☰ open Loading... 28 February 2024|  

समाचार टिप्पणी : सुर्खेत काँग्रेसमा थानी र खड्काबीच नटुगिंएको द्वन्द
  | २९ कार्तिक २०७३, सोमबार ०९:०२

कुरो २०४७ साल को हो, जतिखेर देशभरका कांग्रेसको माहौल भ्लादिमिर पुटिनको रसियन कम्यूनिष्ट पार्टीको जुन अवस्था छ त्यही प्रकारले एकछत्र रुपमा कांगे्रसको पक्षमा थियो ।

केन्द्रमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, लगायतले आफुलाई प्रजातन्त्रको मसिहाको रुपमा प्रमाणित गरिरहेका थिए भने सुर्खेत जिल्ला भित्र दुर्गा केशर खनाल, डम्बर जिसी, पुर्णबहादुर खड्का, शिवराज जोशी र हृदयराम थानी लगायतको राप र ताप अन्य नेताहरु भन्दा उच्च थियो ।

khadka-vs-thani

तत्कालिन समाजले भर्खरै पंचायती व्यवस्थाको अन्त्य गरेको वामपन्थी पार्टीहरु बिच विभिन्न झुण्डहरु देखा परेको र घोर दक्षिणपन्थी र उग्रवामपन्थीहरुका बीचको बाटोबाट राष्ट्रियता प्रजातन्त्र र समाजबादको नारा समाएको नेपाली कांग्रेस भित्र आफ्नो भविष्य देख्ने हजारौँ युवकहरु कांगे्रस पार्टीमा समाहित हुन लालयित देखिन्थे ।

युवा पुस्ता कांग्रेस भनिदा गर्वको महसुस गर्दथे, ती मध्य तत्कालिन समयमा सुर्खेत कांगे्रस भित्र कालिप्रसाद शाक्य, जानकी सिंह, कमलराज रेग्मी, बलदीप कंडेल, चुडामणी थानी, शिवप्रसाद गौतम, यज्ञ गुरुङ्ग, निरक केसी, निरन्जन केसी, गोविन्द कोइराला, कृति जोशी, विष्णुबहादुर खड्का, वेदु गिरी, डण्डप्रसाद ढकाल लगायतका उर्जावान युवाहरुको ताँती थियो ।

२०४८ को आम चुनावको मिति तय भयो । त्यतिबेला अन्तरिम प्रधानमन्त्री कांगे्रस सभापति कृष्णप्रसाद भट्टराई थिए । जीवनभर संघर्ष गरेका, अविवाहित, सुपठित भट्टराई तत्कालिन कांग्रेस नेता गणेशमान सिंहको प्रधानमन्त्री पद त्यागका कारण अन्तरिम प्रधानमन्त्री बनि चर्चित नेता बनेका थिए ।

तत्कालीन समयमा गान्धीवादी किसुनजीलाई आदर्श पुरुष मान्दै राजनीति गर्ने मध्येका केन्द्र सम्म पहुँच भएका सुर्खेत जिल्लाका दुई नेता थिए, पुर्णबहादुर खड्का र अर्का नेता हृदयराम थानी । भट्टराई समूहमा पुर्ण खड्का सिनियर भएपनि चर्चित र भट्टराइका प्रिय थिए थानी ।

संगठनात्मक निर्णयहरुबाट भन्दा पनि नेताको नजिकका कारण टिकट वितरण हुने कांग्रेसमा २०४८ को आम चुनावको टिकट वितरण भयो । तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला कुशल संगठक भएका कारणले पनि टिकट बाडफाँटमा उनी हावी हुन थाले ।

२०४६ को परिवर्तन पश्चात सुर्खेतको पश्चिम क्षेत्रमा व्यापक संगठन विस्तारमा हृदयराम थानीको प्रमुख भुमिका थियो र स्वाभाविक सांसद टिकटको दावेदार पनि उनै थिए ।

भागबण्डाको राजनीतिले भने पुर्वमा भट्टराई पक्षबाट पुर्णबहादुर खड्काको नाम तय ग¥यो भने पश्चिममा कोइराला खेमाबाट शिवराज जोशीले वाजी मारे र थानी विमुख भए । त्यतिखेर थानीको पक्षमा व्यापक जनलहर भएकाले विद्रोही उम्मेद्वार बन्दा पनि जित्नसक्ने आँकलन गरिएको थियो ।

