☰ open Loading... 2 May 2024|  

दाङमा औद्योगिक कृषि महोत्सव हुँदै
  | २१ कार्तिक २०७३, आईतवार १४:२९

दाङमा मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन एवम औद्योगिक कृषि महोत्सव हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १३ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

फायल फोटो ।
फायल फोटो ।

मध्यपश्चिमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि र संस्कृतिको विकास तथा प्रवद्र्घन गर्दै तुलसीपुरमा वहुआयामिक सभा गृह निर्माण गर्ने उद्धेश्यले महोत्सवको आयोजनगर्न लागिएको सङ्घका अध्यक्ष विमल रिजालले जानकारी दिए ।

‘यो भन्दा पहिले पनि यस्ता महोत्सव हामीले सम्पन्न गरिसकेका छौं, यो पटक पनि दाङसहित मध्यपश्चिमको उद्योग, व्यापार, पर्यटनलगायतको विकास एवम प्रवद्र्धन गर्न र यहाँ वहुआयामिक सभा गृह निर्माण गर्ने उद्धेश्य र लक्ष्यका साथ महोत्सव आयोजना गर्दैछौं’, अध्यक्ष रिजालले भने ।

सङ्घका मानार्थ सदस्य एवम युवा व्यवसायी यज्ञवहादुर केसीले तुलसीपुर– ९ दोघरेमा प्रदान गरेको १ करोड मूल्य बराबरको जग्गामा वहुआयामिक सभा गृह निर्माण गरिने उनले बताए । दाङमा राष्ट्रिय स्तरका कार्यक्रमहरु गर्न ठूलो हलको अभाव खड्किएको भन्दै अध्यक्ष रिजालले प्रदेश नं.५ को राजधानी दाङ स्थापना र दवाव सृजना गर्न समेत यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रिजालको भनाइ छ ।

महोत्सव सञ्चालनका लागि सङ्घको गएको शनिवार वसेको कार्यसमितिको बैठकले अध्यक्ष विमल रिजालको संयोजकत्वमा ५०१ सदस्यीय मूलआयोजक समिति समेत गठन गरेको छ ।

महोत्सव सफल पार्न तयारीका लागि आगामी समयमा पनि विभिन्न उपसमिति गठन गर्नुका साथै विभिन्न पक्ष तथा निकायहरुसँग समन्वय छलफल कार्यलाई निरन्तरता दिने अध्यक्ष रिजालले बताए । ‘महोत्सव सफल पार्न र लक्ष्यमा पुग्न सङ्घको एक्लो प्रयासले मात्रै हुँदैन त्यसैले हामी जिल्ला तथा केन्द्र स्तरसम्म समन्वय र छलफल गर्ने छौं’, उनले भने ।

Scoure : abhiyandaink