☰ open Loading... 19 April 2024|  

खानेपानी योजना अलपत्र
  | ७ मंसिर २०७३, मंगलवार १३:३०

डोटीको लानाकेदारेश्वर गाविसमा पर्ने बडिकेदारमा करिब तीनवर्ष अगाडिदेखि सुरु भएको बडिकेदार खानेपानी योजना हालसम्म अलपत्र परेको छ । गत वर्ष नै पूरा हुने खानेपानी योजना हालसम्म पनि सम्पन्न नहुँदा यस क्षेत्रका जनतामा निरासा छाएको छ ।

khanepani
फायल तस्वीर

खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत नेपाल सरकारको रातो किताबमा परेको करिब रु दुई करोडको योजनामध्ये रु १५ लाख रकम निकासा भइसक्दा समेत योजनाले पूर्णता पाउन सकेको छैन । तीनवर्ष अगाडि निकासा भएको रु पाँच लाख रकम काम नहुँदा फ्रिज गएको र त्यसपश्चात रु १५ लाख रकम निकासा भएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, राजपुरका इन्जिनियर प्रकाश रावलले बताए ।

उक्त रु १५ लाख रकममध्ये रु ४५ हजार बराबरको पाइप, जी पाइप खरिद गरिएको र रु १३ लाख ५० हजार बडिकेदार खानेपानी योजनालाई भुक्तानी दिएको इन्जिनियर रावलले जानाकारी दिए ।

समितिलाई पाइप लाइन र इन्टेक निर्माणका निम्ति उक्त रकम निकासा भएको रावलले बताए । मुहानभन्दा माथि पानी चढाउन खोज्दा एक घन्टा मात्रै पानी आएको र त्यसपश्चात ठाउँठाउँमा पाइप फुट्न गई योजना नै धरासायी बनेको रावलको भनाइ छ ।  रावलले भन्ने, “मुहानभन्दा माथि त १०० इन्चको पाइप हाल्दा समेत पानी चढ्दैन, यसमा समिति नै जिम्मेवार बन्नुपर्छ ।”

यता बडिकेदार खानेपानी समितिका अध्यक्ष खडक बोहराले आफूलाई स्टमेटको बारेमा कुनै जानकारी नरहेको बताए । साथै उहाँले छ इन्चको पाइपलाइन विस्तार गरिँदा यो समस्या निम्तेको बताए ।  आफूले पाइप लाइन ९० सेन्टिमिटरको गहिराइमा गाडेको समेत बोहराको भनाइ छ तर इन्जिनियर रावलले भने पुरा नगाडेकाले २५ देखि ५५ सेमि गहिराइको मात्रै रकम भुक्तानी भएको बताए ।

गत साल नै निर्माण सम्पन्न हुने योजना अहिलेसम्म अलपत्र किन ? भन्ने राससको प्रश्नमा बडिकेदार संरक्षण व्यवस्थापन मूल समितिका अध्यक्ष प्रेम बोगटीले यसबारेमा आफूले पटकपटक समितिलाई ताकेता गर्दा पनि आलटाल गरेको आरोप लगाए ।

जम्मा निकासा भएको रु ७० लाख रकमबाट लानाकेदारेश्वरको रन्तोला, धारी र मार्कोटमा समेत खानेपानी योजना सञ्चालन भइरहेको इन्जिनियर रावलले जानकारी दिए । हालसम्म बडिकेदार परिसरमा वर्षात्को पानी सङ्कलन गर्ने इन्टेक, धारा, चर्पी, सिद्धगुफा संरक्षण गरी रु ३४ लाख बराबरको रकम खर्च भएको इन्जिनियर रावलले जानकारी दिए । रु ३४ लाख बराबरको रकम निकासा हुँदा समेत काम भने झारो टार्ने मात्र गरिएको त्यहाँका स्थानीयको आरोप छ ।

कात्तिक २८ गते डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगर लगायतको टोलीले उक्त योजनाको अनुगमन गरेको थियो । अनुगमनपछि पत्रकारसँग कुराकानी गर्दै सांसद आलेमगरले योजनामा लापर्बाही भएको र गतसाल नै सम्पन्न हुने योजनामा अहिलेसम्म आलटाल गर्नु गैरजिम्मेवारी भएको बताए।

साथै, उनले आफ्नो पहलमा पारिएको योजना अहिलेसम्म अलपत्र पर्दा दुखी भएको बताउनुभएको छ । आगामी दिनमा चाँडै योजना सम्पन्न नगरिए दोषीलाई कानुनी कठ्घरामा उभ्याइनुपर्नेमा समेत उनले जोड दिए ।

वर्षको एकपटक लाग्ने बडिकेदार मेलामा दसौँ लाख भक्तजनले मेला अवलोकन गर्ने गरेका छन् । खानेपानीको उचित प्रबन्ध नहुुँदा धेरै भक्तजनले सास्ती खेप्ने गरेका छन् ।
-रासस