☰ open Loading... 19 September 2024|  

कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला सुर्खेतमा हुने
  | २४ कार्तिक २०७३, बुधबार १५:१५

सुर्खेतमा अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन हुने भएको छ । यस क्षेत्रको आर्थिक उन्नतिका र थप लगानीका सम्भावना तथा अवसरहरुको पहिचान गरेर भित्राउने उदेश्यले सो मेलाको आयोजना हुन लागेको हो ।

brochure np

सुर्खेत लगानी वर्ष २०७३ अन्तर्गत आगामी मंसिर २३ देखि पुस ३ गतेसम्म वीरेन्द्रनगरमा कर्णाली एक्सपो २०७३ अन्तर्राष्टिय व्यापार मेला हुने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

विगतका महोत्सवहरु भन्दा नयाँ र पृथक हुने दावी अधिकारीको छ । उनका अनुसार यो वर्षको महोत्सवले सुर्खेत र आसपासका जिल्लाको मात्र नभई अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको प्रवद्र्धन विश्वमाझ
गर्नेछ ।

‘साविकको मध्यपश्चिम क्षेत्रको क्षेत्रीय सदरमुकाम तथा प्रस्तावित छैठौं प्रदेशको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतलाई व्यवसायिक हबका रुपमा स्थापित गर्नुका साथै कर्णालीलाई राज्यको मूल प्रणाली बनाउन अहम् भूमिका निर्वाह गर्ने महत्वपूर्ण कोशेढुंगा हुने विश्वास हामीले लिएका छौं ।’ अध्यक्ष अधिकारीले भने ।

मेलामा मध्यपश्चिमका प्रमुख पर्यटकीय गन्तब्य मुगुका रारा ताल तथा छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि सडक तथा हवाई मार्ग (हेलिकोप्टर) समेतको प्याकेज सञ्चालन गरिने सुर्खेत उद्योग बाणिज्य संघले जनाएको छ ।

साथै, स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, पहिरन र परिकार पनि महोत्सवको मुख्य आकर्षणका रुपमा राखिनेछ । महोत्सव स्थलमा विभिन्न स्थानीय तथा राष्टियस्तरका ४ सय वटा स्टलहरुका साथै अलग्गै लगानी पवेलिएनसमेत निर्माण गरिने संघले जानकारी दिएको छ । । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रका गरी करिब ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा संघको छ ।

मेलामा भारत, पाकिस्तान र बंगलादेशहरुका उत्पादनहरुको छुट्टै ३० वटा अन्तर्राष्ट्रिय स्टलहरु पनि रहेन अध्यक्ष अधिकारीले बताए ।