☰ open Loading... 10 October 2024|  

सीमाकंन विरुद्ध दैलखमा आन्दोलन चर्किदै, सडक अवरुद्ध
  | ७ मंसिर २०७३, मंगलवार १२:३४

स्थानीय निकायको पुनर्संचनामा दैलेखलाई ११ संख्या निर्धारण गरेपछि आन्दोलन स्थानीय नागरिकहरु आन्दोलित बनेका छन् । सीमाकंन प्रति असुन्तुष्टी जनाउँदै गौरी, मालिका, कालभैरव र गमौडी गाविसका नागरिकले मंगलबार विहानैदेखि सुर्खेत–दैलेख सडकको माथिल्लो डुङ्गेश्वर र चुप्रा सडक खण्ड अवरुद्ध पारेका छन् ।

सडक अवरुद्ध हुँदा विहानैदेखि सुर्खेतबाट दैलेख जाने सवारीहरु माथिल्लो डुङ्गेश्वर र दैलेखबाट सुर्खेततर्फ आउने सवारीहरु चुप्रामा रोकिएका छन् ।

आठ वटा स्थानीय तहमा ज्वालामालिका गाउँपालिका निर्धारण गर्न सिफारीस गरिएको गौरी, मालिका, कालभैरव र गमौडीलाई संशोधनसहित नयाँ सीमाकंनमा दुल्लु नगरपालिकामा गाभेपछि स्थानीयले विरोध जनाएका हुन् ।

dailekha

‘पहिलाको सीमाकंनमा एक गाउँपालिका बन्ने हाल आएर दुल्लुमा गाभ्नु गलत हो’ संघर्ष समितिका सदस्य,ढकेन्द्र शाहीले पश्चिमनेपालसंग भने,–‘चार गाविसलाई मिलाएर विनायक पायक पर्नेगरी केन्द्रसहित नयाँ गाउँपालिका नतोकिदासम्म आन्दोलन जारी रहनेछ ।’

११ तहमा दैलेखलाई विभाजन गरिएपछि कार्तिक २० गते नै जिविसलाई यो न्यायोचित पक्ष नभएको जनाकारी दिँदा पनि माग सुनुवाई नभएको जानकारी दिएका शाहीले थपे,–‘गाउँमा जाँदा स्थानीयले गाली गर्छन, शहरका ठालुले आफू अनुकुलता बनाएको संरचनालाई हेरफेर गर्न अनुरोध गर्दा नसुनेपछि सडक आन्दोलनमा उत्रिएका हौं ।’

मंसिर ५ गतेदेखि चार गाविसका विद्यलायहरु पूर्ण रुपमा बन्द छन भने गमौडी गाविसको कार्यालयबाहेक अन्य तीन गाविसको कार्यालयमा तालाबन्दी गरेको शाहीले जानकारी दिए ।

अवरुद्ध सडक सुचारु गर्न जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक भुवनेश्वर प्रताप शाहको कमाण्डमा प्रहरी टोली माथिल्लो डुङ्गेश्वर पुगेको छ ।

प्रहरी निरीक्षक शाहले सघर्ष समितिसंग सडक खुलाउने विषयमा वार्ता जारी रहेको जानकारी दिए । उनले मंगलबार विहानबाट सडक अवरुद्ध हुँदा सुर्खेत–दैलेख सडक खण्डमा सयबढी सवारी साधनहरु रोकिएका बताए ।

तर संघर्ष समितिले बुधबार जिल्ला विकास समितिको कार्यालय दैलेखमा तालावन्दी गर्ने र थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।