☰ open Loading... 26 April 2024|  

अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ
  | ३० कार्तिक २०७३, मंगलवार १५:३४

 आफ्नो घर कम्पाउण्डमा तीनवटा बाघ, एउटा दुम्सी प्रजातिको पशुः स्कङ्क, एउटा बाघजस्तै ठूलो कूगर बिरालो, एउटा फ्याउरो र थुप्रै जङगली बाँदर लुकाएर पालिरहेको भेटिएपछि एउटी अमेरिकी महिलालाई अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ गरिएको छ ।

टेक्सास राज्यको हस्टनमा एउटा घर भाडामा लिई ३४ वर्षिया महिला ट्रिसा मियर आफ्नी १४ वर्षीया छोरीसहित यी जङगली जनावरहरुसँग बस्दै आएकी थिइन् । महिनौंको खोज तलास पश्चात यिनले अबैध वन्यजन्तु लुकाएर राखेको स्थानीय प्रहरीले सुईंको पाएको थियो ।

मियरले बाघसम्म पाल्ने स्वीकृति पाए पनि अन्य वन्यजन्तु राख्ने कुनै स्वीकृति नपाएको हस्टनको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसमाथि, उनले अरु मानिसहरुलाई बदमासी गरेको पनि रेकर्ड भेटिएको छ । उनले सभान्ना जातको बिरालाको छाउरो दिन्छु भनी क्यालिफोर्नियाको एकजना मानिससँग तीनहजार अमेरिकी डलर लिएर पछि छाउरो दिइनन् ।

आफ्नो घर भाडामा लिने महिलाले अबैध वन्यजन्तु लुकाएर राखेको भन्ने कुरा प्रहरीबाट थाहा पाउनासाथ घरधनीले त्यहाँबाट निकालिदिएपछि सबै वन्यजन्तु सहित रातारात भागेर ती महिला अन्तै गइन् ।

प्रहरीले खोज तलास जारी राखेकोमा पछि उनलाई पश्चिमी अमेरिकी राज्य नेभादाको नाइ काउन्टिमा फेला पारी पक्राउ गरेको थियो ।

उनी हाल प्रहरी हिरासतमा छिन् र उनले राखेका सबै वन्यजन्तुलाई प्रहरीले जफत गरेको छ । मियरलाई वन्यजन्तु चोरी र बालबालिकालाई खतरापन्न अवस्थामा राखेको अभियोग लगाइएको छ ।