☰ open Loading... 28 February 2024|  

सुर्खेतमा बढ्याे मासुकाे मुल्य
  | १२ मंसिर २०७३, आईतवार १८:१८

सुर्खेतमा खसीको मासुको मूल्य बढेर ६ सय रुपैया पुगेको सुर्खेत मासु ब्यवसाय संघले जनाएको छ । यस अघि पाँच सय ५० रुपैया प्रति किलो पर्ने खसीबोकाको मासु अब बढेर ६ सय रुपैयाँ पुगेको संघले जनाएको हाे ।

सुर्खेतबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरीन थालेपछि मासुको मूल्य बढेको हो । सिधै किसानबाट बढीमूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य बढाउनु परेको संघका अध्यक्ष जनक थापाले जानकारी दिए ।

तीन महिना अघि प्रतिकिलो तीन सय ३० रुपैयाँमा खरिदविक्री भएको जिउँदो खसी अहिले बढेर तीन सय ६० प्रतिकिलो खरिद गर्नु पर्दा मूल्य बढाउन बाध्य हुनु परेको उनले बताए ।

मासु व्यवसायीले आफूखुसी मूल्य बृद्धि गरी मंसिर ७ गते देखि प्रतिकिलो ६ सय रुपैयाँमा विक्री वितरण गरिरहेका छन् । व्यवसायीले कसैको वास्तै नगरी मासुको मूल्य एक्कासि बढाएको मूल्य बृद्धि प्रति नियामक निकाय तथा सरकारले मासुको अव्यवस्थित कारोबारलाई रोक्न कुनै चासो नदिएको उपभोक्ताको गुनासो गरेका छन ।

खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि व्यहोरिरहेका उपभोक्तालाई पछिल्लो समयमा देखिएको मासुको मूल्य बृद्धिले थप मर्कामा पारेको छ ।