☰ open Loading... 17 May 2024|  

बैतडीमा पढाइमेला सञ्चालन
  | ७ मंसिर २०७३, मंगलवार १३:४९

शैक्षिक गुणस्तरमा अभिवृद्धि ल्याउने उद्देश्यसहित बैतडीका विभिन्न १९७ वटा विद्यालयमा पढाइमेला कार्यक्रम सञ्चालनमा ल्याइएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग, सामाजिक चेतना तथा विकास सङ्घ (साडा) बैतडीको आयोजना र जिल्ला शिक्षा कार्यालयको समन्वयमा मङ्सिर पहिलो सातादेखि सञ्चालन गरिएको पढाइ मेला जारी रहेको हो ।

पढाइ मेलामा शैक्षिक सामग्री, विद्यालयको शैक्षिक अवस्था, विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अपनाउनुपर्ने उपायलगायतका विषयमा शिक्षक, विद्यार्थी र अभिभावकसँग छलफल गर्ने गरिएको विश्व शिक्षाका कार्यक्रमका कार्यक्रम अधिकृत पदम धामीले जानकारी दिए । उनले भन्ने “मेलामा शैक्षिक सामग्रीको स्टल नै राखेर अभिभावकलाई समेत जानकारी दिने गरिएको छ ।

मेलामा राजनीतिक दलले शिक्षा क्षेत्रमा पु¥याउन सक्ने सहयोगका बारेमा समेत स्थानीयस्तरका नेतासँग छलफल हुने गरेको छ । एक विद्यालयमा एक दिनका हिसाबले पढाइ मेलाको आयोजना गरिएको र यो क्रम जारी रहेको (साडा) बैतडीका कार्यक्रम संयोजक मञ्जु भट्टले बताए ।

मङ्सिर महिनाभरि जारी रहने पढाइमेला जिल्लाका ८० वटा विद्यालयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम लागू भएका ३६ गाविसमध्ये पहिलो चरणमा मङ्सिर महिनाभरि १४ गाविसका विद्यालयमा पहिलो चरणमा पढाइ मेला सुरु गरिएको हो । पढाइ मेलाका माध्यमबाट शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्धलाई मजबुत बनाई सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्य लिइएको छ । -रासस