☰ open Loading... 17 May 2024|  

दार्चुला र बझाङमा बन्ने भयो १८ अर्बको लगानीमा जलविद्युत् आयोजना
  | २१ कार्तिक २०७३, आईतवार १४:२५

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बझाङमा निजीक्षेत्रको सक्रियतामा दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । यस्तै अपर चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि अध्ययनसहितको लागत इष्टिमेटको काम पनि पूरा भएको छ ।

बझाङ जिल्लाको बुँगल क्षेत्रमा पर्ने ६५ मेगावाट क्षमताको कालङ्गागाड जलविद्युत् आयोजना र दार्चुलाको सिप्टी र धुलीगडा गाविसको सीमामा रहेको ८ मेगावाटको नौगाड दोस्रो जलविद्युत् आयोजनाको निर्माण शुरू भएको हो ।

hydro
अनलाइन सभार स्केच ।

कालङ्गागाडको १० अर्ब, नौगाडको १ अर्ब ४० करोड तथा अपर चमेलियाको ७ अर्ब गरी झण्डै साढे १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कालङ्गागाड जलविद्युत् आयोजनाको निर्माण सानीगाड हाइड्रो प्रालि तथा कालङ्गागाड हाइड्रो प्रालिले र नौगाड दोस्रोको निर्माण अपी हाइड्रोपावर कम्पनीले गर्दै छ ।

यस्तै ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण पनि अपीले नै गर्दै छ ।

कालङ्गागाड जलविद्युत् आयोजना निजीक्षेत्रले निर्माण गर्न लागेको मुलुककै सबैभन्दा ठूलो आयोजना हो । यसको निर्माणमा बैङ्कहरूको ७५ प्रतिशत, स्थानीयको १० तथा प्रतिष्ठित व्यापारीहरूको १५ प्रतिशत शेयर लगानी रहेको प्रवद्र्धक कम्पनी सानीगाड हाइड्रो प्रालि तथा कालङ्गागाड हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार आयोजना निर्माणका लागि २ सय रोपनी जग्गा खरीद गरी काम शुरू गरिएको छ । करीब १० अर्ब रुपैयाँको लागत अनुमान गरिएको उक्त आयोजना सन् २०२० भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

सानीगाडले प्रवद्र्धन गर्न लागेको आयोजना निर्माणका लागि दहबगरमा ३८ दशमलव ४६ मेगावाट इण्टेक बनेर खिरातडीको विजगडामा विद्युत्गृह बन्नेछ भने कालङ्गागाडले प्रवद्र्धन गर्न लागेको १५ दशमलव ३३ मेगावाटको खिरातडीको पाउटामा इण्टेक निर्माण गरी सुनकुडा गाविसको घोडादाउनमा विद्युत्गृह निर्माण गरिने छ ।

त्यस्तै सानीगाडले नै प्रवद्र्धन गर्न लागेको १० दशमलव शून्य ७ मेगावाट क्षमताको विद्युत् कफलसेरीको जुनैबाट झारेर पीपलकोट गाविसको खौलाधारमा विद्युत्गृह निर्माण गरिने कम्पनीले बताएको छ । तीनओटै आयोजनाको विद्युत्लाई एकै ठाउँमा जोडेर ६४ दशमलव ४९ मेगावाट विद्युत् उत्पादन हुने भएको हो ।

नौगाड दोस्रो जलविद्युत् आयोजनाको निर्माण आगामी १७ महीनाभित्रै सम्पन्न गरी बिजुली बाल्ने लक्ष्यअनुरूप काम अगाडि बढाइएको अपी हाइड्रोपावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले बताए ।

दार्चुलाको सिप्टी र धुलीगडा गाविसको सीमामा रहेको नौगाड दोस्रो जलविद्युत्को बाँधस्थल र विद्युत्गृह निर्माण स्थलसम्मको सडक निर्माण अघि बढाइसकिएको उनले बताए ।

८ मेगावाट क्षमताको पहिलो नौगाड आयोजनाबाट १८ महीनामै विद्युत् उत्पादन गरिएको जानकारी दिँदै आयोजनाले सोहीअनुरूप नौगाड दोस्रोको पनि १५ देखि १७ महीनामै बिजुली बाल्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण भइरहेको बताएको छ ।

नौगाड दोस्रोको निर्माणपछि ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण थाल्ने कम्पनीको भनाइ छ । निर्माण शुरू गरेको ३ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिने आयोजना प्रमुख त्रितालले बताए ।

जलविद्युत् निर्माणका क्रममा कुनै अवरोध सृजना नभए दार्चुला र बझाङमा निर्माण भइरहेका तीनैओटा आयोजनाको निर्माण सम्पन्न तोकेकै मिति र लागतमा हुने निर्माण कम्पनीहरूले बताएका छन् ।

Scoure : abhiyandaink