☰ open Loading... 3 May 2024|  

संविधान संशोधनबारे तीन दल सहमति नजिक
  | २ मंसिर २०७३, बिहीबार १५:१७

ktm

संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका नेताहरुले दाबी गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसदमा दर्ता गर्ने सहमति बनेको छ ।

तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेको र उहाँहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा संशोधन गर्न खोजिएका विषयहरु प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुबीच प्रदेशको सीमाङ्कन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा गम्भीर र सकारात्मक छलफल भएको नेता पुनले जानकारी दिए ।

सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएका छन् । सरकारले गएको कात्तिक महिनाभित्र संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने वचन दिएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता पुन सहभागी थिए । ( (रासस)