☰ open Loading... 2 May 2024|  

स्वास्थ्यक्षेत्रमा उत्कृष्ट दशभित्र बैतडी तेस्रोमा
  | ६ मंसिर २०७३, सोमबार १०:४३

स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र परेका छन् । स्वास्थ्य क्षेत्रका ३५ वटा सूचकमा मूल्याङ्कन टोलीले तयार पारेको ३५ वटा छुट्टाछुट्टै सूचकबाट प्राप्त अङ्कका आधारमा तथा आर्थिक वर्ष २०७२÷७३ को राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो ।

सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमको अछाम उत्कृष्ट जिल्ला बनेको छ । अछामले कार्यसम्पादन मूल्याङ्कनमा सर्वाधिक ९२ दशमलव ३७ प्रतिशत अङ्क ल्याएको छ । सुदूरपश्चिमकै बैतडी जिल्ला ९० दशमलव ४१ अङ्क ल्याई तेस्रो स्थानमा उक्लिएको हो । योभन्दा अगाडि बैतडी स्वास्थ्य सूचकाङ्कको चौथो स्थानमा रहेको थियो ।

स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेको बैतडीले यसपालि एक स्थान माथि उक्लिन सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए । उनले भने-“स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फछ्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अङ्क र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्याङ्कन गरिएको हो ।”

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिमकै बझाङ ८९.०३ प्रतिशत अङ्कसहित चौथो स्थानमा रहेको छ भने ८८.२२ प्रतिशत अङ्कसहित डोटी पाँचौँ स्थानमा परेको छ । यस्तै सुदूरपश्चिमकै विकट जिल्ला बाजुरा ८८.०० प्रतिशत अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकाङ्कमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिक रुपले विकट र अन्य सूचकाङ्क हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने मूल्याङ्कनमा सुदूरपश्चिमका पाँच वटा जिल्ला उत्कृष्ट १० जिल्लामा परेका हुन ।

कार्यसम्पादन मूल्याङ्कनका क्रममा सबैभन्दा कमजोर मनाङ जिल्ला देखिएको छ । मनाङले ५७ दशमलव ६५ प्रतिशत नम्बर ल्याएर अन्तिममा पुगेको छ ।

स्राेत स्वास्थ्य खवर