☰ open Loading... 15 October 2024|  

उपचार अभावले त्रिपालमै थलिए नरबहादुर
  | ९ मंसिर २०७३, बिहीबार १८:०६

कठ्याग्रीदो जाडोमा त्रिपालबाट चिच्याहट आइरहेको छ । बारम्बार उनी मेरी नी बाबा भन्दै कराइरहेछन् । उनको यो आवाजले आसपासमा बस्ने पनि ढुक्कले सुत्न पाँदैनन् ।

उनको बायाँ खुट्टा काटिएको छ । दायाँ पनि सुक्दै गएको छ । वीरेन्द्रनगर महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविरमा एक विस्थापित यस्तै कारुणिक जीवन बिताउन विवश छन् । इत्राम खोलाको बाढीले विस्थापित बनेका ५१ वर्षीय नरबहादुर रोका उपचार खर्चको अभावमा घरमै थलिएका छन् ।

बाढीपीडित नरबहादुरको परिवारसंग पैसाको नाउमा एक रुपैयाँ छैन् । वीरेन्द्रनगर ११ स्थित उनको ११ धूर जग्गा, घर ०७१ साउन २८ र २९ गते इत्राम खोलामा आएको बाढीले बगाएपछि यो परिवार विस्थापित जीवन जीउन बाध्य हुन पुग्यो ।

nara-bahadur

सरकारले बाढी विस्थापितलाई पुनःस्थापनाका लागि दिएको ५० हजार रुपैयाँ नरबहादुरले पनि पाए । त्यही पैसा उपचारमा खर्च गरे । निको भएन । सरकारले पहुँचवालालाई औषधिउपचारका लागि राज्यकोषबाट लाखौं रकम बाँडिरहेका बेला सिंहदरबार त के जिल्ला प्रशासनसम्म पुग्न नसक्ने नरबहादुर यतिबेला मृत्युको दोसाँधमा पुगेका छन् ।

पत्नी सीता र तीन छोराछोरी छन् । ‘कसरी उपचार गर्ने ? हामी गरिबका लागि कहाँ छ र सरकार ? सीताले प्रश्न गरिन्, यिनलाई यही अवस्थामा निको पार्न सकेको भएपनि पुग्थ्यो ।’

६ वर्ष अघि भारतको मुम्बईमा गेट ढलेर बायाँ खुट्टाको बुढी औंला थिचिएको थियो । पोहारसाल त्यही ठाउँमा घाउ एक्कासी बल्झियो । मुम्बईमा खुटा काटे । त्यहा काम गर्ने नेपालीहरुको सहयोगमा उनको उपचार भएको थियो । प्यारालाइसिस भयो । ४५ दिन कोहलपुरमा उपचार गराए ।

प्यारालाइसिस पनि निको भयो । बैशाखबाट झन् अर्को विपत्ति आयो । अर्को भाग नचल्ने भो । नरबहादुरको शरीरको दायाँ भाग चल्दैन ।

सीतालाई थलिएका पतिको हेरचाहदेखि तीन छोराछोरीको पालनपोषण गर्नुपर्ने बाध्यता छ । समयमै उपचार गर्न सकेको भए बैशाखीको सहारामा नरबहादुरले उठबस गर्न सक्ने परिवारको आस छ ।