संसदिय चुनाव भयो । अनुमान गरिए बमोजिम नै दुवै स्थानमा कांग्रेसका नेताले विजय प्राप्त गरे । पश्चिमको तुलनामा पुर्व क्षेत्र कठिन भएपनि पुर्णबहादुर खड्कालाई भाग्यले साथ दियो ।

एमालेका हस्तबहादुर पुनको पक्षका मत ठुलो मात्रामा रद्द भएकाले विजयीको माला भने भर्जेनी मुखियाका छोरा पुर्णबहादुर खड्काले पहिरन सफल भए । थानीको राजनीति खास गरी विद्यार्थी समूहमा प्रभावकारी थियो ।

काठमाडौँ बसी नेपाल विद्यार्थी संघमा प्रभावकारी भूमिकामा रहेका थानी २०४९ सालको स्थानीय चुनाव तर्फ केन्द्रीत रहे । उनले जिल्ला विकास समितिको सभापति तर्फ आँखा लगाउदै त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ बाट उम्मेदावरी दिने घोषणा गरे बमोजिम टिकट लिए ।

कांगे्रसले अनुमान विपरित काली प्रसाद शाक्य र उप मेयरमा यज्ञ गूरुङ्गलाई टिकट दियो । लाटिकोइली गाविसका रैथाने शाक्यको उम्मेद्वारीबाट क्रोधित बनेका सिनियर कांग्रेसी प्रेमदेव गिरीले विद्रोह गर्दै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिए ।

कांग्रेसको सबै भन्दा कमजोर क्षेत्र भनिएको वीरेन्द्रनगर नगरपालिकाको वडा नं १ थानीको लागि जीवन मरणको सवाल थियो । ६० प्रतिशत भन्दा बढी कम्युनिष्टहरुको पकड रहेको वडामा तत्कालिन पञ्च पार्टी राप्रपाको समेत उल्लेखनिय उपस्थिती रहेकोमा तत्कालिन राप्रपाका मुख्य नेतालाई उम्मेद्वारी दिनबाट रोक्न थानी सफल भए ।

जिविस सभापति बन्ने र वडाको विकासमा पार्टी नभनि काम गर्ने बाचा गर्दै केही समूदायका अगुवाहरुलाई केही हप्ता निरन्तर सुरापान समेत गराई वडा अध्यक्षमा निर्वाचित भए ।

आफु त निर्वाचन भए तर खोर्केखोला वारी र पारीकोे राजनीति भित्र उनलाई आफ्नो पार्टीको उम्मेदवार कालिप्रसाद शाक्यलाई हराएको संगीन आरोप लाग्यो । मेयरका उमेद्वार शाक्यको पक्षमा भोट नमागेको, विद्रोही उम्मेद्वार गिरीको पक्षमा लागेको अरोपहरु लगाइयो ।

यसो हेर्दा आफ्नै वडाका प्रेमदेव गिरीलाई विद्रोही हुनबाट रोक्न नसकेको देखिएपनि त्यसभित्रको अन्र्तकथा भने बेग्लै थियो । कम्युुनिष्टहरुको पकड रहेको वडामा त्यहाँका स्थानीयहरुले पहिले नै सर्त तेस्र्याएका थिए कि पार्टी जिताउने वा आफु जित्ने ।

पार्टीको पक्षमा भोट माग्दा उनले हार्ने शत प्रतिशत निश्चित थियो भने आफ्नो पक्षमा एक मत मात्र माग्दा जितको सम्भावना थियो । उनले दोस्रो बाटो रोजे, आफुलाई मात्र मत माग्ने ।

त्यही रोजाईले उनलाई वडा नं १ को वडा अध्यक्ष पदमा निर्वाचित गरायो । फलतः कहिल्यै नटुगिंने गरि सुर्खेत काँग्रेस पार्टीै भित्र दुइ ओटा धारको जन्म भयो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा अध्यक्ष थानीको अघिल्लो मिसन थियो, जिल्ला विकास समितिको सभापति तर सभासद तथा चतुर खेलाडी पुर्णबहादुर खड्काले उनको आशामा माथि पानी खन्याई दिए ।

कम सम्भावना र खासै चर्चामा नरहेका गोविन्दबहादुर मल्ललाई जिल्ला विकास समितिको सभापतिको टिकट दिदै चिर–स्थायी रुपमा जिल्ला भित्र थानी गुट र पुर्ण गुटको जन्म गराई दिए । एउटै गुट भएपनि भट्टराई गुटबाट सिनियरको नाताले पुर्णबहादुर खड्काले अवसरहरु पाउदै गए भने थानी पछाडिदै गए ।

