेर नगरपालिका कायम गर्नुको सट्टा गाउँपालिका बनाउन लागेको भन्दै बिबाद भएपछी अझैँ सहमती जुट्न नसकेको हो ।

bardiya_map
बर्दियाको राजापुरमा नगरपालिका, बेलभारमा गाउँपालिका, गुलरियामा नगरपालिका, मगरागाडीमा नगरपालिका, बाँसगढीमा नगरपालिका र मैनापोखरमा गाउँपालिका बनाउन पुर्नसंरचनाका बारेमा सहमति भइसकेपनि पछिल्लो समय बबई नगरपालिका र सानोश्रीताराताल नगरपालिकामा आवश्यक जनसंख्या अपुग भएका कारण बबई नगरपालिकामै रहने वा गाउँपालिका हुने भन्ने टुंङ्गो नलागेको हो ।

दुई वटै नगरपालिकाको करिव विचमा पर्ने सूर्यपटुवा गाविसलाई बबई नगरपालिकामा समावेश गर्ने कि सानोश्रीताराताल नगरपालिकामा समावेश गर्ने भन्ने विषयमा स्थानिय राजनितिक नेतृत्व विच विवाद देखिएको छ ।

बबई नगरपालिकामा नगरपालिका कायम गर्न छिमेकी ठाकुरद्धारा र शिवपुर गाविस भने सहमत भईसकेका छन् । अब सुर्यपटुवा गाविसलाई बबई नगरपालिकामा गाभिए नगरपालिका कायम रहन्छ पुर्व सभासद चिरञ्जीवीराम थारुले बताए ।

सूर्यपटुवा गाविसका स्थानिबासीहरु बिहीबार जिल्ला बिकास समिति गुलरियामा पुगि सुर्यपटुवालाई बबई नगरपालिकामा समाबेस गरी नगरपालिका कायम गर्न माग गर्दै धर्ना बसेको र बर्दियाका स्थानिय विकास अधिकारी एवं प्राविधीक समिती संयोजक तेजराज शर्मालाई ध्यानाकर्षण गराईएको जैबिक मार्ग होमस्टे डल्लाका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिएका छन् ।

सानोश्रीताराताल नगरपालिकालाई अब मधुवन गाउँपालिका बनाउन लागिएकाले सुर्यपटुवा गाविसलाई मधुवन गाउँपालिकामा गाभ्नुपर्ने नेपाली कांग्रेस सूर्यपटुवाका सभापति मिनवहादुर थापाले बताए ।

स्थानिय राजनितीक दलको पार्टिगत भागबन्डाका रुपमा मेयरका लागी आफ्नो पार्टीले कम मत प्राप्त गर्ने सम्भावनाको कारण देखाउँदै बनिसकेको नगरपालिकालाई गाउँपालिका बनाउने तर्फ राननितीक दलहरु लागी परेको स्थानियवासीको भनाई छ ।

बबई नगरपालिकालाई नगरपालिकामै कायम गर्न झण्डै ८ हजार जनसंख्या अपुग भईरहँदा साढे ९ हजार जनसंख्या रहेको छिमेकी सुर्यपटुवा गाविसका आधा स्थानियबासी बबई नगरपालीकामा गाभिन सहमत छन भने आधा सानोश्री नगरपालिकाबाट मधुवन गाउँपालिका बन्न लागेकोमा गाभिन सहमत देखिएका छन । राजनितीक बिबादका कारण निर्णय हुन नसकेको हो ।

स्थानिय तह पुर्नसंरचनाका बारेमा बर्दियाका स्थानिय विकास अधिकारी एवं प्राविधीक समिती संयोजक तेजराज शर्माले ठोस निर्णयमा पुगिनसकेकोले अबको एक दुई दिन भित्र सहमतिको प्रयास गरि प्रतिबेदन पठाईने जानकारी दिए ।

‘हिजो शनिबार भयो, केही गर्न सकिएन, अब गाउँगाउँमा गईदैन, जे हुन्छ अब जिल्लाबाटै बनाएर पठाईन्छ । सानोश्रीताराताल त यसैपनि गाउँपालिका हुन्छ जनसंख्या पुग्दैन तर बबईलाई नगरपालिकामै कायम गर्ने कि गाउँपालिका बनाउने यसै भन्न सक्दीन ।’ उनले भने ।

सरकारको निर्णयपछि आयोगले बढीमा ७ सय ४४ स्थानिय निकाय रहने गरी कार्तिक २० गते भित्र सहमती जुटाएर प्रतिवेदन पठाउन स्थानिय विकास अधिकारी नेतृत्वको प्राविधिक समितीलाई निर्देशन गरेकोमा बबई र सानोश्रीताराताल नगरपालिकामा स्थानिय राजनितीक दलहरु बिच सहमती जुट्न सकेको छैन ।