२०५१ को मध्यावधि चुनाव भयो । सुर्खेतलाई तीन वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । क्षेत्र नं १ का स्वाभाविक रुपमा कांग्रेस नेता पुर्णबहादुर खड्का र तीनमा शिवराज जोशीले टिकट पाए भने थपिएको क्षेत्र हृदयराम थानीका लागि निश्चित गरियोे ।

२०४९ को पुरानो घाउ पुनः बल्झियो । मेयरमा हराएको आरोप संगै टेकदत्त रेग्मीलाई हात्ती चुनाव चिन्ह प्रदान गर्दै जिल्ला भित्र थानी र पुर्ण दुई धारलाई संस्थागत गरियो । गिरिजाप्रसादका आर्शिवादमा विद्रोही बनेका भनिएपनि इत्राम स्थायी बसोबास भएका रेग्मीलाई कालिप्रसाद शाक्य लगायतका पुर्ण खड्का समर्थकहरुको ठुलो समर्थन रहेको थियो ।

संसदीय चुनावको परिणाम प्राप्त भयो । दुई क्षेत्रमा कांग्रेसले बाजी मा¥यो भने विद्रोहीका कारण क्षेत्र नं २ मा नेकपा एमालेका नेता यामलाल कंडेल विजयी भए । जसको आधार २०४९ सालमै खडा भइसकेको थियो ।

तुलनात्मक रुपमा काँग्रेसका लागि बलियो क्षेत्र भनेर मानिदै आएको निर्वाचन क्षेत्र नं. २मा थानीलाई हराउन पूर्णबहादुर खडका कम्मर कसेर लागेको आजपनि थानी पक्षका कार्यकर्ताहरुले बताउने गरेका छन् ।

केन्द्रमा दुइपटक निर्वाचित भैसकेका पूर्ण बहादुर खडकाको राज्य संयन्त्र र पार्टी भित्र अनि गुटमा समेत पूर्ण पकड भैसकेको र तत्कालिन संस्थापन कोइराला खेमाले पूर्ण खडकालाई तह लगाउन शिवराज जोशी कारक बन्न नसक्ने ठहर गर्दै आफ्नो खेमामा थानीलाई ल्याउन सुत्रहरुको प्रयोग गर्न थाल्यो ।

त्यतिखेर सम्म थानी समेत भटराई खेमाबाट आफ्नो हित नहुने ठहर गर्दै खुट्टा उचालि बसेका जानकारी पाएसँगै आफ्नो खेमामा प्रवेश गर्दा सांसदको ग्यारेण्टी गर्ने र पूर्णबहादुर खडका विरुद्व गर्ने गतिविधिमा सघाउने वचन दियो ।

अन्ततोगत्वा थानीलाई कोइराला खेमाको बलियो खम्बाको रुपमा भित्राउदै केन्द्रीय लाइन अनुसार खडकाको प्रतिस्पर्धा गर्न सबै साधन र स्रोतले सम्पन्न गराउदै लग्यो ।

क्षेत्र नं. १ लाई आधार इलाका बनाइ बसेका खडका आफ्नो निर्वाचन क्षेत्रमा विजयी त बने तर जिल्लाको पार्टी राजनीति सधैं थानीको पकडमा रह्यो । नैतिक आचरण उच्च भएका कार्यकर्ताहरुको लाइन थानीको पछाडी मजवुत दिवार झैं खडा भयो ।

कमलराज रेग्मी, देव कु. सुवेदी, टेक ब. सिंह, नारायण कोइराला जस्ता युवाहरुको साथले राष्ट्रिय राजनीतिमा चर्चित खडका पार्टी जिल्लाको राजनीतिमा भने कमजोर सावित हुदै गए ।

समय अनुसार रंग बदल्न सक्ने क्षमता भएका नेता तत्कालिन पार्टी सभापति तप्त बहादुर विष्टको साथ खडकालाई परास्त गर्ने गतिलो हतियार बन्यो । त्यहि हतियार २०७२ सालसम्म कायम रह्यो ।

हाल आएर त्यो राजनीतिक लाइन परिवर्तन भई विष्ट खडका खेमामा पुगेका छन् भने थानी सादगी नेता शिवराज जोशीलाई पछि लगाई जिल्ला राजनीति कब्जा गर्ने योजना अनुरुप अघि बढेका छन् ।

चतुर राजनीतिज्ञ खडकाको पछिल्लो लाइन भने त्यति सशक्त बन्न सकेको छैन । अल्छि बानी भएका, खासै संगठनमा ध्यान नदिने, अवसरका पछि दगुर्ने र उच्च नैतिक आचरण नभएका कार्यकर्ताहरुको नेतृत्व गर्नु खडकाको लागि कम चुनौतिपूर्ण रहेन ।

आफैँ दृष्यमा आएर थानीसँग भिडन्त गर्नु उचित नहुने र आफू सर्मथक कार्यकर्ताहरुको क्षमता थानीलाई परास्त गर्ने खालको नभएकाले आफ्नो क्षेत्र केन्द्रित हुदै खडकाको राष्ट्रिय राजनीतिमा अघि बढने निर्णयका कारण थानीका लागि सुर्खेत काँग्रेस बाँया हातको खेल बन्न थाल्यो ।

यसरी नेपाली काँग्रेस सुर्खेत दुइ ध्रुवमा विभाजित हुँदै सकेसम्म एकले अर्कोलाई हराउने तहसम्म सक्रिय हुन थाल्यो । थानीलाई जिविस सभापति हुन नदिएको, २०५१ को मध्यावधी चुनावमा टेकदत्त रेग्मीलाई विद्रोही उम्मेदवार बनाएको र त्यसपछिका हरेक चुृनावमा एमाले नेता यामलाल कंडेललाई सघाएको आरोप खडकालाई लाग्न थाल्यो भने थानीले पनि आफ्नो चल्ने ठाँउका कार्यकर्तालाई उचाली निर्वाचनमा पूर्ण खडकालाई असहयोग गरेको आरोप जोडतोडले उठन थाल्यो ।

विशेष गरि सिम्ता क्षेत्रमा काफलकोट स्थायी घर भएका टेक बहादुर सिंह मार्फत र भेरी वेल्टमा काँग्रेस कोषाध्यक्ष अनन्त पौडेल मार्फत खडका विरुद्व मतदान गरेको र गराएको संगिन आरोपहरु लगाइयो ।

नाम उल्लेख नगर्ने सर्तमा एक काँग्रेसी कार्यकर्ता भन्छन ‘थानी कुटील छन, आफ्ना सबै संयन्त्रहरु परिचालन गरि अदृश्य हिसाबले हराउन खोज्छन, तरपनि हाम्रा नेताको त्यस क्षेत्रमा राम्रो प्रभाव रहेकाले सधैं असफल हुन्छन ।’

यसैगरि थानी पक्षिय एक जिल्ला स्तरिय नेता भन्छन ‘पूर्ण जी सँधै अन्र्तघातको खेल खेल्छन, थानी हराउन उनले आफ्ना भाई भारदारहरु लगायत काली प्र. शाक्य, डण्ड ढकाल (हाल पूर्ण खेमामा प्रवेश गरेका), जानकी सिंह जस्ता नेताहरुलाई प्रयोग गर्छन ।

यसरि घात र अन्र्तघात हुदैं अघि बढेको सुर्खेत काग्रेसको राजनीतिमा एमाले भित्रको विद्रोहले केहि सहज गराइदिएको छ । २०५६ र २०७० दुइपटक चुनाव जितेका थानीले जित्नका लागि एमालेको विद्रोह कुर्नु परेको छ भने आफ्नो क्षेत्रमा मजबुत पकड बनाएका खडकालाई थानीको छिर्केले खासै असर पु¥याएको छैन ।

सधैं थानीको ठुल्दाइको भूमिकामा रहेका पूर्ण खड्का यतिखेर केन्द्रिय सदस्य र सभासद मात्र छन । पदाधिकारी चयन नभैसकेकाले दुवै नेता केन्द्रीय सदस्य मात्र रहेको र थानी भने हाल नेपाल सरकारको मन्त्री समेत भएको, जिल्ला सभापति पनि थानीकै रोबोट भएकाले आगामी दिन काँग्रेस भित्र घात र अन्र्तघातले ठुलो ठाँउ पाउने देखिन्छ ।

पदाधिकारीमा नियुक्त नहुँदा सम्म जिल्ला राजनीतिमा थानीले टिक्न नदिने हुँदा आगामी दिन खडकाका लागि त्यति सहज हुने देखिदैन । कुनै पनि जिम्मेवारीमा नहूँदा पनि खड्कालाई हायल–कायल पारेका थानीले काँग्रेसमा पद र जिम्मेवारी दुवै प्राप्त गरिसकेको अवस्थामा कस्तो गोटी चाल्ने हुन त्यो भने हेर्न बाँकी छ ।

(लेखक शर्मा सुर्खेतबाट प्रकाशीत हुने सिद्धदर्शन दैनिकका सम्पादक हुन् ।)